शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हुम्लामा सेवाग्राहीले बैंक खाता नखोल्दा भत्ता वितरणमा समस्या

सोमबार, २७ पुस २०७७, १३ : २३
सोमबार, २७ पुस २०७७

हुम्ला । हुम्लाका सातवटै स्थानीय तहले चालू आर्थिक वर्ष २०७७/०७८ को सामाजिक सुरक्षा भत्ता हालसम्म वितरण गर्न सकेका छैनन् । हरेक आवको मङ्सिरमा पहिलो चौमासिक रकम भुक्तानी गर्नुपर्ने प्रावधानरहि आएको छ ।  दोस्रो चौमासिक रकम भुक्तानी गर्ने समयमा पनि भत्ता वितरण नभएपछि यहाँका नागरिकले गुनासो गर्न थालेका छन् ।

चालू आवमा कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले नै सामाजिक सुरक्षा भत्ताको रकम निकासा नदिँदा वितरण हुन नसकेको बताइएको छ । ताँजाकोट गाउँपालिका– २ का वडाध्यक्ष अजमल बुढाले भत्ता वितरणमा किन ढिलाई भन्ने आफूलाई जानकारी नभएको बताए ।

सोही गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले आफ्नो गाउँपालिमा  ५४ लाख मात्र आएको र कोलेनिकाले नै निकासा नदिँदा वितरण गर्न नसकिएको बताए । कोलेनिका हुम्लाका पूर्व प्रमुख नरेशराज भट्टले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्लाभरी रकम कम पठाएको, चालुआवमा बैंक खातामार्फत सेवाग्राहीलाई रकम वितरण गर्ने परिपत्र भएको र  अहिलेसम्म खाताको विवरण नआएकाले रोकिएको जानकारी दिए ।

यस्तै सिमकोट गाउँपालिकाले वडा नम्बर ५ र ६ मा रहेका सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको तथ्याङ्क सङ्कलन गरिरहेको जनाएको छ । पहिलो र दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता आगामी फागुनमा एकैपटक वितरण गरिने वडा  नम्बर २ का वडाध्यक्ष नरबहादुर भण्डारीले बताए । अधिकांश सेवाग्राहीले बैंकमा खाता सञ्चालन गरेका छैनन् । पहिला घरघरमा पुगेर हातहातमै पाएका नागरिकले यस पटक बैंकमामार्फत वितरण गरिने भएपछि झन्झटिलो भएको उनीहरुको गुनासो छ । 

चालू आवमा बालबालिका, एकल महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले आ–आफ्नो भत्ता लिनका लागि अनिवार्य बैंक खाता खोल्नुपर्ने  प्रावधान राखिएको छ ।  हरेक गाउँपालिकाले पटकपटक खाता सञ्चालन गर्ने सूचना प्रकाशन गरे तापनि सेवाग्राहीले भने यसप्रति ध्यान दिएका छैनन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप