शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गाउँमै इलेक्ट्रिकल इञ्जिनीयरिङको पढाइ

आइतबार, २६ पुस २०७७, १० : ०९
आइतबार, २६ पुस २०७७

म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ताकम माविमा इलेक्ट्रिकल इञ्जिनीयरिङको पठनपाठन शुरु भएको छ । शिक्षा विभागले शैक्षिकसत्र २०७७ बाट ताकम माविलाई प्राविधिक तथा व्यावसायिक धारतर्फको इलेक्ट्रिकल इञ्जिनीयरिङ विषयमा पठनपाठन सञ्चालनको अनुमति दिएको थियो । दुर्गम क्षेत्रका विद्यार्थीले पनि गाउँमै प्राविधिक शिक्षा हासिल गर्ने अवसर पाएका छन् ।

गाउँमै बसेर कक्षा ९ देखि इलेक्ट्रिकल इञ्जिनीयरिङ विषय पढ्न पाउँदा सानैदेखिको रुचि र इच्छा पूरा भएको विद्यार्थी आयुष आचार्यले बताए । “इलेक्ट्रिकल पढ्ने मेरो सानैदेखिको रुचि थियो”, उनले भने, “गाउँकै स्कूलमा पढ्न पाउँदा खुशी लागेको छ ।” प्राविधिक विषय पढ्न घर छाडेर जानुपर्ने बाध्यता हटेकामा कक्षा ९ की छात्रा आयुषा हर्मेलले खुशी व्यक्त गरिन् । यसअघि इलेक्ट्रिकल इञ्जिनीयरिङ विषय पढ्न म्याग्दीको नारच्याङस्थित प्रभा मावि, पोखरा, बुटवल, काठमाडौँ र चितवन जानुपर्ने थियो ।

इलेक्ट्रिकल इञ्जिनीयरिङ जलविद्युत् र विद्युत् आयोजनासँग सम्बन्धित छ । यो विषय व्यवहारिक र रोजगारमूलक हो । कक्षा १२ सम्म यो विषय पढ्ने विद्यार्थीले विज्ञान र अन्य विधाको इञ्जिनीयरिङ पढ्न पाउँछन् । नेपाली, अङ्ग्रेजी, गणित र विज्ञान विषय साधारण कक्षा सरहकै हुन्छ ।  साधारणका अलावा इलेक्ट्रिकल इञ्जिनीयरिङ, बेसिक इलेक्ट्रोनिक, इलेक्ट्रिकल एप्लिकेशन एण्ड मेन्टिनेन्स, इञ्जिनीयरिङ ड्रोइङ, कम्प्युटर एप्लिकेशन र वर्कसप टेक्नोलोजी विषयको पनि पठनपाठन हुने गरेको छ । ४८ जनाको कोटा भएको इलेक्ट्रिकल इञ्जिनीयरिङ विषय अध्ययनका लागि कक्षा ९ मा २२ जना भर्ना भएका प्रअ ओमकार पौडेलले बताए ।

“कोरोना महामारीको जोखिमका कारण यस वर्ष पालिका बाहिरका विद्यार्थी आउन सकेनन्”, उनले भने, “अर्को वर्ष छिमेकी पालिका र जिल्लाका विद्यार्थीलाई पनि भर्ना गराउन पहल गरेका छौँ ।” कक्षा ११ उत्तीर्ण गरेपछि डिप्लोमा इन इञ्जिनीयरिङसरह र १० उत्तीर्ण गर्नेले टेक्निसियनसरहको योग्यता पाउँछन् । शिक्षा मन्त्रालयले यस वर्ष एक प्रशिक्षक र एक सहायक प्रशिक्षकको दरबन्दी उपलब्ध गराएको छ । प्रतिकक्षा दुईका दरले प्रशिक्षक र सहायक प्रशिक्षकको दरबन्दी उपलब्ध गराउने नीति छ ।

धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले ताकम माविलाई प्राविधिक शिक्षालयको रूपमा विकास गर्ने योजना बनाएको बताए । प्रदेश र सङ्घ सरकारसँग समन्वय गरेर छात्रावास, प्रयोगशाला र कक्षाकोठा भवनलगायत पूर्वाधार निर्माण शुरु गरेको उनले बताए । प्राविधिक कक्षाको अनुमतिसँगै विद्यालयले शैक्षिक तथा भौतिक पूर्वाधार तयार पारेको छ । विसं २०११ मा स्थापना भएको ताकम माविले आधारभूत तहको १–५ कक्षा सञ्चालनका लागि स्थायी स्वीकृति पाएको छ । स्थानीय स्रोत जुटाएर कक्षा १० सम्म पठनपाठन गराएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप