केन्द्रीय संस्करण
अर्थतन्त्र

४१ महिनापछि खुल्न थाल्यो कतारमाथिको नाकाबन्दी, मध्यपूर्वको ‘शान्ति’ले नेपाललाई कति लाभ ?

person explore access_timeपुस २९, २०७७ chat_bubble_outline0

 

काठमाडौं । कतारविरुद्ध अन्य खाडी मुलुकले विगत ४१ महिनादेखि लगाउँदै आएको नाकाबन्दी खुला भएको छ । अघिल्लो साता गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) को बैठकमा भएको सहमति भएसँगै अनुसार साउदी र कतारबीचको हवाई उडान सोमबारबाट सुरु भएको हो ।

नाकाबन्दीपछिकै पहिलो हवाई उडानको रुपमा कतार एयरवेजको विमान सोमबार स्थानीय समय अनुसार बिहान १०ः४५ बजे साउदीका लागि उडेको कतार एयरलाइन्सका अधिकारीहरुले बताएका छन् । एयरलाइन्सका अधिकारीका अनुसार सो उडानमा त्यस्ता परिवारका सदस्यहरु थिए जो नाकाबन्दीका कारण विगत साढे ३ वर्षदेखि आफ्ना परिवारलाई भेट्नबाट वञ्चित भएका थिए ।

सन् २०१७ को जुलाईमा खाडी क्षेत्रका प्रमुख राष्ट्रहरु साउदी अरेयिबा, युनाइटेड अरब इमिरेष्ट्स, बहराइन र इजिष्टले कतारविरुद्ध भूमि, जल र आकाश समेत गरी सबै मार्गबाट कतारविरुद्ध नाकाबन्दीको घोषणा गरेका थिए । त्यसरी नाकाबन्दी घोषणा गर्नुमा कतारले आतङ्कवादी क्रियाकलापलाई प्रसय दिएको आरोप ती राष्ट्रहरुको थियो । कतारले इरानसँग नजिक भएर काम गरेको आरोप ती राष्ट्रहरुले लगाउँदै आएका थिए । यो आरोपलाई कतारले भने सुरुदेखिनै अस्वीकार गर्दै आएको थियो ।

३ वर्षको तीतो सम्बन्धसँगै सुधार भई हवाई उडानसम्मको अवस्थामा पुगेको यो क्षणलाई सबैले ऐतिहासिक भनेका छन् । कतार एयरवेजले नाकाबन्दीसँगै साउदी अरबका व्यापार तथा कार्गो साझेदारहरुसँग जोडिएको सबै सम्बन्ध फेरि बलियोसँग पुनस्र्थापित गर्ने घोषणा गरिसकेको छ ।

त्यसो त, कतार र साउदीबीचको स्थलमार्ग शनिबारदेखि नै खुला भइसकेको छ । शनिबार कतारी नागरिकहरुले साउदी र कतारको सीमानामा पर्ने साल्वा नाकालाई पार गरेर अर्को देशतर्फ गएका छन् ।

सम्बन्धित देशका स्थानीयहरु यो सफलतालाई अन्तरदेशीय सम्बन्धको सुरुवात मात्रै भएको भन्दै आगामी दिनमा दुई देशबीच रहेको जनस्तरसम्मको सम्बन्ध पुरानै अवस्थामा फर्कने विश्वास गरिरहेका छन् ।

नेपाललाई कति लाभ ? 

कतार र साउदी अरेयिबा दुवै देश नेपालको प्रमुख श्रम गन्तव्य हुन् । नेपालबाट यी देशहरुले प्रत्येक वर्ष लाखौं नेपाली कामदारको माग गर्दै आएका छन् । यस्तो अवस्थामा मध्यपूर्वी क्षेत्रको यो अवस्थाले नेपाललाई महत्वपूर्ण लाभ प्राप्त हुनसक्ने सरोकारवालाहरु बताउँछन् ।

कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाज कतार र साउदीको सम्बन्ध सुधारले नेपाललाई मुख्यतया २ तरिकाबाट लाभ हुनसक्ने बताउँछन् । पहिलो लाभ आर्थिक तथा सामाजिक रुपमा प्राप्त हुन सक्छ भने अर्को पर्यावरणीय संरक्षणका क्षेत्रमा समेत उपलब्धि हासिल गर्न यो सम्बन्धले सहयोग पुर्याउने राजदूत भारद्वाजको भनाइ छ ।

नाकाबन्दी हुनुअघि साउदी र कतारबीच खुला सीमाना थियो । योबीचमा नाकाबन्दी हुँदा सीमा ठप्प रहेकोमा अहिले फेरि खुला सीमानाको पुरानै स्वतन्त्रता प्राप्त भएको छ । यसले गर्दा दुवै देशको उद्योग, व्यवसाय र लगानीका क्षेत्रहरु फराकिलो बन्दै जाने अवस्था देखिन्छ । नेपालको प्रमुख श्रम गन्तव्यको रुपमा रहेको यी दुवै देशमा बढ्ने आर्थिक क्रियाकलापले कामदारहरुको माग र विद्यमान कामदारहरुको आम्दानी सुधार हुने राजदूत भारद्वाज बताउँछन् ।

त्यस्तै, नेपालजस्तो हिमालयन मुलुक र साउदी कतारजस्तो खाडी मुलुक दुवैको समस्या जलवायु परिवर्तन भएकोले यो विषयमा ती क्षेत्रका राष्ट्र र हिमालय क्षेत्रका राष्ट्रबीचको संयुक्त प्रयासको ढोका खुल्ने उनको भनाइ छ ।

साउदी–कतारबीच सुधारिएको सम्बन्धमा नेपालले पाउने लाभबारे कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाज 

इतिहास, भुगोल र सामाजिक मूल्य र मान्यताका आधारमा कतार र साउदी अरबबीत एकप्रकारको समानता पाइन्छ । दुवै देशहरु पहिले एउटै देशको अंग भएको र पछि स्वतन्त्र भएका हुन् । पारिवारिक, जातिगत, धार्मिक, सांस्कृतिक लगायत दृष्टिले पनि यी देशहरुलाई एउटै सांस्कृतिक समूहको समाजको रुपमा हेर्ने गरिँदो रहेछ ।

यी देशबीचको सम्बन्ध सुधार हुँदा दुई देशबीचको सामाजिक सांस्कृतिक सम्बन्धका साथै आर्थिक क्षेत्रमा समेत निकै सुधार हुन्छ । यातायात देखि लिएर उद्योगधन्दा, निर्यात र अरु सेवामूलक उद्योगहरुमा चुस्तता आउँछ । यसले दुवै देशमा नयाँ रोजगारीका अवसरहरु निर्माण हुनसक्ने सम्भावना छ । त्यो हाम्रो लागि प्रत्यक्ष फाइदाजनक कुरा भयो ।

दोस्रो कुरा, यो क्षेत्रमा अस्थिरता हुँदा कतारजस्तो एउटा उदीयमान आर्थिक शक्तिलाई नाकाबन्दीको कारणले आर्थिक विकासमा एक किसिमको रोकावट आएको अवस्था थियो । अब द्विपक्षीय तथा अन्तरक्षेत्रीय गतिविधिमा बढी संलग्न हुने र लगानी गर्ने क्षमता पनि वृद्धि हुने भएको छ । यसले पनि नेपाली श्रमिकहरुको रोजगारीको संख्या र आम्दानी दुवैलाई सकारात्मक प्रभाव पार्न मद्दत गर्छ ।

अहिले विश्वको सबैभन्दा ठूलो चुनौती भनेकै मौसम परिवर्तनबाट आएको नकारात्मक प्रभाव सित जुध्ने, यसलाई न्यूनीकरण गर्ने र यसको अनुकुलको विकास कार्यलाई अघि बढाउने नै हो । यो चुनौतीसित लड्नको लागि हाम्रो देश र खाडी मुलुकबीच सहकार्य गरेर एकीकृत शक्ति निर्माण गर्ने सम्भावना यसले बलियो बनाएको छ ।

जलवायु परिवर्तन र पर्यावरणीय रुपमा हिमाल र खाडी मुलुकहरुबीच एकप्रकारको सम्बन्ध छ । हिमालमा हिउँ पग्लेर समुन्द्रमा आउने हो । पर्यावरणीय असरको कारणले हिउँ पग्लेर पानी धेरै बग्ने कुराले हिमालको पर्यावरण समेत खल्बलिएको छ भने सामुद्रिक पर्यावरणलाई पनि यसले असर पारिरहेको छ । यसले गर्दा सामुद्रिक किनारामा भएका हिन्द महासागर क्षेत्रका माल्दिभ्स, श्रीलंका लगायतका देशका साथै अरब देशहरु पनि यो प्रभावबाट मुक्त रहनसक्ने अवस्था देखिँदैन ।

यसले गर्दा हरितगृह उत्सर्जनबाट उत्पन्न भएका समस्याबाट जुध्नको लागि हामी साझा सहमति र प्रयासले मात्रै सम्भव हुनसक्छ भन्ने ढंगले हामीले काम गरिरहेका छौं । मलाई लाग्छ, दुई देशबीच खुला सीमानाको जुन स्वतन्त्रता प्राप्त भएको छ, यसले नेपाललाई पनि प्रत्यक्ष रुपमा असर पार्छ भन्ने मलाई लाग्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.