ad
केन्द्रीय संस्करण

राष्ट्रिय योग दिवस र सूर्यनमस्कार आसन

person explore access_timeमाघ १, २०७७ chat_bubble_outline0

सदाझैँ यस वर्ष पनि नेपालमा यही माघ १ गते “गरौँ योग डटेर : कोभिड जान्छ हटेर” भन्ने नाराका साथ छैठौँ राष्ट्रिय योग दिवस मनाइँदै छ । नेपालमा मनाइने राष्ट्रिय योग दिवस हाल आएर एउटा पर्वको रूपमा स्थापित भएको छ । नेपालमा यस वर्ष कोभिड–१९ महामारीका कारण विभिन्न योग केन्द्रहरुमा योग अभ्याससमेत हुन सकेन । प्रत्यक्ष उपस्थितिको सट्टा जुम तथा अन्य अनलाइनमार्फत योग अभ्यास र प्रशिक्षणहरु भने भइरहेका छन् । योग अभ्यास नै कोभिड–१९ जस्तो रोग परास्त गर्न अचुक औषधि भएको सन्दर्भमा यस वर्ष राष्ट्रिय योग दिवससमेत योग गरेर कोभिड हटाऔँ भन्ने सन्देशका साथ मनाइने कार्यक्रम रहेको छ । यस वर्ष योग दिवसमा सूर्यनमस्कार आसनलाई असाध्यै महत्त्व दिई सूर्यनमस्कारसम्बन्धी प्रतियोगिता पनि सञ्चालन हुने भएकाले योग दिवसको सन्दर्भ र सूर्यनमस्कार आसनसम्बन्धी विषयवस्तुलाई मुख्य प्राथमिकता दिई यस आलेखमा चर्चा गरिनेछ ।

योग र योगदर्शन
योगको अर्थ जोड्नु भन्ने लाग्छ । वास्तवमा अनात्मबाट आत्मालाई छुट्याएर परमात्मासँग जोड्नु नै योग हो भनिन्छ । पतञ्जलीको योग दर्शनमा भएअनुसार योग त्यो प्रयत्न, त्यो साधना वा अभ्यास हो, जसको माध्यमले चित्त र इन्द्रियलाई वशमा गरिन्छ । यसरी चित्तमा आउने विकार रोक्नु नै योग हो भनिन्छ । शरीर, इन्द्रिय, मन, बुद्धि र अहङ्कार माथि विजय प्राप्त गरेपछि आत्माको शुद्ध स्वरूप पाउन सकिन्छ र त्यही शुद्ध स्वरूप प्राप्त गर्ने माध्यम नै योग हो । 

योगदर्शनका प्रतिपादक ऋषि पतञ्जली हुन् । योगदर्शन भारतीय दर्शनशास्त्रको एउटा अत्यन्त पुरानो शाखा हो, जसलाई व्यवस्थित रूप दिने काम ऋषि पतञ्जलीले गरेका हुन् । हाल विश्वमा जस्तै नेपालमा पनि विभिन्न योगसम्बन्धी सङ्घ संस्थामार्फत योग कक्षा सञ्चालन भइरहेका छन् । जति जति समाजको विकासको गति बढ्दै गइरहेको छ, त्यति त्यति नै योगको आवश्यकता पनि महसुस् हुँदै गइरहेको पाइन्छ । योग दर्शनमा धर्म कर्मका लागि यज्ञ, यज्ञादि र पूजापाठको कुनै गुञ्जायस छैन । केवल यस दर्शनमा शारीरिक तथा मानसिक शक्तिको उचित प्रयोग गर्ने प्रेरणा पाइन्छ । लगभग सबै खालका धर्म तथा दर्शनहरूमा योगाभ्यासको महत्त्व दिइएको हुनाले योगदर्शनको महत्त्व बढी छ । यस दर्शनमा आसन, यौगिक क्रिया, प्राणायाम तथा अन्य व्यायामहरूको माध्यमबाट आध्यात्मिक, मानसिक, संवेगात्मक तथा शारीरिक उपलब्धि पाउन सकिन्छ भन्ने कुराहरू दर्शाइएको छ ।

मानसाग्नि हरि र राष्ट्रिय योग दिवस 

नेपालमा योगको चर्चा गर्दा मानसाग्निको मुख्य चर्चा हुने गर्दछ । शैव दार्शनिक विचार र साधनाबाट योगले विज्ञानको रूप लिएको र यस्तो दर्शनका प्रतिपादक महादेव अर्थात् शिवलाई मानिन्छ । नेपालमा मुख्य शिव सभ्यता, बुद्ध सभ्यता र जनक सभ्यताबाट विभिन्न दर्शनहरू आएका हुन् । यिनै दर्शनमा टेकेर आफूलाई साधक बनाई निरन्तर रूपमा यसै क्षेत्रमा लागि नेपालमा प्राकृतिक चिकित्सासँग जोडेर अघि बढाउने योग, आयुर्वेद र प्राकृतिक चिकित्साका विशेषज्ञ व्यक्तित्व मानसाग्नि हुनुहुन्छ । साधनाको नामबाट मानसाग्नि नामकरण गर्नुभएका नेपालका प्राकृतिक चिकित्साका जनक तथा योग र आयुर्वेदका प्रणेता डा. हरिप्रसाद पोखरेल र राष्ट्रिय योग दिवसको सम्बन्ध रहेको छ । 

आबाल ब्रह्माचारीका रूपमा रहनुभएका मानसाग्निले नै वि.सं. २०३६ साल माघ १ गते अर्थात् मकर सङ्क्रान्तिका दिन नेपालमा योग संवत् घोषणा गरी विश्व योग दिवस मनाउनुपर्छ भनी उद्घोष गर्दै नेपालमा योगका क्षेत्रमा पुनर्जागरण प्रारम्भ गर्नुभएको हो । वास्तवमा मानसाग्निले अझै पनि योगको सुरुवात नेपालबाटै भएको हो, अनुसन्धान गरे हुन्छ भनेर दाबीसमेत गर्दै आइरहनुभएको छ । योगमा शारीरिक शुद्धताभन्दा मानसिक शुद्धता धेरै गुणा उत्तम मानिने हुँदा यस्तो बहुउपयोगितापूर्ण योगलाई प्राकृतिक चिकित्सा र आयुर्वेदसँग जोडेर अतुलनिय योगदान दिइरहनुभएको छ । २०३६ सालदेखि हालसम्मको निरन्तर उहाँको प्रयास, अथक परिश्रम र अविरल यात्राले चार दशक पूरा गर्न लाग्दा नेपालले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालेको छ । अझ मानसाग्निको ‘स्वधर्म’ लगायतका दार्शनिक विचारको प्रचार प्रसारमा जुट्नसके आम नेपाली मात्र होइन विश्वभरका मानव समुदायलाई प्रेरणा मिल्न जाने देखिन्छ । यसरी नेपालमा राष्ट्रिय योग दिवस र मानसाग्नि हरि एकअर्काका परिपूरक हुन् भन्नेकुराको पुष्टि गर्न सकिन्छ ।

पूर्ण योग र व्यायामको एउटै अभ्यास सूर्यनमस्कार आसन 
 संस्कृत भाषाको सूर्य नमस्कार अथवा सूर्यलाई गरिने अभिवादन वा स्यालुट ९क्गल कबगितबतष्यल० निकै महत्त्वपूर्ण र पूर्ण व्यायामको योगाभ्यास हो । धार्मिक मान्यताअनुसार सूर्यलाई देवताको रूपमा मानिने र हिन्दू धर्ममा त सूर्यलाई जीवनकै एक आत्माका रूपमा समेत मानिने हुँदा सूर्य निकै पूजनीय हुन्छन् । हठयोगअन्तर्गत पर्ने यस अभ्यासमा विभिन्न खालका १२ वटा आसनमार्फत सूर्यलाई प्रणाम गर्ने र शारीरिक लाभ प्राप्त गर्ने गरिन्छ । यसलाई दु्रत गतिमा गर्दा मुटु र रक्तसञ्चार प्रणालीमा निकै राम्रो प्रभाव पर्दछ भने मन्द गतिमा गर्दा आराम र विभिन्न प्रभावहरु शरीरमा परेको अनुभूति हुन्छ । त्यस्तै यसबाट सूर्यलाई सम्झिएर विभिन्न मन्त्रहरुका साथ विभिन्न आसनमा बस्दा आनन्दको अनुभव पनि हुन्छ । नियमित रूपमा यस्तो अभ्यास गर्नाले मांसपेसीमा लचकता आउने र निष्क्रिय भएर बसेका भागहरुमा सक्रियता आउँछ । प्राचीनकालमा सुरुवात भएको यो आसन विभिन्न आधार र अनुसन्धानबाट वैज्ञानिक भएको पुष्टि भएको छ । नियमित रूपमा सूर्य नमस्कारका आसन गर्नाले सिर्जनशीलता बढ्ने, कार्यक्षमता बढ्ने, निर्णय गर्ने शक्ति आर्जन हुने, आत्मविश्वास हुने र नेतृत्वका सीप विकसित हुने जस्ता लाभ प्राप्त हुने भएकाले अहिलेको समयमा समेत यो अभ्यास निकै उच्च स्तरको भएकाले जोकोहीले यो आसन गर्न सकिने सिफारिस गरिएको छ ।

सूर्य नमस्कार दिनमा जुनसुकै समयमा गर्न सकिन्छ तापनि यसका लागि उपयुक्त समय भनेको सूर्योदयको समय हो । यस्तो बेला सूर्य नमस्कारको अभ्यास गर्नाले शारीरिक तन्दुरुस्ती र मानसिक ताजापन प्राप्त हुन्छ तर यस्ता फाइदा दिनभरमा जुनसुकै समयमा गर्दा पनि धेरथोर प्राप्त हुन्छन् । सूर्य नमस्कार एउटा त्यस्तो अभ्यास हो, जुन स्वास्थ्यमा सरोकार राख्ने सबैका लागि वरदान नै हो । यसले शरीरमा जम्मा भएर बसेको अतिरिक्त बोसो कम गर्ने, पेट घटाउने र प्राकृतिक शरीरको आकारमा लैजाने गर्छ । यसले शरीरका आन्तरिक ग्रन्थीहरु समेत सक्रिय बनाई शरीरको कार्यसम्पादन प्रभावकारी बनाउँछ ।
    सूर्य नमस्कार गर्दा ३ किसिमको गतिमा गर्न सकिन्छ । मन्द गतिमा गर्दा शरीरलाई लचिलो बनाउन सहयोग मिल्छ, मध्यम गतिमा गर्दा मांसपेशीमा स्फूर्ति आउँछ भने तीव्र गतिमा गर्दा तौल घट्ने र मुटु तथा रक्तसञ्चार प्रणाली

मजबुत हुने अवसर मिल्छ ।
    सूर्य नमस्कारका विभिन्न १२ वटा आसनहरु हुन्छन् । जुन आसनहरुले शरीरका सबै अङ्ग, प्रत्यङ्ग र कोषहरुसम्म प्रभाव पार्ने भएकाले सूर्य नमस्कारलाई पूर्ण व्यायामको आसन पनि भनिन्छ । ती आसन प्रणमासन, हस्तउत्थनासन, हस्तपादासन, अश्व सञ्चालनासन, अधोमुखासन÷ पर्वतासन, अष्टाङ्ग नमनासन, भुजङ्गासन, पुनः पर्वतासन, वाम अश्व सञ्चालनासन, पुनः हस्तपादासन, पुनः हस्तउत्थनासन र ताडासन वा पुनः प्रणमासन हुन् ।

सूर्य नमस्कारको नियमित अभ्यासबाट हुने अधिकांश फाइदामध्ये मुख्य फाइदाहरु यसप्रकार छन्–
-    यस आसनमा हुने विभिन्न आसन निकै समुचित तरिकाले शरीर तताउने क्रियाकलापका लागि मिश्रित ढङ्गले बनाइएका हुनाले शरीरमा बढी प्रभाव पर्छ ।
-    यस किसिमको आसन नियमित गरेमा रोगमुक्त र स्वस्थ भई बाँच्न सकिन्छ र शरीरको सन्तुलनमा वृद्धि हुन्छ ।
-    मुटुको शक्ति वा क्षमता बढ्छ वा रक्तसञ्चार प्रक्रियामा सुधार हुन्छ ।
-    पाचन प्रणालीको कार्यक्षमता र दक्षता बढ्छ । यस अभ्यासले कब्जियत जस्ता समस्या पूरै समाधान हुन्छन् । 
-    पेटका मांसपेशी, श्वास प्रश्वास प्रणाली, लसिका प्रणाली, मेरुदण्डका स्नायुहरु र अन्य आन्तरिक अङ्गहरुमा सक्रियता ल्याउँछ ।
-    ढाड, घाँटी, काँध, हात, नाडी, पछाडिको भाग, तिघ्राका मांसपेशी लगायत सबै शरीरमा लचकता र दक्षताको विकास हुन्छ ।
-    नियमित अभ्यासले निःशुल्क रूपमा तौल घटाउन मद्दत पु¥याउँछ । साथै थाइराइड ग्रन्थीको नियमित कार्य सम्पादनका कारणसमेत तौल घट्ने गर्दछ ।
-    टाउकोमा हुने रक्तसञ्चारको प्रभावले कपाल झर्नबाट रोकिन्छ भने कपाल फुल्ने क्रम घट्ने र स्वस्थ रौँको विकास हुन्छ ।
-    शरीरभर हुने प्रभावकारी रक्तसञ्चारका कारण शरीर तथा अनुहारको छाला स्वस्थ, चमक, मुलायम र चिल्लो हुन्छ । साथै चाउरी पर्ने वा छिटो बुढ्यौली हुने क्रमसमेत रोकिन्छ ।
-    शरीरका सबै दोषहरु हटेर जाने, सबै खालका मौसममा सामञ्जस्य हुन मद्दत पुग्ने र शरीर पूर्णरूपले सन्तुलित रहन्छ ।
-    ग्रन्थी प्रणालीमा पर्ने सकारात्मक प्रभावका कारण महिलाको महिनावारी चक्र समेत राम्रो र नियमित हुन्छ । यसबाट स्वस्थ बच्चा जन्माउनसमेत सहयोग मिल्छ भने सुत्केरी अवस्थामा दूधको राम्रो उत्पादन हुन्छ । महिलाको हिप, तिघ्रा, पेट, चिउँडो र घाँटीसमेत सुन्दर हुन मद्दत पुग्छ ।
-    मानसिक रूपमा फाइदा हेर्ने हो भने यस अभ्यासले शरीर र मनलाई जोड्ने कामसमेत गर्दछ । यस अभ्याससँगै तनाव हट्ने र यसमा मिलाइने श्वास प्रश्वासको नियमले मस्तिष्कमा आनन्द र शान्तिको अनुभूति दिलाउँछ भने सचेतनाको क्षमता अभिवृद्धि हुन्छ ।
-    मानिसको अन्तज्र्ञान बढाउने, एकाग्रता बढाउने, डिप्रेसन र मानसिक नकारात्मक कुण्ठाहरु हटाउने काम गर्छ ।
-    बच्चामा हुने तनाव हट्नुका साथै मस्तिष्कमा शान्तपनको विकास हुने, एकाग्रताको विकास हुने, कार्यक्षमताको विकास हुने, शारीरिक तन्दुरुस्ती गराउने, मांसपेशीमा लचकताको विकास हुने र मनमा आउने चिन्ता, डर, त्रास, नकारात्मक सोच आदि हटेर जान्छन् । नियमित रूपमा बालबालिकाले यो अभ्यास गरेमा विभिन्न प्रतिस्पर्धामा अब्बल सावित हुने र युवा अवस्थामा पनि पाँच वर्ष कम उमेरको देखिने जस्तो अद्भूत फाइदा समेत पाउन सकिन्छ ।

यसरी प्राचीन कालमा ऋषिमुनिहरुले विकसित गरेका यस्ता अभ्यासहरुका कारण उनीहरु जीवनभर निरोगी रही दीर्घायुसमेत पाएको कुरा सुन्न पाइन्छ । आधुनिक समयमा पनि अस्तव्यस्त जीवनशैलीका कारण मानिसमा आएका विभिन्न शारीरिक तथा मानसिक समस्या र शारीरिक श्रम घट्दै जाने तर ऐस आराम बढ्दै जाने भएपछि देखापर्ने अनेक समस्या समाधानका उपाय भनेकै दैनिक योग अभ्यास गर्नु हो । फुर्सत नहुनेहरु वा अल्छी लागेर केही गर्न नसक्नेहरुका लागि समेत सूर्य नमस्कार एउटा पूर्ण व्यायामको भरपर्दो अभ्यास हुनसक्छ ।

सूर्य नमस्कार मात्र एउटा त्यस्तो योग अभ्यास हो जसले व्यक्तिलाई शारीरिक तन्दुरुस्ती प्रदान गर्ने, मानसिक सन्तुष्टि प्रदान गर्ने र आध्यात्मिक दृष्टिकोणले पनि जोड्ने भएकाले यसलाई पूर्ण योगको चमत्कारिक विधि पनि भन्न सकिन्छ । दिनहुँ कम्तीमा पनि १२ पटकभन्दा बढी यो अभ्यास गर्न सकियो भने पनि स्वस्थता प्राप्त गर्न सकिनेमा कुनै शङ्का छैन । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.