बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘केटी साथी’ को विषयमा झगडा हुँदा चक्कुले हानेर हत्या

सोमबार, २७ पुस २०७७, ११ : ०५
सोमबार, २७ पुस २०७७

काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा आइतबार साँझ बूढानीलकण्ठ–६ का सुशील तामाङले ज्यान गुमाए । उनको मृत्यु स्वभाविक थिएन । चार  दिनअघि बूढानीलकण्ठमा रहेको छैलुङ गुम्बा नजिकै दुई समूहबीचको झडपमा छुरा लागेर सुशील गम्भीर घाइते भएका थिए । उपचार गराउँदै जाँदा उनले ज्यान गुमाए । 

सुशीलको हत्यामा संलग्न आरोपी मकवानपुरको टिष्टुङ घर भएका राज सिंह ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न राज सिंहलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । 

सुशील र राज सिंह मिल्ने साथी हुन् । पुस २३ मा साँझ उनीहरु बूढानीलकण्ठ माथि चिसेनी डाँडामा खानपिन गर्न गएका थिए । सँगै थिए, अर्का मिल्ने साथी लाक्पा शेर्पा  । लाक्पाले आफूले दाई भन्ने गरेका उमेश तामाङलाई पनि चिसेनी डाँडामा बोलाए । 

सँगै बसेर छ्याङ खाए । त्यहाँ, उमेश र राज सिंहको बीचमा विवाद भयो । उमेशको पूर्वप्रेमिका पछिल्लो समय राज सिंह ठकुरीसँग प्रेममा थिइन् । सो विवाद बढ्दै जाँदा उमेशले आफ्ना अन्य साथीहरुलाई फोन गरे । 
फर्किंदा बाटोमा झगडा गर्ने सुरले राज सिंह एउटा होटलमा छिरे, चक्कु लिएर आए । हात्तिगौंडा माथि आएपछि उमेशका सहयोगी र राज सिंहको बीचमा झगडा भयो । राज सिंहले उमेशका साथी सोचेर हानेको चक्कु सुशील तामाङको पेटमा घोपियो ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सकहरुले चक्कुले घोपेर सुशीलको किड्नीमा चोट लागेको प्रहरीलाई बताएका छन् ।
सुशीलको मृत्युपछि भागेका राज सिंहलाई महानगरीय प्रहरी परिसर काठमाडौंले चितवनबाट पक्रेर काठमाडौं ल्याएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप