शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वृहस्पति ग्रहको चन्द्रमाबाट पनि आयो रेडियो सन्देश

के हाम्रै सौर्यमण्डलभित्रै पृथ्वीबाहिर पनि जीवन छ ?
मङ्गलबार, २८ पुस २०७७, १२ : ३५
मङ्गलबार, २८ पुस २०७७

केही दिन पहिला छिमेकी सौर्यमण्डल प्रोक्सिमा सेन्चुरीबाट आएको रेडियो सन्देशको चर्चा सेलाउन नपाउँदै हाम्रै सौर्यमण्डलभित्रैबाट अर्को रेडियो सन्देश प्राप्त भएको छ ।

यस पटकको रेडियो सन्देश हाम्रै सौर्यमण्डलको सबैभन्दा ठूलो सदस्य वृहस्पति ग्रहको पनि सबैभन्दा ठूलो चन्द्रमा ग्यानमिड (Gynemede) बाट आएको हो ।

नासाका वैज्ञानिकले दिएको जानकारीअनुसार यो रेडियो सन्देश नासाको अन्तरिक्ष यान जुनो (Juno) ले रिसिभ गरेको हो । नासाको यो अन्तरिक्ष यान सन् २०१६ देखि सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह वृहस्पतिको परिक्रमा गर्दै आएको छ । नासाले दिएको जानकारीअनुसार जुनोले यो रेडियो सन्देश वृहस्पति ग्रहको सबैभन्दा ठूलो चन्द्रमा ग्यानमिडको परिक्रमाका क्रममा रिसिभ गरेको हो ।

https://mk0spaceflightnoa02a.kinstacdn.com

नासाले यो सन्देश एफएम सिग्नलजस्तै भएको बताएको छ । स्मरणीय छ, अधिकांश सिग्नल एफएम अथवा एएम रेडियो च्यानलबाट प्रसारित गरिन्छन् । एफएम च्यानालबाट पठाइएका रेडियो तरङ्गका क्वालिटी राम्रो हुन्छ । ८८ देखि १०८ मेघाहर्जसम्मका रेडियो फ्रिक्वेन्सी एफएम वर्गमा पर्छन् । एउटा स्थानबाट अर्को स्थानसम्म पुग्दा यिनको क्वालिटीमा खासै कमी आउँदैन ।

जुनोले यो रेडियो सन्देश ५ सेकेन्डसम्म रिसिभ गरेको थियो । यो सन्देश रिसिभ गर्दा जुनो यानले भन्डै १ लाख ८० हजार किमि प्रतिघण्टाका दरले वृहस्पतिको प्राकृतिक उपग्रह ग्यानमिडको परिक्रमा गरिरहेको थियो ।

हुन त वृहस्पति ग्रहबाट यसभन्दा अघि पनि थुप्रै पटक रेडियो सन्देश प्राप्त भएका छन् ।

बीसीफोकस डट्कमका अनुसार पृथ्वीका वैज्ञानिकले सबैभन्दा पहिला सन् १९५५ मा वृहस्पति ग्रहबाट आएको रेडियो सन्देश रिसिभ गरेका थिए । त्यसयता ६६ वर्षको अवधिमा थुप्रै पटक यस्ता रेडियो सन्देश प्राप्त भएका छन् । तर अहिले प्राप्त भएको रेडियो सन्देश भने पहिलाको भन्दा निकै बलियो र स्पष्ट छ ।

के ग्यानमिडमा हुन सक्छन् एलियन ?

यसबारे चर्चा गर्नुभन्दा पहिला वृहस्पति ग्रह र ग्यानमिडको आकाशीय स्थितिबारे जान्न आवश्यक हुन्छ । सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह वृहस्पति पृथ्वीभन्दा झण्डै ११ गुणा ठूलो छ । १ लाख ३९ हजार ८२२ किमि व्यास भएको वृहस्पतिको क्षेत्रफलमा १२१ वटा पृथ्वी अट्न सक्छन् । यसको आयतन पृथ्वीभन्दा १,३२१ गुना बढी द्रव्यमान पृथ्वीभन्दा ३१७ गुणा बढी छ ।

सूर्यबाट ७७ करोड ८५ लाख ४७ हजार २ सय किमि टाढा रहेको वृहस्पतिले आफ्नो कक्षमा घुम्ने क्रममा सूर्यको एक पटक परिक्रमा गर्न ४,३३२ पृथ्वीदिन लगाउँछ । तर यसको आफ्नो अक्षमा परिक्रमा गर्ने (फन्को लगाउने) गति अति बढी (१२.६ किमी/सेकेण्ड) भएकोले यसले यो परिक्रमा ९ घण्टा ५५ मिनेटमै पूरा गर्छ । यहाँ एक दिन–रातको अवधि जम्मा ९ घण्टा ५५ मिनेट हुन्छ ।  वृहस्पतिको गुरुत्वाकर्षण २४.७९ मिटर/सेकेन्ड र पलायन वेग (escape velocity) ५९.५ किमि/सेकेन्ड छ । पृथ्वीका वैज्ञानिकले अहिलेसम्म पृथ्वीबाट प्रक्षेपित गरिने रकेटको गति १७– १८ किमि/सेकेन्ड भन्दा बढी बनाउन सकेका छैनन् ।

सूर्यबाट हिँडेको प्रकाशका किरणलाई वृहस्पतिसम्म पुग्न झण्डै ४३ मिनेटको समय लाग्छ ।  सूर्यबाट अत्यधिक टाढा हुनाका कारणले यहाँको तापमान माइनस १०८ देखि माइनस १६१ डिग्री सेन्टिग्रेड हुन्छ । वृहस्पति सौर्यमण्डलको ज्ञात ग्यास दानव हो । यहाँ ठोस (Solid) र द्रव्य (Liquid) तत्त्व हुने सम्भावना छैन । हामीले बुझेको जस्तो जीवनको सम्भावना वृहस्पति ग्रहमा छैन ।

http://www.thetimenow.com

वृहस्पति ग्रहसँग ७९ चन्द्रमा छन् । यसका केही चन्द्रमा हाम्रो चन्द्रमा भन्दा पनि ठूला छन् । अहिले रेडियो सन्देश प्राप्त भएको ग्यानमिड त हाम्रो चन्द्रमा भन्दा डेढ गुना ठूलो छ । यसको व्यास ५,२६२ किमि छ । यो आकारमा बुध ग्रहभन्दा पनि ठूलो छ । बुध ग्रहको व्यास ४,८७९ किमि मात्रै छ । ग्यानमिड हाम्रो सौयमण्डलकै सबैभन्दा ठूलो चन्द्रमा हो । यसले वृहस्पति ग्रहको परिक्रमा ७.१५ दिनमा पूरा गर्छ । यसलाई सौर्यमण्डलको ९ नम्बरको सबैभन्दा ठूलो पिण्ड हुने सौभाग्य प्राप्त हुनुका साथै आफ्नै म्याग्नेटिक फिल्ड हुने एक मात्र चन्द्रमा हुने गौरव पनि प्राप्त छ ।

बृहस्पति र ग्यानमिड । https://photojournal.jpl.nasa.gov/jpeg/PIA02862.jpg

एलियनसम्बन्धी खोजमा लागेका वैज्ञानिकहरुका लागि ग्यानमिड आकर्षणको केन्द्र रहेको छ । ७ जनवरी १६१० मा महान् वैज्ञानिक ग्यालिलियोले पत्ता लाएको ग्यानमिडको खोज अनुसन्धान गर्न थुप्रै यान पठाएका छन् । १९७२ मा पठाइएको पहिलो यान पायनियर १० र त्यसपछि भोयजर १ र भोयजर २ र ग्यालिलियो यानले ग्यानमिडसँग म्याग्नेटिक फिल्ड हुनुका साथै सिलिकेटका  चट्टान र पानीको उपलब्धता रहेको जानकारी उपब्ध गराएको छ । साथै यहाँको वातावरणमा थोरै मात्रामा अक्सिजन हुनका साथै ओजोन पनि रहेको छ । यसको र वृहस्पति ग्रहका बीच दूरी १० लाख ७० हजार ४०० किमि छ ।

एलियनबारे अनुसन्धान गरिरहेका वैज्ञानिकहरुका लागि ग्यानमिड जीवन धारण गर्न सक्ने खगोलपिण्डका रुपमा अति चासोको विषय रहेको छ । अहिले त्यहाँबाट रेडियो सन्देश प्राप्त हुनाले त्यो उत्सुकता झन् बढेको हो ।

Title Photo: https://bcfocus.com/


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी विज्ञान डेस्क
रातोपाटी विज्ञान डेस्क
लेखकबाट थप