
अदालतका खरिदार आफ्नै कोठामा मृत फेला

जिल्ला अदालतमा कार्यरत खरिदार कमलदीप ढकाल आफ्नै कोठामा मृत फेला परेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ घर भई हाल जिल्ला अदालतमा कार्यरत खरिदार ३६ वर्षीय ढकाल आज बिहान दिक्तेल बजारस्थित आफ्नै कोठामा मृत फेला परेका हुन् ।
मृतक ढकाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित मोहन दुलालको घरमा दुई वर्षदेखि कोठा भाडामा लिएर बस्दै आएका थिए । बेलुकी खाना खाएर सञ्चै सुतेका ढकाल बिहान मृत भेटिएको घरबेटी दुलालले बताए ।
“मृतक ढकालको मुखबाट हल्का रगत बगेको देखिएको छ”, दुलालले भने, “आफ्नै कोठामा सुतेका मृतक ढकालको शव परीक्षण गर्नका लागि जिल्ला अस्पताल लगिएको छ ।”
आफ्नै कोठामा मृत भेटिएका ढकालको अवस्था हेर्दा सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले जानकारी दिए । “घटनाको अवस्था हेर्दा कुनै शङ्कास्पद अवस्था छैन”, उनले भने, “मृतकको शव परीक्षणमा लगिएकाले अरु मेडिकल रिपोर्ट आएपछि भन्न सकिन्छ ।”

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ