माघे सङ्क्रान्तिमा नुवाकोटमा ३१ हल गोरु जुधाइने
नुवाकोट । यस वर्ष माघे सङ्क्रान्तिमा नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाइ मेला हुने भएको छ । जिल्लाका चार स्थानमा ३१ हल गोरु जुधाइने कार्यक्रम तय भएको आयोजकले जनाएका छन् । जिल्लामा गोरु जुधाउने चर्चित स्थान तारकेश्वर गाउँपालिका–३ तारुकामा सबैभन्दा धेरै १७ हल गोरु जुधाइने छ । विदुरमा आज आयोजित पत्रकार सम्मेलनमा मेला आयोजक समितिका संयोजक तथा तारकेश्वर–३ का वडाध्यक्ष सूर्यमान श्रेष्ठले गोरु जुधाइका कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
तारुकाका विभिन्न स्थानमा गोरु जुधाएर मनोरञ्जन लिने परम्परालाई २०६२ सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा व्यवस्थित रुपमा एकै स्थानमा गोरु जुधाउन थालिएको हो । यहाँको गोरु जुधाइ हेर्न विगतमा हजारौं दर्शक आउने गरेका थिए । कोरोनाका कारण यस वर्ष दर्शकमा केही कमी आउन सक्ने भए पनि परम्परालाई निरन्तरता दिनेक्रममा मेला नरोकिएको आयोजकले जनाएका छन् ।
यस्तै विदुर नगरपालिका–१० बेत्रावतीमा पनि सीमित रुपमा गोरु जुधाइने भएको छ । कोरोनाको कारण सीमित रुपमा मेला सञ्चालन गर्ने योजना बनाएको आयोजक गोसाइँकुण्ड युवा क्लबले जनाएको छ । यस वर्ष वरपरका चार हल मात्र गोरु जुधाइने योजना बनाएको क्लबका अध्यक्ष ज्ञानकुमार डङ्गोलले जानकारी दिए । कोरोनाका कारण धेरै प्रचारप्रसारमा जोड नदिई परम्परालाई निरन्तरता दिने उद्देश्यले मात्र थोरै सङ्ख्यामा गोरु जुधाइने योजना बनाएको उनले बताए ।
बेत्रावतीमा विजेता गोरुधनी किसानलाई रु पाँच हजार, हार्ने गोरुधनी किसानलाई रु चार हजार पुरस्कारको व्यवस्था गरिएको क्लबले जनाएको छ । यस्तै पञ्चकन्या गाउँपालिका–३ घलेगाउँमा ६ हल गोरु जुधाउने आयोजक नवप्रतिभा युवा समाजका अध्यक्ष शिवहरि विष्टले जानकारी दिए ।
विजेता तथा सहभागी गोरुका धनीलाई रु १५, १० र पाँच हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । यस्तै शिवपुरी गाउँपालिका–५, शेराबगरमा चार हल गोरु जुधाइने आयोजक शेराबगर विकास समाजका अध्यक्ष अभियान आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन