शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री र राष्ट्रपतिबाट संवैधानिक ‘कू’ भयो : उदय शम्शेर राणा

शनिबार, २५ पुस २०७७, २० : २६
शनिबार, २५ पुस २०७७

ललितपुर । नेपाली काँग्रेसका नेता एवं पूर्वअर्थ राज्यमन्त्री उदय शम्शेर राणाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक ‘कू’ गरेको दावी गरेका छन् । संसद विघटनविरुद्ध काँग्रेसले शनिबार आयोजना गरेको देशव्यापी विरोध सभा अन्तर्गत ललितपुर क्षेत्र नं. १ को प्रदेश सभा क ले आयोजना गरेको कार्यक्रममा नेता राणाले सरकारलाई संसद विघटनको अधिकार नभएको जिकिर गरे । ‘

संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर ओलीले संसद विघटन गरेका छन् । संविधानमा संसद विघटन गर्ने केही प्रावधान छन्, तर प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने प्रक्रियामा नै नगई संसद विघटन गरेका छन्,’ उनले भने, ‘मन्त्रिपरिषदले पठाएको प्रस्ताव पढ्दै नपढी राष्ट्रपतिले पनि स्वीकृत गरिदिनुभयो । राष्ट्रपति र प्रधानमन्त्री दुबै जनाबाट संवैधानिक कु भएको छ ।’

विगतमा संसद विघटनको प्रस्ताव सिफारिस हुँदा तत्कालीन राजाले विज्ञहरुसँग परामर्श गर्ने गरेको प्रसंग उल्लेख गर्दै नेता राणाले राष्ट्रपति विद्यादेवी भण्डारीले अध्ययन नै नगरी हठात् प्रस्ताव स्वीकृत गरेको आरोप लगाए । 

उनले संसद विघटनको दोषी प्रचण्ड–नेपाल समूह पनि भएको आरोप लगाए ।  ‘माधव नेपाल र प्रचण्डले अहिले सडकमा आएर विरोध गरेर मात्रै हुँदैन । उहाँहरुकै प्रस्ताव र समर्थनमा ओली प्रधानमन्त्र बनेका हुन् । सँगै हुँदा सरकारका हरेक बेथितीको साक्षी उहाँहरु पनि हो,’ उनले भने, ‘संसद विघटनको जिम्मा नेकपाले लिनुपर्दछ ।’ 

उनले सर्वोच्च अदालतलाई पनि संविधानको भावना र मर्म अनुसार फैसला गर्न आग्रह गरे । नेता राणाले नेकपा र सरकारको अत्याचार, भ्रष्टाचार र बेथितीविरुद्ध कांग्रेस गाउँ-गाउँमा जाने उद्घोष गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप