शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौँ लगायत देशभर मनाइयो माघी पर्व

बिहीबार, ०१ माघ २०७७, १६ : ४९
बिहीबार, ०१ माघ २०७७

काठमाडौं । बिहिबार थारु जातिको मुख्य पर्व माघी काठमाडौँ लगायत देशभर मनाइएको छ । हरेक वर्ष माघको पहिलो दिन थारु जातीले माघी पर्व मनाउने गर्दछन् । यस वर्ष पनि काठमाडौँ लगायत थारुहरुको बहुल्यता भएको विभिन्न ठाउँमा माघी पर्व मनाइएको छ ।

अघिल्ला वर्षहरुमा काठमाडौँ लगायत विभिन्न ठाउँमा औपचारिक कार्यक्रम गरी धुमधाम र हर्षोल्लासका साथ माघी मनाइने गरिएको थियो । यसपाली भने कोभिड १९ संक्रमणका कारण देशभर सानो समूहमा अथवा परिवारभित्र मात्रै माघी पर्व मनाइएको छ ।

माघीमा मिठो मिठो परिकारहरु बनाएर खाने प्रचलन छ । यस पर्वमा मौलिक परिकारहरु चिचर (भत्कुन), सितुवा, घुगी, हाँसको मासु लगायतका परिकारहरु बनाएर खाने गरिन्छ भने आफ्नो कला, संस्कृति झल्किने पोसाक लगाएर धुमधामसँग माघी मनाइने गरिन्छ । माघीको दिन नुहाएर तिलको आगो ताप्नाले वर्ष भरिको पाप पखालिन्छ भन्ने मान्यता थारू समुदायमा रहेको छ ।

यस दिनमा नुहाएर दाल, चामल छोएर मान्यजनसँग आशिर्वाद लिने गरिन्छ । माघीलाई एक आपसमा सम्बन्ध प्रगाढ बनाउने पर्वको रुपमा पनि लिने गरिन्छ । यस दिनमा आफ्ना चेलिबेटीहरुलाई उपचार दिने र चेलिबेटीसँगको सम्बन्धलाई सुदृढ बनाउने गरिन्छ । थारु जातिले माघी पर्वलाई नयाँ वर्षको दिनको रुपमा लिने गर्दछन् भने यस दिनदेखि नयाँ कामको शुरुवात गर्ने प्रचलन पनि रहेको छ । माघीको दिनमा गाउँ समाजको नयाँ अगुवा चुन्ने तथा घरसल्लाह गर्ने काम पनि गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप