चन्द्रमामा दिन भयो, चिनियाँ रोभर युतुले काम शुरू गर्यो !
शीर्षक पढेर अचम्म नमान्नु होला। कुरा साचो हो। चन्द्रमामा पृथ्वीका हिसाबले लामो समय पछि झण्डै ३२७.५ घण्टा पछि सूर्योदय भएको छ। र सूर्यको न्यानो पाउना साथ चिनिया रोभर युतुले आफ्नो दिनचर्या प्रारम्भ गरेको छ।
ल, यसबारे अलिक विस्तारमै उल्लेख गरौं। पृथ्वी झैँ चन्द्रमा पनि आफ्नो धुरीमा घुम्छ। पृथ्वीले आफ्नो धुरीमा घूमेका कारण नै यहाँ दिन र रात्रि भन्ने दुइटा अवस्था हुन्छन्। किन हुन्छन् यसको कारण प्राकृतिक एवं गणितीय छ। पृथ्वी झण्डै झण्डै गोलो छ यस कारणले सूर्यको प्रकाश पूरा पृथ्वीमा एकनास पर्न सक्दैन। र यसको घुम्ने कारणले एक पटकमा पृथ्वीको एक निश्चित भागमा मात्रै सूर्यको प्रकाश पर्छ । जहाँ प्रकाश पर्छ, त्यहाँ हामी दिन भएको भन्छौं र जुन भागमा सूर्यको प्रकाश परिरहेको हुँदैन त्यहाँ अँध्यारो भएका कारण रात्रि भन्ने चलन छ। पृथ्वी धुरीमा घुम्ने भएकोले एक भागमा दिन हुँदा अर्को भागमा रात पर्ने क्रम निरन्तर चलिरहेको हुन्छ ।
पृथ्वीले मोटामोटी २४ घण्टामा आफ्नो धुरी (अक्ष) मा एक फन्को लगाउने गर्छ । त्यसैले यहाँ १२ घण्टाको दिन र यति नै समयको रात्रि हुन्छ। तर चन्द्रमा ‘अल्छे’ भएकोले आफ्नो धुरीमा पृथ्वी झैँ तीव्र गतिले घुम्दैन। पृथ्वी आफ्नो धुरीमा प्रति सेकेण्ड ४६५ मीटरको गतिले अर्थात प्रति घण्टा १,६७४ किमीको गतिले फन्को मारिरहेको हुन्छ। चन्द्रमा भने यस मामलामा अति अल्छे एवं सुस्त छ। पृथ्वीको तुलनामा उसको धुरीमा परिभ्रमण गर्ने गति झण्डै १०० गुना कम अर्थात जम्मा ४.६२७ मीटर प्रति सेकेण्ड हुन्छ। पृथ्वी आफ्नो गतिका कारण धुरीमा एक फन्को लगाउने काम २४ घण्टामै पूरा गर्छ भने चन्द्रमालाई एक फन्को लगाउन झण्डै ६५५.७ घण्टाको समय लाग्छ। यसको अर्थ के हो भने चन्द्रमामा एक पूरा दिन (दिन +रात ) ६५५.७ घण्टाको हुन्छ। अर्थात चन्द्रमामा हुने रात्रि ३२७. ५ घण्टा (पृथ्वीका १३.६६ दिनरात बराबरी ) को हुन्छ र दिन पनि ३२७.५ घण्टाको हुन्छ।
अब यो सबै जानकारीलाई शीर्षकसंग समन्वय गरी गणना गर्नुस्। चन्द्रमाको जुन भागमा चिनिया रोभर युतु गएर बसेको छ, त्यस भागमा हिजोसम्म रात्रिको समय थियो। र, तपाईं झैँ रात्रिको समयमा रोभर युतुले पनि काम नगरी आराम गर्यो र बिहान हुनासाथ फ्रेश भई आफ्नो काममा लाग्यो। अब यसको वैज्ञानिक कारण के हो भने रोभर युतु र चन्द्रमामा भएको यसको घर अर्थात चिनिया चन्द्र मिसन चाङ्ग'इ ४ को 'ल्यान्डर' को ऊर्जा आपूर्ति सूर्यबाट नै हुन्छ। रात्रि भएकाले यसका सौर्य प्यानलले काम गरेन र रोभर युतु 'ल्यान्डर' भित्र पसी अलि कति भए पनि चन्द्रमाको रात्रिकालीन माइनस १८० डिग्री तापमानको चिसोबाट जोगियो। चन्द्रमाको वातावरण गज्जब नै छ । यहाँका रात्रि माइनस १८० सम्मका चिसा हुन्छन् भने दिनको तापमान १०० डिग्री सेल्सियससम्म पुग्छ। यसो हुनुको पछाडि चन्द्रमाको वातावरण पृथ्वी झै सघन नभई अत्यन्त पातलो हुनु नै हो।
युतुले चन्द्रमाको २६ औं दिनमा सूर्य स्नान गर्दै ‘ड्यूटी ज्वाइन’ गरेको हो। युतु चन्द्रमामा पुगेपछि २६ औं पटक सूर्योदय भएको हो। अर्थात युतुको उमेर २६ चन्द्रमा दिन पुग्यो। त्यसो त पृथ्वीका हिसाबले युतुको उमेर २ वर्ष ८ दिन पुगेको छ भनौं ७३८ दिन ( यो समाचार लेखी रहदा पुष २७ गते /जनवरी ११ का दिन सम्म )। पृथ्वीका यी ७३८ दिनमा चन्द्रमामा भने २६ औं पटक दिन भएको छ। माथि उल्लेख गरिसकिएको छ– चन्द्रमाको दिन ३२७.५ घण्टाको र रात्रि ३२७.५ घण्टाको दुबैको जोड ६५५ घण्टामा चन्द्रमाले आफ्नो धुरीको परिक्रमा पूरा गर्छ । त्यहाँको एक दिन ( दिन +रात ) पृथ्वीको २७.३२१६६१ दिन ( दिन +रात ) बराबरी हुन्छ। चन्द्रमाको रात्रिको अवधि पृथ्वीका १३.६६ दिन (दिन +रात्रि ) र चन्द्रमाको दिनको अवधि पनि पृथ्वीका १३.६६ दिन बराबरी हुन्छ।
चीनले ७ दिसम्बर सन २०१८ मा प्रक्षेपित गरेको चाङ्ग'इ मिसनको ल्यान्डर र रोभर युतुले ३ जनवरी २०१९ मा चन्द्रमाको पृथ्वीबाट कहिल्यै नदेखिने भाग 'फार साइड अफ मून' अथवा 'डार्क साइड अफ मून' भन्ने स्थलमा ल्याण्ड गरेका थिए। ओर्ले पछि १३ दिनसम्म ( पृथ्वीका १३ दिनरात तर चन्द्रमाको भने एक दिनको समय ) काम गरी युतुले यति नै समयको विश्राम लियो र फेरि काममा फर्कियो। यसपटक युतु २६ औं पटक ड्यूटी ज्वाइन गर्न निस्केको हो। भनौं युतु चन्द्रमामा भएको ठाउँ 'डार्क साइड अफ मून' मा दिन प्रारम्भ भएको छ।
'डार्क साइड अफ मून' चन्द्रमाको त्यो ठाउँ हो जुन पृथ्वीबाट कहिल्यै पनि देखिँदैन। यसको जम्मा जम्मी कारण चन्द्रमा पृथ्वीसंग 'टाइड्ली लक्ड' छ।
पृथ्वीले सूर्यको परिक्रमा गरे झैँ चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ। पृथ्वीको परिक्रमा गर्ने यसको गति १.०२२ किमी प्रति सेकेण्ड रहेको छ। यस गतिले पृथ्वीको चारैतिर घुम्दै यसले एउटा परिक्रमा पूरा गर्न ६५५.७ घण्टा अर्थात २७.३२१६६१ दिनको समय लाग्छ। चन्द्रमालाई आफ्नो अक्षको परिक्रमा पूरा गर्न र पृथ्वीको परिक्रमा पूरा गर्न लाग्ने समय दुरूस्तै एउटै छ। यसै कारणले चन्द्रमाको एउटा भाग मात्रै पृथ्वीतिर रहेको हुन्छ र पछाडिको भाग कहिल्यै सामु आउन पाउदैन। चन्द्रमाको यही पृथ्वीबाट नदेखिने भाग (झण्डै ४३ प्रतिशत भाग ) लाई नै 'फार साइड अफ मून' अथवा 'डार्क साइड अफ मून' भनिन्छ। अब तपाईलाई अन्दाजी गर्न गाह्रो हुन्न होला कि चन्द्रमाको 'फार साइड'मा दिन भएको छ अर्थात पृथ्वीवासीले 'डार्क साइड अफ मून' भन्ने ठाउँमा अहिले झलमल्ल घाम लागेको छ। अब यसो हुँदा पृथ्वीबाट देखिने भागमा भने रात्रिको शुभारम्भ भयो होला। यस कुराको पुष्टि त तपाई घरमै रहेको पात्रोबाट पनि गर्न सक्नु हुन्छ।
चीनले सन २११३ मै चाङ्ग 'इ ३ बाट चन्द्रमामा ओर्लिने सफलता पाएको थियो। चीन चन्द्रमामा पुग्ने विश्वको तेस्रो देश हो। सन २०२० मा भारतले चन्द्रमामा ओर्लिने प्रयास गरे पनि अन्तिम समयमा भारतीय चन्द्रयानले सुरक्षित अवतरण गर्न सकेन। ओर्लिने क्रममा अन्तिमका केही मिनेटमा भारतीय चन्द्रयानको ल्यान्डर सॉफ्ट ल्यान्डिङ गर्न नसकेर चन्द्रमाको भुइँमा बजारिएको ( हार्ड ल्यान्डिङ्ग ) थियो।
Title Photo: https://c.files.bbci.co.uk
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाटभटेनी र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता
-
सात लाख बढीको भन्सार छलीको समान बरामद
-
सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क
-
घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने
-
बाढीले बागमती कोरिडोरमा भएको क्षतितर्फ सरकारको अझै पुगेन ध्यान (तस्बिरहरू)
-
हेटौँडा–१२ : नागरिकको घरघरमा कांग्रेस उम्मेदवार तिवारी