बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

काँग्रेस सर्वाेच्चबाट आउने फैसलाको प्रतिरक्षामा उभिन्छ : एनपी साउद

शनिबार, २५ पुस २०७७, २२ : ०८
शनिबार, २५ पुस २०७७

काठमाडौं । नेपाली काँग्रेसका नेता एनपी साउदले नेपालका कम्युनिस्टहरुको असफलताका कारण संसद् विघटनको घटनासम्म मुलुक पुगेको बताएका छन् । संसद विघटन विरुद्ध शनिबार काभ्रेमा भएको विरोधसभामा नेता साउँदले भने, 'अहिले मुलुकमा प्रधानमन्त्री केपी ओलीमात्र असफल भएका छैनन् । यो ओलीको असफलताको कथामात्र होइन, ओलीसँगै पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र नेपालका सबै कम्युनिस्टहरुको असफलताको कथा हो ।'

उनले जनताले दुई तिहाइ बहुमत दिएपछि सरकार सम्हालेका नेपालका कम्युनिस्टहरुले जनतलाई झुटा आश्ववासनमात्रै दिएको बताए । उनले भने, 'जनताले नेपाल कम्युनिस्ट पार्टीलाई बहुमत दिएर सत्ताको जिम्मेवारी दियो । काँग्रेस प्रतिपक्षको भूमिका शान्तिपूर्णरुपमा निर्वाह गरिरहेको थियो । तर, पाँच वर्षका लागि दिएको जनताको म्यान्डेट अनुसार कम्युनिस्टहरुले काम गर्न सकेनन् ।'

प्रधानमन्त्री ओलीलगायतका कम्युनिस्ट नेताहरुले दुई वर्ष काँग्रेसलाई गाली गर्नमा सकेको र एक वर्ष एकआपसमा आरोपप्रत्यारोप र कुर्सीको लडाईंमा समाप्त पारेको नेता साउँदले बताए । उनले भने, 'प्रधानमन्त्री ओलीसहितका कम्युनिस्टहरुले विगतका दुई वर्षमा शेरबहादुर देउवा काँग्रेसको अन्तिम प्रधानमन्त्री हो भने । काँग्रेस लोप भइसक्यो, कहीँ देख्दिन भने र एक वर्षको समय एक अर्कालाई गाली गर्न सके । अहिले एकले अर्कोलाई कम्युनिस्ट नभएको दाबी गरिरहेका छन् ।'

अहिले अदालतमा विचाराधिन मुद्दाका विषयमा कम्युनिस्टका नेताहरुले गरेको भाषणबाजी गलत भएको साउदको ठहर छ । उनले भने, 'अहिले ओलीमात्र होइन, प्रचण्ड माधव र पूर्वप्रधानन्यायाधीशहरुले पनि सर्वोच्च अदालतलाई प्रभावित पार्ने गरी वक्तव्य र भाषण गरिरहेका छन् । यो बिल्कुल गलत हो । काँग्रेसले अदालतले गरेको फैसलाको सम्मान गर्छ र उक्त फैसलाको प्रतिरक्षाको पक्षमा उभिन्छ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप