बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नबिल बैंकको ३६औं वार्षिक साधारण सभाद्वारा ३५.२६% लाभांश दिने प्रस्ताव पारित, वाणिज्य बैंकहरुमै सबैभन्दा उच्च

बुधबार, २९ पुस २०७७, १८ : ११
बुधबार, २९ पुस २०७७

काठमाडौं । नबिल बैंकको ३६औं वार्षिक साधारण सभाले ३५.२६% लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

साधारण सभाले बैंकको संचालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार साधारण सभामा पेश गरेअनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ३५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

नबिल बैंक आ.व. २०७६/७७ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु. ३ अर्ब ४६ करोड हासिल गर्न बैंक सफल भएको छ । बैंकले जेथामा प्रतिफल १३.६१ प्रतिशत र प्रति सेयर आम्दानी रु. ३६.१६ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रु. २ खर्ब ३७ अर्ब पुर्याएको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयरपश्चात बैंकको सेयर पुँजी यस बर्ष रु. १३ अर्ब ४८ करोड नाघेको छ ।

सभामा बोल्दै अध्यक्ष पौड्यालले नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्याउन सफल भएको बताए । उनले भने, ‘हामी ठूलो बैंकसँगै राम्रो र विश्वसनीय बैंक कायम रहिरहने लक्ष्यमा छौं । बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेको छ । बैंकले स्थापनाकालदेखि हालसम्म रू.२१ अर्ब भन्दा बढी रकम त देशको राजश्वमा योगदान गरिसकेको छ ।’

अध्यक्ष पौड्यालले वास्तविक अर्थतन्त्रलाई सहयोग पुर्याई समग्र अर्थतन्त्रको सुखद भविष्यको लागि हाम्रा प्रयासहरुलाई अझ बलीयो बनाउँदै लैजाने प्रतिवद्धता समेत व्यक्त गरे । 

साधारण सभाबाट सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्दै अनन्त पौड्याल तथा प्रविन टिवडेवाला निर्विरोध निर्वाचित भएका छन् । 

नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरुमार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरु सँगसँगै अघि बढ्ने विश्वास राखेको बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप