शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पविरुद्धको महाभियोगमाथि तल्लो सदनमा बहस जारी

बुधबार, २९ पुस २०७७, २२ : ०९
बुधबार, २९ पुस २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोगबारे तल्लो सदनमा बहस सुरु भएको छ । गत साता आफ्नो समर्थकहरुलाई संसद् भवनमा हुलदंगा गर्न उक्साएको भन्दै ट्रम्पविरुद्ध सांसद्हरुले महाभियोग प्रस्ताव अघि बढाएका हुन् । उक्त घटनामा ५ जनाको मृत्यु भएको थियो । 

छलफलमा बोल्दै डेमोक्रेटिक पार्टीकी क्यालिफोर्नियाकी सांसद् जुडी चुले संसद् भवनमा आक्रमण गर्ने ट्रम्प समर्थकहरुलाई आतंककारी भनिन् । उनीहरुलाई डोनाल्ड ट्रम्पले उग्र बनाएको उनको आरोप छ । ‘हामीमाथि आतंककारीहरुले हमला गरेका थिए । तर, यसपटक आतंककारीहरुलाई यहाँ अमेरिकामै अतिवादी बनाइयो । उनीहरुलाई राष्ट्रपतिले उग्र बनाए, उनले नियोजित रुपमै समर्थकहरुसामु निर्वाचन चोरी भएको भन्दै झुठ बोले र उनीहरुलाई कतिबेला डिसी आउने समेत भने । कहाँ प्रदर्शन गर्ने र कोप्रति आफ्नो आक्रोश जताउने पनि भने,’ चुले भनिन् । 

अमेरिकामा एकै कार्यकालमा दुुईपटक महाभियोग प्रस्ताव सामना गर्ने ट्रम्प पहिलो राष्ट्रपति हुन् । यसअघि गत वर्ष तल्लो सदनबाट (हाउस) महाभियोग प्रस्ताव पारित भएको थियो । तर, ट्रम्पलाई पदबाट हटाउनका लागि आवश्यक दुुई–तिहाई मत माथिल्लो सदनमा (सिनेट) जुुट्न नसक्दा उनी पदमा कायम रहन सफल भए । 

तल्लो सदनमा डेमोक्रेटिक पार्टीको बहुमत भएकाले यसपटक पनि महाभियोग प्रस्ताव पारित हुने अपेक्षा गरिएको छ । यद्यपी, प्रस्ताव पारित भएपनि ट्रम्पलाई पदबाट हटाउन सिनेटमा दुुई–तिहाई अर्थात् कम्तिमा ६७ जना सांसद् उनको विपक्षमा हुनुपर्छ ।

ट्रम्पले व्हाइट हाउस छाड्न केवल ७ दिन बाँकी छ । अर्को साता (२० जनवरी) मा ट्रम्पको कार्यकाल पूरा हुनेछ र नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले पदको सपथ लिनेछन् ।  

स्रोत : सीएनएन 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप