शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपभोक्ता समितिकै मिलेमतोमा वन फँडानी

डिभिजन वन कार्यालय मुकदर्शक
आइतबार, २६ पुस २०७७, १४ : ४६
आइतबार, २६ पुस २०७७

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सामुदायिक वन उपभोक्ता समितिकै मिलेमतोमा वन फँडानी भएको आरोप लागेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ कोलडाँडामा रहेको जनसंरक्षण सामुदायिक वन उपभोक्ता समितिकै मिलेमतोमा सालका रुख अवैध रुपमा काटिएको आरोप स्थानीयवासीले लगाएका हुन् । 

सामुदायिक वनको कोलडाँडास्थित भातेकुना क्षेत्रमा केही दिनदेखि बस्ती नजिकको सडक छेउमा दैनिकजसो रुख काट्ने गरेको स्थानीयवासी बताउँछन् । उक्त स्थानमा करिब तीनसय भन्दा बढी सालका काँचा रुख काटिएका छन् ।
रुख काट्दा स्थानीयले रोक्न खोजे पनि रिङरोड क्षेत्रमा पर्ने रुख काट्ने अनुमति पाएको भन्दै निर्वाध वन फँडानी भइरहेको स्थानीयवासीको भनाइ छ । यद्यपी, सडक छेउ–छाउका रुख काट्नका लागि प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमार्फत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गर्नुपर्छ । हालसम्म मन्त्रालयद्वारा उक्त प्रतिवेदन तयार नपारिएको भए पनि वन फँडानी भइरहेको हो ।

त्यसो त साल जातको रुख काट्न पूर्णरुपमा बन्द गरिएको छ । वन उपभोक्ता समितिका अध्यक्ष बमबहादुर शाहीले रुख काटिएको स्वीकार गरे । तर उनले वन फँडानीमा आफूहरुको संलग्नता नरहेको बताए । ‘चोरीमा रुख काटिएका छन् । कसैलाई पक्रिन सकेका छैनौं,’ उनले रातोपाटीसँग भने, ‘हामीले डिभिजन वन कार्यालयमा जानकारी गराएका छौं ।’ 

अध्यक्ष शाहीले डिभिजन वन कार्यालयलाई सालका रुख काटिएकोबारे जानकारी दिएको भने पनि वन कार्यालयका प्रमुख गोविन्द दाहालले आफुलाई त्यस्तो जानकारी नआएको बताए । वन उपभोक्ता समितिले वन फडानी हुँदा डिभिजन वन कार्यालयलाई तत्काल जानकारी गराई छानविन प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ । तर, समितिले यस्ता कुनै प्रक्रिया पूरा नगरेको वन कार्यालयको दावी छ । जंगल फँडानी भएको क्षेत्रबाट डिभिजन वन कार्यालय ४ किलोमिटरको दुरीमा छ ।

गत जेठ १५ गतेदेखि कुनै पनि किसिमको वनमा रहेका साल जातका रुख काट्न पूर्णरुपमा बन्देज गरिएको डिभिजन वन कार्यालय प्रमुख दाहालले बताए । ‘साल जातको रुख काट्न पाउने कुनै अनुमति छैन । वनमा रुख काटिएको विषयमा हामीसँग कुनै जानकारीसमेत छैन,’ उनले भने, ‘रुख काटिएकै हो भने ती काम अवैध हुन् । हामी उपभोक्ता समितिलाई नियन्त्रणमा लिएर छानविन गर्छौं ।’ 

डिभिजन वनकै निर्देशनमा पनि काटिएको थियो सालको रुख

डिभिजन वन प्रमुख गोविन्द दाहालले सालको रुख काट्न पूर्णरुपमा बन्द गरिएको बताए पनि उनकै निर्देशनमा काँक्रेविहार संरक्षण क्षेत्रभित्र मन्दिरको मुर्ति ल्याउनका लागि डोजर लगाई करिब ५०–६० वटा सालका रुख अवैध रुपमा काटिएका थिए । काँक्रेविहारको प्रवेशद्वार अगाडि मसलाका बुटाहरु आरा लगाई काटेर स्थानीय इट्टा भट्टालाई विक्रीसमेत गरिएको थियो ।  

यस्तै, बराहताल गाँउपालिका वडा नम्बर–८ को जनकल्याण सामुदायिक वनमा व्यापक रुख फँडानी भै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र वन कार्यालयको अनुगमन टोलीले निरीक्षण गरेको थियो । वन फँडानीमा विभिन्न प्रजातिका रुखहरु कटानी भएको पाईएको कार्यालयले बताएको थियो ।

तर, डिभिजन वन कार्यालयले भने वन फँडानीबारे छानविन गरी दोषीमाथि कानुनी कारवाही नगरेका हुँदा नै अन्यत्र पनि फँडानीले प्रोत्साहन पाएको जानकारहरु बताउँछन् । जनसंरक्षण सामुदायिक वन उपभोक्ता समुहको वन फँडानीमा संलग्नमाथि पनि कानुनी कारवाही हुनेमा स्थानीयवासीले आशंका गरेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप