बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मकवानपुरमा निर्वाचन तयारीः मतदानस्थल र  केन्द्र पुनरावलोकन गरिँदै

बुधबार, २९ पुस २०७७, १६ : ५६
बुधबार, २९ पुस २०७७

–सुरेश झा/पुरुषोत्तम सुवेदी 

मकवानपुर । जिल्ला निर्वाचन कार्यालय मकवानपुरले आसन्न निर्वाचनलाई लक्षित गरी जिल्लामा आवश्यक काम अघि बढाएको  छ । कार्यालयले मतदानस्थल र केन्द्रको पुनरवलोकन तथा प्रत्येक स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने  कामको तयारी थालेको जनाएको छ । अघिल्लो निर्वाचनमा तय गरिएका मतदानस्थल र  केन्द्रको पछिल्लो अवस्था साथै आवश्यक स्थानमा पुनरालोकनका लागि काम अघि बढाइएको जिल्ला मतदानस्थल पुनरावलोकन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार अघिल्लो निर्वाचनको अवस्था हेर्दा मकवानपुरमा एउटा मतदानस्थलमा बढीमा आठ हजार २०० सम्म मतदाता सङ्ख्या रहेको थियो । यद्यपि अहिलेको समय सन्दर्भमा मतदातालाई पर्ने पायक स्थानमा व्यवस्थापन गर्ने गरी मतदानस्थल र केन्द्रकोे व्यवस्थापन गरिने योजना रहेको प्रजिअ  रिजालले भने ।

यसैगरी जिल्लाको सबै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने कार्यका लागि काम अघि बढाएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ  । सोअनुसार आगामी माघ १५ गतेदेखि सबै स्थानीय तहमा १०÷१० सहायक नाम दर्ता अधिकारी खटाइने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा गरेपछि त्यस विषयमा जिल्ला निर्वाचन कार्यालय मकवानपुर आफ्नो तयारी शुरु गरेको जनाएको हो । आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तय भएसँगै मकवानपुरमा निर्वाचनका निमित्त आवश्यक अन्य तयारी तथा प्रक्रिया अघि बढाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मकवानपुरका प्रजिअ गोविन्दप्रसाद रिजालको संयोजकत्वमा रहने जिल्ला मतदानस्थल पुनरावलोकन समितिको बैठकसमेत सम्पन्न भएको बताइएको छ  ।  सो बैठकमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुरस्थित स्थानीय तहका प्रमुख, जिल्ला सुरक्षाप्रमुख तथा निर्वाचन कार्यालयका कर्मचारीको बैठकमा सहभागिता रहेको थियो । 

विसं २०७४ मा सम्पन्न निर्वाचनमा मकवानपुरमा १६४ मतदानस्थलमा ३२४ मतदान केन्द्र निर्धारण गरिएको थियो । जिल्ला निर्वाचन कार्यालय मकवानपुरका अनुसार आसन्न निर्वाचनमा मकवानपुर जिल्लामा करीब दुई लाख ७२ हजार ४७८ जना मतदाता हुने प्रारम्भिक अनुमान छ । मतदाता सङ्ख्या तथा दूरीको हिसाबले मतदान केन्द्र तोकिएको थियो ।

यसअघि निर्वाचन आयोगले मतदान केन्द्रको मापदण्ड निर्वाचन कार्यालयमा पठाइसकेको जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख पौडेलले भने । उनले मतदान केन्द्र मापदण्डअनुसार मतदानस्थल परिवर्तन हुन सक्ने भए अर्को बैठकमा पेश गर्ने बसेको समितिको बैठकले निर्णय गरेको जानकारी दिए । माघ १० गतेसम्म स्थानीय तहका राजनीतिक दलका व्यक्ति स्थानीयवासीसँग छलफल गरेर मापदण्डअनुसार मतदान केन्द्र थपघट तथा फेरबदल हुन सक्ने उनले भने ।

स्थानीय तहबाट मतदान केन्द्र पायक पर्ने स्थानमा भए अर्थात् मापदण्ड पुग्ने भए मतदान केन्द्र परिवर्तनलाई जिल्ला मतदान केन्द्र पुनरावलोकन समितिले निर्वाचन आयोगलाई सिफारिस गर्नेछ  । प्रजिअको संयोजकत्वमा रहने मतदान केन्द्र पुनरावलोकन समितिको बैठक आगामी माघ १० गतेभित्र बस्ने भएको छ ।

सरकारले निर्वाचनको घोषणा गरेपछि स्थानीय तहमा आमजनताबीच निर्वाचनको विषयमा छलफल तथा विचार विमर्शहरु शुरु भएको पाइएको  छ  । अहिले सर्वोच्च अदालतमा फैसलाका क्रममा रहे पनि देशलाई राजनीतिक निकास दिन निर्वाचन नै उत्तम विकल्प रहेको हेटौंडावासीको भनाइ छ  ।

प्राध्यापक ललित दासले निर्वाचनमा जाने विषयलाई सबै दलले स्वीकारसमेत गरेको देखिएकाले निर्वाचनलाई नकार्न नसकिने विचार व्यक्त गरे । यस्तै स्थानीय हरिप्रसाद रिजालले स्थायी शान्तिका लागि दलहरु सहमत हुनुपर्ने र विकासको बाटोमा लाग्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप