मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पुस २७ अर्थात् राष्ट्रिय एकता दिवसको सान्दर्भिकता कति ?

‘इतिहास नै नभएको देश बन्ने खतरा’
सोमबार, २७ पुस २०७७, १४ : ०७
सोमबार, २७ पुस २०७७

काठमाडौं । आज पुस २७ अर्थात् पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । शाह वंशीय राजा पृथ्वीनारायण शाहले विशाल नेपाल निर्माण गरेको भन्दै उनको जन्मदिन अर्थात् पुस २७ लाई राष्ट्रिय एकता दिवसका रुपमा लिने गरिन्छ ।
शाहवंशीय राजाहरुको शालिक ढाल्ने, शाह वंशीय राजाहरुलाई देशको गरिबी, सामाजिक शोषण, अत्याचार र शासकीय रुपमा निरंकुश भनेर चित्रण गर्न थालिएपछि मुलुकमा गणतन्त्र आएसँगै पुस २७ को महत्व एउटा सानो घेरामा सीमित भएको छ । यस दिन राज्यले दिने गरेको सार्वजनिक बिदासमेत कटौती गरिएको छ ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य यसलाई ‘इतिहास मेटाउने प्रयास’ मान्छन् । यो प्रवृत्तिले नेपाल ‘इतिहास नै नभएको देश’ भनेर चिनिन थालेको उनको भनाइ छ ।
‘नेपाल आफ्नो इतिहाससँग जोडिन नरुचाएको देशझैं भएको छ,’ उनले भने, ‘इतिहासमा नेपाल कहिल्यै कसैको उपनिवेश भएन भनेर हामी गौरव पनि गर्छौं तर त्यो उपनिवेश के कारणले भएन र इतिहासमा त्यस्तो भूमिका खेल्ने पात्रहरु को–को थिए भनेर खोज्न, बुझ्न र मान्न तयार नभएकोजस्तो अवस्था छ ।’

उनी नेपालको भौगोलिक एकीकरण पृथ्वीनारायण शाहले नै गरेको बताउँछन् । पुस २७ लाई नेपाली भूगोलको राष्ट्रिय एकता दिवसका रुपमा मनाउने गरिएको उनको जिकिर छ ।
संविधान निर्माणकै क्रममा आफूले नेपालको नोटमा पृथ्वीनारायण शाहको फोटो हुनुपर्छ भनेर सुझाव दिएको पनि उनले स्मरण गराए । ‘जसरी अमेरिकी डलरमा जर्ज वासिंटनको फोटो छ, भारतीय रुपैयाँमा महात्मा गान्धीको फोटो छ, त्यस्तैगरी नेपालको नोटमा पृथ्वीनारायण शाहको फोटो राख्नुपर्छ भनेर मैले सुझाव दिएको थिएँ,’ उनले भने, ‘इतिहाससँग नजोडिएको देश हुँदैन, हामी देश त भन्छौं तर यो देश कसले बनायो भन्नुपर्दा चाहिने–नचाहिने तर्क राख्छौं ।’ इतिहाससँग नजोडिएको देशको भविष्य पनि नहुने उनको भनाइ छ । अहिलेको नेपालको समस्या पनि त्यही नै भएको उनले बताए ।

पुरञ्जन आचार्य

राजाहरुको इतिहास सबै कुराले उज्ज्वल नहोला तर सबै कुरा खराब थियो भनेर भन्न पनि नमिल्ने उनले बताए । भारतको उदाहरण दिँदै उनले भने, ‘अशोक चक्र भारतको राष्ट्रिय चिह्न भएको छ, तर अशोकले आफ्ना पचासौं मारेर अनिमात्र उनी बुद्धमार्गी भएका छन् ।’

विश्लेषक आचार्यका अनुसार नेपालमा पृथ्वीनारायण शाहले भूगोलको एकीकरण गरे । जनता र जनताबीचको एकीकरण गर्नुभन्दा पहिला नै उनको मृत्यु भएको आचार्यको भनाइ छ । ‘बाँचिरहेका भए उनले त्यो पनि गर्थे होलान्,’ उनले भने, ‘नेपालको स्वतन्त्रता, अखण्डता, राष्ट्रिय एकता बढाउने काम उनले गरेकै हो ।’

विश्लेषक हरि रोका भने पृथक तर्क गर्दछन् । ‘यो देश एकीकरण गरेको सन्दर्भमा पृथ्वीनारायण शाहको सम्झना गरिन्छ । तर बाइसी–चौबिसी राज्य एकीकरण गरेर नेपाल बनाउनमा हाम्रा बाउबाजेको पनि उत्तिकै योगदान छ,’ उनले भने, ‘राष्ट्रिय एकता दिवस भन्नासाथ त्यहाँ जनता पनि जोडिन्छन् र जोड्नु पर्छ । जनतालाई नजोडी राष्ट्रिय एकता दिवसको सान्दर्भिकता हुँदैन ।’

पृथ्वीनारायण शाहले विशाल नेपाल निर्माण गर्ने सपना देखे होलान्, योजना बनाए होलान्, लडाई गरे होलान्, तर ती सबै काम उनको एक्लो प्रयासले मात्र सम्भव नभएको उनको तर्क छ । 
‘उनले आफ्नो योजनामाथि छलफल चलाए होलान्, कतिपयले उनको योजनामा आफ्नो सुझाव दिए होलान्, ती सुझावहरु मान्दै, सबैको सहकार्यमा त्यो योजनाले मूर्तरुप प्राप्त गरेको हो,’ रोकाले भने, ‘विभिन्न जातजातिसँग मिलेर सोहीअनुसारको रणनीति बनाएर पृथ्वीनारायण शाहले आधुनिक नेपालको भूगोल एकीकरण गरेका हुन् । यसरी सबैको सामुहिक प्रयासमा त्यो अभियान सफल भएको हो भनेर आत्मसात् गर्दामात्र त्यसले राष्ट्रिय एकता प्रतिविम्वित गर्दछ ।’

विश्लेषक आचार्य पनि नेपालको एकीकरणमा धेरै मानिसको योगदान गरेको स्वीकार गर्दछन् । तर ती सबैलाई कसले नेतृत्व ग¥यो र कसको निर्देशनमा ती तमाम मानिस परिचालित भएर अभियान सफल भयो भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउँछन् ।

भारतकै उदाहरण दिँदै उनले भने, ‘भारतको स्वतन्त्रता संग्राममा महात्मा गान्धीमात्र थिएनन्, सुवासचन्द्र बोस, भगत सिंहको नाम लिइन्छ, समानान्तर रुपमा थुप्रै त्यस्ता व्यक्ति छन्, जसले भारतको स्वतन्त्रता संग्राममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तर भारतको नोटमा किन महात्मा गान्धीकै तस्वीर राखिएको छ त ?’

नेपालको एकीकरणमा थुप्रै त्यस्ता पात्रले आफ्नो बलिदान दिएको आचार्यले बताए । तर ती सबैलाई कुशल नेतृत्व गरेर पृथ्वीनारायण शाहले यो अभियानलाई सार्थक बनाएको उनको भनाइ छ ।
नेपालमा नकारात्मक राजनीति गर्ने प्रवृत्ति धेरै नै भएको उनले बताए । त्यसको मुख्य कारक भनेकै कम्युनिस्ट आन्दोलन रहेको उनले प्रस्ट पारे । ‘यो अत्यन्तै नकारात्मक छ,’ उनले भने, ‘यसले आफ्नो सम्पूर्ण ऊर्जा, नेपाली युवाहरुको ऊर्जालाई गाली गलौजमा सिध्याएको छ ।’ यसको ज्वलन्त उदाहरणका रुपमा हालै प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको गाली गलौज रहेको उनले बताए ।
पृथ्वीनारायण शाहमात्र नभई नेपाली इतिहासका ‘टर्निङ्ग प्वाइन्ट’ का महानायकहरुको हामीले सही मूल्यांकन गर्न नसकेको आचार्य बताउँछन् । 

हरि रोका

विश्लेषक रोका राष्ट्रिय एकता दिवसले सबैलाई एकताको सूत्रमा बाँध्न सक्नुपर्ने तर्क गर्दछन् । ‘इतिहास पढ्ने हो भने धरहरा भीमसेन थापाले बनाएको भन्ने छ । तर धरहरा भीमसेन थापाले होइन, मजदुरले बनाएका हुन्, सिंहदरवार चन्द्र शमशेरले होइन, मजदुरले बनाएका हुन् भन्ने खालको तर्कको तुक छैन,’ उनले भने, ‘तर तत्कालीन समाजको योगदानलाई अलग्याएर एउटा व्यक्तिलाई मात्र श्रेय दिइन्छ भनेर त्यसलाई मान्ने कि नमान्ने भन्ने प्रश्न स्वाभाविक रुपमा आउँछ ।’

भूभाग एकीकरणमात्र होइन, टिस्टादेखि काँगडासम्म फैलिएको भूभाग कसरी अहिले मेचीदेखि महाकालीसम्म सीमित हुन पुग्यो भन्नेबारे अन्तरनिहीत कारणहरु पनि केलाउन उपयुक्त हुने उनको भनाइ छ ।
‘तर पनि अहिले नेपाल भनेर चिनिएको जेजति भूभाग छ, त्यसमा निश्चय नै पृथ्वीनारायण शाहको योगदान छ,’ उनले भने, ‘तर उनको मात्र योगदानले यो नेपाल बनेको होइन, त्यसमा विभिन्न जातजाति, त्यो बेलाका जिम्मेवार तहमा रहेका व्यक्तिहरुदेखि लिएर सामान्य नागरिक, उनको नेतृत्वमा युद्धमा होमिएका सैनिक लगायत सबैको उत्तिकै योगदान छ भन्ने कुरालाई मनन् गरियो भनेमात्र यसले राष्ट्रिय एकता दिवसको स्वरुप प्राप्त गर्दछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य
लेखकबाट थप