शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुधारिँदै वित्तीय क्षेत्र : ऋण लगानी बढ्यो, एकै महिनामा ४ अर्ब नाफा

कुन क्षेत्रमा कति दिइयो कर्जा ?
आइतबार, २६ पुस २०७७, ०८ : ३४
आइतबार, २६ पुस २०७७

काठमाडौं । निजी क्षेत्रको सक्रियता बढ्न थालेपछि त्यसको सकारात्मक असर वित्तीय क्षेत्रमा देखिन थालेको छ । मंसिर महिनामा बैङ्क तथा वित्तीय संस्थाहरुको निक्षेप र ऋण तथा नाफामा आएको परिवर्तनले यस्तो अवस्था देखाएको हो ।

कोभिड–१९ को महामारीपछि ऋण लगानी ठप्प हुँदा बैङ्कहरुहरु लामो समयदेखि अधिक तरलताको समस्यामा गुज्रिँदै आएका थिए । रेमिट्यान्स र अन्य ट्रान्सफरका कारण बैङ्कहरुमा निक्षेप बढ्दै गएको अवस्था थियो भने ऋण लगानी ठप्प हुँदा बैङ्कहरु यस्तो समस्यामा थिए । मंसिर महिनामा भने बैङ्क तथा वित्तीय संस्थाको निक्षेप वृद्धि हुने क्रम रोकिएको छ । कर्जा लगानीमा सुधार हुँदै जाँदा समग्र बैंकिङ क्षेत्रको तरलता सुधारोन्मुख देखिएको हो । 

नेपाल राष्ट्र बैङ्कका अनुसार मंसिर अन्तिममा बैङ्कहरुले ४१ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३४ खर्ब ४१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैङ्कहरुको यो निक्षेप अघिल्लो महिनाको तुलनामा ६ अर्ब रुपैयाँ कम हो । कर्जा लगानी भने २५ अर्ब रुपैयाँ बढी हो ।

यो अवधिमा वाणिज्य बैङ्कको निक्षेप मात्रै ८ अर्बले घटेको छ । विकास बैङ्कहरुको निक्षेप संकलन २ अर्बले बढेको छ भने फाइनान्स कम्पनीहरुको निक्षेप करिब ६२ करोडले बढेको छ । कर्जा प्रवाहतर्फ भने वाणिज्य बैङ्क विकास बैङ्क र फाइनान्स कम्पनी सबै क्षेत्रमा सुधार देखिएको छ । वाणिज्य बैकको २१ अर्ब, विकास बैङ्कको पौने ३ अर्ब र फाइनान्स कम्पनीहरुको ७५ करोडले कर्जा प्रवाह बढेको हो ।

कुन क्षेत्रमा कति दिइयो कर्जा ?

बैङ्कहरुले मंसिर महिनामा प्रवाह गरेको कर्जामध्ये सबैभन्दा बढी कर्जा शीर्षक नदिइएको प्रयोजनको लागि खर्च भएको छ । कुनै पनि शीर्षकभित्र नपर्ने यस्तो कर्जामा बैङ्कहरुले यो महिनामा १५ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । त्यस्तै, १२ अर्ब ६५ करोडको आवधिक कर्जा २ अर्ब ७७ करोडको ओभरड्राफ्ट कर्जा, ५ अर्ब ३३ करोडको आयात कर्जा प्रवाह भएको छ । रियलस्टेट कर्जा ३ अर्ब ५५ करोडले बढेको छ भने शेयर धितो लगायत मार्जिन प्रकृतिका कर्जाहरु १ अर्ब ९० करोड रुपैयाँले बढेको छ ।

तर उत्पादनमूलक क्षेत्रले प्रयोगगर्ने चालु पुँजी कर्जा कर्जा भने यो अवधिमा निकै घटेको छ । मंसिर महिनामा मात्रै यस्तो कर्जा १५ अर्ब ४६ करोडले घटेको राष्ट्र बैङ्कले जनाएको छ । अर्कोतर्फ व्यक्तिगत आवास प्रयोजनका लागि लिइने डेढ करोसम्मको कर्जा पनि मंसिर महिनामा करिब डेढ अर्बले घटेको छ । उता विपन्न वर्गमा प्रवाह हुने कर्जा ३ अर्ब २८ करोडले घटेको छ । यो अवधिमा कर्जा विस्तार गर्न बैङ्कहरु सफल भए पनि तोकिएको प्राथमिकता प्राप्त क्षेत्र क्षेत्रमा कर्जा प्रवाह हुन सकेको छैन । 

क्षेत्रगत रुपमा यो अवधिमा कृषि तथा वनतर्फ ३ अर्ब ३५ करोड, कृषिजन्य वस्तु तथा वेभरेज उत्पादन उद्योगतर्फ २ अर्ब ६८ करोड, निर्माण क्षेत्रतर्फ ४ अर्ब ४८ करोड, विद्युत्, ग्यास तथा खानेपानीमा १ अर्ब ६५ करोड, धातुजन्य उद्योग, मेसिनरी तथा इलेक्ट्रिकल क्षेत्रमा ३६ करोड रुपैयाँ बराबर थप कर्जा प्रवाह भएको छ । त्यस्तै, यातायात तथा सञ्चार क्षेत्रमा २ अर्ब २९ करोड तथा होटल तथा रेष्टुरेन्टतर्फ १ अर्ब ६७ करोड ऋण प्रवाह बढ्को छ ।

एकै महिनामा साढे ४ अर्ब नाफा

मंसिर महिनामा मात्रै बैङ्कहरुले ४ अर्ब ५६ करोड रुपैयाँ नाफा कमाएका छन् । कात्तिक मसान्तसम्म १५ अर्ब ७२ करोड नाफामा रहेका बैङ्क तथा वित्तीय संस्थाहरु मंसिर मसान्तमा २० अर्ब २८ करोडको खुद मुनाफाको अवस्थामा पुगेका हुन् ।

यसमध्ये वाणिज्य बैङ्कको नाफा ४ अर्ब २२ करोडले बढेको छ । विकास बैङ्कहरुको ४४ करोडले बढेको छ । वित्त कम्पनीहरुतर्फ भने नाफामा रहेका कम्पनीहरुको नाफा घट्ने र नोक्सानमा रहेका कम्पनीहरुको नोक्सान बढ्ने अवस्था देखिएको छ । यो अवधिमा वित्त कम्पनी भने करिब १२ करोडले नोक्सानमा छन् ।

बैङ्कहरुले सामान्यतया त्रैमासको अन्तिम समयमा ऋण उठाउन ताकेता गर्ने भएकोले ती महिनामा नाफा बढी देखिन्छ । तर, मंसिर महिनामै नाफामा यो सुधार हुनु निकै सकारात्मक पक्ष हो । जबकी यो महिनामा बैङ्कहरुको जोखिमका लागि छुट्याइएको जगेडा कोषमा समेत करिब ५० करोड रुपैयाँ थप भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप