शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणः सीमा विवादको विषयमा होला छलफल ?

नेपालले नै तयारी नगरेको भारतीय पक्षको दाबी
आइतबार, २६ पुस २०७७, ०८ : ०७
आइतबार, २६ पुस २०७७

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भारतको औपचारिक भ्रमण जाने तय भएपछि परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले तयारी थालेका छन् । परराष्ट्र मन्त्रालयले भारत भ्रमणको मिति घोषणा नगरेपनि माघ १ गते मन्त्री ज्ञवालीको भारत जाने तयारी रहेको छ ।

मन्त्री ज्ञवालीले नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन गइरहेका छन् । सो बैठकमा दुवै देशका परराष्ट्र मन्त्रीले संयुक्त रूपमा अध्यक्षता गर्नेछन् । आयोगको बैठकमा दुई देशबीच सहकार्य भएका परियोजनाहरुको विषयमा छलफल हुने बताइएको छ ।

सीमा विवादको विषयमा वार्ता गर्न मन्त्री ज्ञवाली भारत गइरहेको प्रधानमन्त्री केपी ओलीले प्रचार गरे पनि त्यस विषयलाई छलफल गर्ने कुनै एजेन्डा तय गरिएको छैन । मन्त्री ज्ञवालीले आफै त्यस विषयमा जिज्ञासा राखे भारतले त्यसलाई जानकारीको रुपमा मात्र लिने दूतावास स्रोतले जनाएको छ ।

सीमा विवादको विषयमा कुरा गर्न नेपालको तर्फबाट कुनै तयारी नरहेको भारतले भन्दै आएको छ । भारतीय दूतावासका एक पदाधिकारीले भने, ‘नेपालको कुनै तयारी छैन । बिना तयारी कस्तो छलफल हुन्छ ? त्यसैले भारतले सीमा विवादको विषयमा वार्ता गर्न कुनै एजेण्डा नै बनाएको छैन । यदि मन्त्री ज्ञवालीले छलफलकै क्रममा कुरा राख्नुभयो भने बेग्लै कुरा हो । तर भारतले एजेन्डा बनाएर छलफल गर्ने कुनै तयारी गरेको छैन ।’

नेपालले अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुराको भूमि समावेश गर्दै नयाँ राजनीतिक नक्सा प्रकाशित गरेको थियो । त्यसका लागि संविधान संशोधन समेत गरिएको छ । यो कुरालाई लिएर भारत चिढिएको छ । अहिले वार्ता भएर कुनै सहमिति भए के नेपालले पुनः संविधान संशोधन गर्छ भन्ने भारतले ग्यारेन्टी खोजेको छ । सकारात्मक पक्ष भनेको भारत नेपालसँग वार्ता गर्न तयार भएको छ । भारतको तर्फबाट यसअघि उच्च स्तरीय भ्रमण भइसकेको छ । त्यही सिलसिलामा मन्त्री ज्ञवालीको भ्रमण हुन लागेको हो । मन्त्री ज्ञवालीको भ्रमणपछि प्रधानमन्त्री ओलीको पनि भ्रमण हुने तयारी भइरहेको छ । उनको भारत भ्रमणमा भने सीमाको विषयमा कुराकानी हुने सम्भावना रहेको बताइएको छ ।

मन्त्री ज्ञवालीले नेपालमा अहिले देखिएको राजनीतिक परिवर्तनको बारेमा भने भारतीय पक्षसँग छलफल गर्ने बताइएको छ । नेपालको राजनीतिलाई कसरी सेटल गर्ने विषयमा पनि विशेष कुरा हुने स्रोतको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप