शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चुनौती बन्दै मजदूरको जीवन सुरक्षाः तीन सातामा चार जनाको मृत्यु

आइतबार, २६ पुस २०७७, २० : १४
आइतबार, २६ पुस २०७७

भक्तपुर । भक्तपुरमा केही दिनयता लगातार मजदूरहरुको मृत्यु भइरहेको छ । निर्माण तथा विद्युतीय क्षेत्रमा काम गर्नेसहित तीन सातामा ४ जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । 
आइतबार दिउँसो भक्तपुर नगरपालिका–२, कालोपाटीमा निमार्णाधीन घरमा इट्टाको गाह्रो लगाउँदै गर्दा एक मजदूरको लडेर मृत्यु भयो । 

पक्की घरको बाहिरी इट्टाको गाह्रो लगाउने क्रममा महोत्तरी बर्दिबास घर भई हाल सुर्यविनायक नगरपालिका- ५ कटुन्जे बस्ने ३५ वर्षका डम्बर मगर काम गर्ने क्रममा खस्न पुगे । पाँच तला माथिबाट लडी भुइँ तलामा बजारिँदा गम्भिर घाइते भएका मगरलाई तत्कालै स्थानीयहरुको सहयोगमा उपचारका लागी डा.इवामुरा अस्पताल भक्तपुर लगियो । उपचारकै क्रममा आज करिब ४ बजे चिकित्सकले उनलाई मृत घोषणा गरे । यसबारेमा थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिएका छन् । 

तीन साताको पहिलो घटनाः 

पुस ६ गते सिन्धुपाल्चोक लिशंखुपाखर गाँउपालिका वडा नं. ४ का निमा योञ्जनको चाँगुनारायण नगरपालिका वडा नं. ५ छाँया बस्तीमा सडकको काम गर्दै गर्दा मृत्यु भयो । प्रहरीका अनुसार उनी लगायतको समूह काम गर्ने स्थान आसपासमा नै अस्थायी रुपमा बस्दै आएका थिए ।

डोजरले भर्खरै खनेको ठाउँमा काम गर्ने क्रममा पहिरो जाँदा निमाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उक्त पहिरोमा परेर घाइते भएका तीन जनामध्ये एक जनाको ज्यान गयो । छाँया बस्तीस्थित माथिल्लो मगरचोकदेखि बर्दानेश्वर महादेवसम्म जाने बाटो निर्माण गर्ने क्रममा अचानक माथिबाट पहिरो खसेर सडक निर्माण कार्यमा संग्लन मजदूर पुरिएका हुन् । 

दोस्रो घटनाः

भक्तपुर नगरपालिका–२ इतापाकोमा सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भयो । घटनामा दोलखा मेलुङ गाउँपालिका–५ घर भई हाल भक्तपुर नगरपालिका–२ व्यासी बस्ने २३ वर्षीय रामकुमार बुढाथोकीको मृत्यु भयो । बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका सिन्धुली कमलामाई नगरपालिका–११ घर भई हाल काठमाडौँ बल्खु बस्ने २७ वर्षीय विक्रम मोक्तान घाइते भए । सडक बत्तीको मेटलको पोलसहितको बत्ती जडान गर्ने क्रममा पोलमै टाँगिएको नाङ्गो तारमा छुँदा करेन्ट लागेको थियो । 

तेस्रो घटनाः 

पुस २२ गते सूर्यविनायकको पाण्डु बजार हाइटमा रेलिङ बनाउने एकजना मजदूरको खसेर मृत्यु भयो । सुर्यविनायक नगरपालिका वडा नं. ६, पाण्डुबजार हाईटमा रहेको गोविन्द राजकर्णीकारको घरमा रेलिङ हाल्ने क्रममा खसेर ४० वर्षका ईश्वर कार्कीको मृत्यु भएको हो । 

कार्की अचानक लडी जमिनमा खसेर गम्भिर घाइते भएलगत्तै स्थानीयहरुको सहयोगमा उनलाई उपचारको लागी मध्यपुर अस्पताल लगियो । त्यही उनलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।  रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. ९, फुलासी घर भई हाल भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं. ६ बस्ने राजन खड्काले ठेक्का लिएर उक्त घरको रेलिङ लगाउन कार्कीलाई काममा लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यस घटना बारेमा थप अनुसन्धानबाट कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक गिरीले जानकारी दिएका छन् । 

न सुरक्षाको उपाय, न बीमा 

सडक बत्ती जडान, घर बनाउने सम्बन्धी कार्य, सडक कालोपत्रे गर्नेलगायतका दर्जनौ काममा सक्रिय लाखौं मजदूर कार्यरत छन् । तर, उनीहरुलाई समस्या पर्दा वा दुर्घटना हुदाँ उपचार गर्न समेत पैसा हुँदैन । परिसर भक्तपुरकी प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले रातोपाटीसँग कुरा गर्दै भनिन्–‘ठेकेदारले सुरक्षाका सामाग्री लगाउन दिएर मात्र काम लगाउनुपर्ने भएपनि त्यो पालना गर्दैनन् ।’

स्वास्थ्य बीमा, जीवन बीमाका कुरा त नेपालका अधिकांश श्रमिकको भएको देखिँदैन । प्रहरी यी चार घटनालाई हेरेर के गर्दैछ ? भन्ने प्रश्नमा भक्तपुर प्रहरी प्रमुख थापा भन्छिन् ‘हामीले सम्वद्ध सबैलाई कार्यालयमा बोलाएर कामदारको सुरक्षामा ध्यान दिन भनेका छौं, सुरक्षा उपाय अपनाउन आग्रह गरेका छौं ।’ 

कतिपय कुरामा कामदार आफैंले सावधानी नअप्नाउँदा अप्रिय घटना हुने गरेको छ । मादक पदार्थ सेवन गरेर बाँसको खटमाथि बसेर काम गर्ने बानी समेत घातक हुने भएपनि स्वयम् मजदूरले ध्यान दिएको देखिदैंन् ।  मजदूरको मृत्यु भएपछि समेत जोखिमयुक्त काममा पनि बीमा नहुँदा उनीहरुसँग आश्रित परिवारलाई पीडा त छदैँछ, आर्थिक मारमा समेत पर्नुपर्ने देखिन्छ । त्यसैले यस्ता घटनाबाट पाठ सिकेर राज्य, ठेकेदार, घरबेटी र स्वयम् मजदूरले समेत सुरक्षित हुनुपर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप