शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मुलुकलाई ध्रुवीकरणबाट रोक्ने जिम्मेवारी अदालतको काँधमा : नैनसिंह महर

शनिबार, २५ पुस २०७७, १८ : ५९
शनिबार, २५ पुस २०७७

नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले सर्वोच्च अदालतको काँधमा मुलुकलाई ध्रुवीकरणबाट रोक्ने जिम्मेवारी आएको बताएका छन् । नेकपाका कारण मुलुकमा बढेको ध्रुवीकरणले थप अस्थिरता ल्याउनेमा जोड दिँदै नेता महरले अदालतले संविधानको रक्षा गर्दै ध्रुवीकरणबाट रोक्न सक्ने बताए ।

‘अदालतकाप्रति नागरिकको ठूलो आस्था र विश्वास छ’ ,काँग्रेसले उदयपुरको मुर्कुचीमा गरेको विरोध कार्यक्रममा महरले भने, ‘सर्वोच्चको निर्णयमा जति दिन ढिलाई हुन्छ त्यत्ति नै मुलुक ध्रुवीकरणको बाटोमा अगाडि बढ्छ । यसले मुलुकमा फेरि संकट थपिँदै जान्छ ।’


नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष समेत रहेका महरले नेकपा दुवै गुट आजको संकटमा मतियार भएको आरोप लगाए । ‘यो पक्ष वा त्यो पक्ष होइन, समग्र नेकपाकै कारण लोकतन्त्र संकटमा परेको हो,’ उनले भने, ‘कम्युनिष्टलाई विश्वास गर्नु नै आम नेपालीको ठूलो भ्रम थियो र हो ।’

नेपाली काँग्रेस उदयपुर क्षेत्र नम्बर–२ (क) ले आयोजना गरेको प्रदर्शनमा महरले नेकपाका नेताले बाटो काटेपछि लौरो नै भाँच्ने प्रवृत्ति देखाएको जिकिर गरे । ‘जुन मतदाताले नेकपालाई पत्याएर दुई तिहाइसहित सत्तामा पठाए तिनैमाथि गम्भीर अन्याय गर्ने?’ नेकपाप्रति नै आक्रोशित महरले भने, ‘अहिले नेकपाका कुनै पनि नेतालाई जनतामा जाने कुनै नैतिक बल बांकी छैन ।’

कम्युनिष्ट शक्ति देशका लागि जहिले दुर्भाग्य भएको आरोप लगाउदै महरले अहिलेको अवस्थाले त्यसैलाई पुष्टि गरेको दाबी गरे । उनले भने, ‘कहिले जंगलमा बसेर देशमा ध्वंस मच्चाउने, कहिले सत्ता र प्रतिपक्षमा बसेर मुलुकलाई भड्खालोमा पु-याउने नेपालमा कम्युनिष्ट शक्तिको विशेषता नै यही देखियो ।’

महरले अहिलेको अवस्थामा काँग्रेसले सुझबुझ नपु¥याए देशले थप क्षति व्यहोर्नुपर्ने र व्यवस्थामाथिको संकट नटर्ने दाबी समेत गरे । 'नेकपाले त देशलाई खाल्डोमा हालिसक्यो,' महरले भने, 'अब जोगाउने जिम्मा काँग्रेसको हो र हामी त्यसका लागि तयार   छौं ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप