बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

भारतको पटनाबाट वीरगञ्जका दुई किशोरको उद्धार

कोचिङ पढ्न घरबाट हिँडेका उनीहरु कसरी पटना पुगे भन्ने रहस्य खुल्न बाँकी
सोमबार, २७ पुस २०७७, १८ : १९
सोमबार, २७ पुस २०७७

वीरगञ्ज । प्रदेश २ को सीमावर्ती सहर वीरगञ्जका दुई किशोरलाई भारतको बिहार राज्यको राजधानी पटनाबाट उद्धार गरिएको छ । शनिबार कोचिङ पढ्न भनेर घरबाट निस्किएका ती दुई किशोर एकसाथ बेपत्ता भएका थिए । उनीहरु ६ कक्षाका विद्यार्थी रहेको बताइएको छ ।

केही भारतीय सञ्चारमाध्यमले ती दुवै किशोर अपहरणकारीको पञ्जामा परेर पटना आइपुगेको समाचार प्रकाशन गरेका छन् । पर्सा प्रहरीले भने अपहरणको पुष्टि हुन नसकेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले रातोपाटीसँग कुरा गर्दै शनिबार दिउँसोबाट हराएका वीरगञ्जका दुई किशोर पटनामा फेला परेको पुष्टि गरे पनि उनीहरु अपहरणकारीको पञ्जामा परेर पटना पुगेका हुन् भन्ने आधार नदेखिएको बताए ।

पटनाबाट भारतीय प्रहरीले ती किशोर फेला परेको जानकारी आएको र उनीहरुलाई लिन नेपाल प्रहरीको टोली पटना गएको उनले बताए । ‘हाम्रो प्रहरीको टोली उनीहरुलाई लिन पटना गएको छ,’ उनले भने, ‘अब त आइपुग्ने बेला पनि भयो, उनीहरु आएपछि वास्तविकता खुल्न सक्छ ।’

के भन्छन् भारतीय मिडिया
भारतीय मिडियाले भने ती दुई किशोर अपहृत भएर पटना आइपुगेको दावी गरेका छन् । भारतीय अखबार ‘दैनिक जागरण’को अनलाइन संस्करणमा प्रकाशित समाचार अनुसार शनिबार दिउँसो कोचिङ पढ्न साइकल चढेर हिँडेका ती दुई किशोरलाई अपहरणकारीले साइकलसमेत नै पिकअप भ्यानमा राखेर ल्याएको हो ।

उनीहरुलाई वीरगञ्जबाट भारतको जक्कनपुर थाना क्षेत्रमा रहेको मिठापुर बस पार्कमा ल्याइसकेपछि अपहरणकारीहरु खाना खान होटलमा गएको र त्यही मौकामा ती दुई किशोर पिकअप भ्यानबाट निस्किएर जक्कनपुर थानामा पुगी घटनाबारे जानकारी गराएको दैनिक जागरणको अनलाइन संस्करणमा उल्लेख छ ।

भारतीय न्यूज च्यानल एबीपीको अनलाइन संस्करणमा पनि ती दुवै किशोरलाई अपहरणकारीले मिठापुर बस पार्कमा ल्याएको र ती किशोर अपहरणकारीको चंगुलबाट भागेर भारतीय प्रहरीको सम्पर्कमा पुगेको उल्लेख छ ।
भारतीय मिडियाका अनुसार ती किशोर अर्धबेहोसीको अवस्थामा फेला परेका थिए । सोही आधारमा उनीहरुलाई अपहरणकारीले बेहोसीको औषधि दिएर अपहरण गरेको हुन सक्ने प्रारम्भिक निश्कर्ष भारतीय प्रहरीले निकालेको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय मिडियाका अनुसार अपहृत दुई किशोरमध्ये एक जना वीरगञ्जकै होटल व्यवसायीका पुत्र हुन् भने अर्का नीजि क्षेत्रका कर्मचारीका छोरा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप