आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

मधेसलाई हेर्ने दृष्टिकोणमा ओलीको स्वार्थ : काठमाडौंमा धोती जुलुस !

शनिबार, २५ पुस २०७७, ११ : ५४
शनिबार, २५ पुस २०७७

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (ओली समूह) का अध्यक्ष केपी शर्मा ओली कुनै समय मधेशीका बारेमा अनेक अपमानजनक शब्दहरु प्रयोग गर्न पछि पर्दैनथिए । 
संविधान संशोधनको माग राख्दै मधेशमा मानवसाङ्लो बनाउँदा अध्यक्ष ओलीले त्यसलाई ‘माखे साङ्लो’ उपमा दिन भ्याएका थिए । त्यतिमात्र होइन, मधेश आन्दोलनको क्रममा मानिसको मृत्यु हुँदा समेत उनले ‘एक दुईटा आँप झर्दैमा केही नहुने’ अभिव्यक्ति दिएर विवादित बनेका थिए । 

तर, आज समय फेरिएको छ । ओलीको मधेसलाई हेर्ने दृष्टिकोणमा स्वार्थ मिसिएको छ । र, मधेशलाई आफ्नो बचाउको सहारा बनाएका छन् । मधेशमा आफ्नो ठाउँ बनाउन अनेक उपाय अपनाउँदै आएका प्रधानमन्त्री ओलीले शनिबार काठमाडौंमा ‘धोती जुृलुस’ निकाल्न लगाएका छन् । धोतीलाई मधेसीहरुको लोकप्रिय पोशाक मानिन्छ ।

ओलीको निर्देशनमा प्रदेश २ का युवाहरु काठमाडौंमा ल्याएर माइतीघर मण्डलादेखि रत्नपार्कसम्म धोती जुृलुस प्रदर्शन हुँदैछ र उनीहरुलाई आफूले दिने मन्तव्यको कार्यक्रममा सहभागी गराउँदैछन् । जुलुसमा सहभागी हुन शनिबारै तराई मधेशबाट युवाहरुलाई काठमाडौं आइसकेका छन् । सो जुलुसमा धोती कुर्ता लगाएका लगभग पाँचसय जति युवा सहभागी हुने बताइएको छ । 

प्रज्ञा भवनमा युवा संघ नेपालले कार्यक्रमको आयोजना गरेको छ । सोही कार्यक्रममा धोती लगाउने हरुको  पनि सहभागित रहनेछ । स्रोतका अनुसार सो कार्यक्रममा प्रदेश २ बाट केही युवाहरु नेकपा (ओली) समूहमा प्रवेश पनि गर्नेछन् । 

धोती जुलुसको उद्घाटन नेकपा (ओली समूह) का नेता योगनारायण यादवले गर्नेछन् । सांगठनिक रुपमा प्रदेश २ मा कमजोर रहेका प्रधानमन्त्री ओलीले त्यहाँ आफ्नो समूहलाई बलियो बनाउनका लागि विभिन्न उपायहरु अपनाउँदै आएका छन् । दिनदिनै केही केही कार्यक्रमहरु गर्दै आएका छन् । प्रदेश २ मा संगठन राम्रो बनाउन विशेष रुपमा नेकपा (ओली समूह) का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य प्रभु साहलाई जिम्मेवारी दिइएको छ ।   

प्रदेशका आठवटा जिल्लामध्ये सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाका अध्यक्ष प्रचण्ड–नेपाल समूहमा लागेका छन् भने धनुषाका अध्यक्ष राजकिशोर यादव र पर्साका अध्यक्ष प्रभु हजारा ओली समूहमा छन् । 
प्रदेशका सातवटा  जिल्लाका जिल्ला कमिटीका सचिव प्रचण्ड–नेपाल समहुमा छन् भने महोत्तरी जिल्ला कमिटी सचिव सौकीलाल यादव तटस्थ छन् । 

अध्यक्ष साहको प्रभाव र स्थायी कमिटी सदस्य मात्रिका यादवसँगको टसलका कारण पूर्वमाओवादीका चार प्रदेशसभा सदस्य ओली समूहमा छन् भने दुई जना अझै अलमलमै छन् । पूर्वमाओवादीका प्रदेश संसदीय दलका नेतासमेत रहेका रामचन्द्र मण्डल, ज्वाला कुमारी साह, कुन्दनप्रसाद कुश्वाहा र मो. समिर ओली समूहमा लागेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप