बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाका कारण एकैदिनमा १५६४ को मृत्यु

बुधबार, २९ पुस २०७७, २३ : ११
बुधबार, २९ पुस २०७७

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या अहिलेसम्मकै नयाँ  रेकर्ड कायम भएको छ ।  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा थप एक हजार ५६४ जनाको मृत्यु भएको छ ।

एकैदिनमा यतिका धेरै मृत्यु भएको बेलायतमा कोरोना महामारी भएयताकै सबैभन्दा बढी हो । यसअघि गत शुक्रबार एक हजार ३२५ जनाको मृत्यु भएको भएको थियो  । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सनाख्या ८४ हजार ७६७ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ४७ हजार ५२५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमित हुनेको संख्या ३२ लाख एघार हजार ५७६ पुगेको छ । बेलायतमा कोरोना संक्रमण दर अत्यधिक रुपमा बढेपछि फाइजर र अक्सफोर्डको खोपलाई तीव्रता दिइएको छ । बुधबारसम्ममा ३० लाख ६७ हजार ५४१ जनालाई खोप वितरण गरिसकिएको स्वास्थ्य विभागले जनाएको छ ।

जसमध्ये २६ लाख ३९ हजार ३०९ जनाले पहिलो डोज लगाएका छन् भने चार लाख २८ हजार २३२ ले दोस्रो तथा अन्तिम डोज लिएका छन् । अस्पताल भर्ना हुने  कोरोना संक्रमितको संख्या बढेपछि हाल उपचारार्थ अस्पतालमा रहेका बिरामीलाई निर्धारित समय अगाडि नै होटल तथा घर पठाउन शुरु गरिएको छ ।

कोरोना संक्रमणका कारण ‘क्रिटिकल’ अवस्थामा रहेका बिरामीको लागि आवश्यक बेड खाली गराउन अन्य बिरामी होटेल सार्ने वा चाँडै घर पठाउने गरिएको हो । बेलायतमा महामारीको पहिलो लहर चलेको समयको तुलनामा हाल  दुई गुणाभन्दा बढी कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् भने यो संख्या दैनिक रुपमा तीव्र दरमा बढ्दै गइरहेको छ ।

हाल बेलायतका अस्पतालमा ३६ हजार भन्दा बढीको उपचार भइरहेको छ । हाल बेलायतमा बढेको कोरोना संक्रमणका कारण बेलायतवासी  नेपालीहरु पनि प्रभावित बन्दै आएका छन् । विगत केहि दिनयता कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या पनि  बढ्न थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप