सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

खतरनाक ग्रिनिङ रोगले सुन्तलाका बोट धमाधम सुक्न थाले

शनिबार, २५ पुस २०७७, १० : ३६
शनिबार, २५ पुस २०७७

सल्यानमा सुन्तलाका बोट धमाधम सुक्न थालेका छन् । उपचार नै नभएको ग्रिनिङ रोग फैलिन थालेपछि सुन्तलाका बगैँचासमेत खाली हुने अवस्थामा पुग्न थालेका छन् । व्यावसायिक रुपमा सुन्तला खेती गरिरहेका बागचौर नगरपालिका–८ मा रहेका अधिकांश कृषकका सुन्तलाका बोट सुक्न थालेका छन् । आम्दानीको राम्रो स्रोतको रुपमा रहेका सुन्तलाका बोट नै धमाधम सुक्न थालेपछि उनीहरुको व्यवसाय नै सङ्कटमा पर्न थालेको छ । 
    
पन्ध्र वर्ष अघिदेखि सुन्तला खेती गर्दै आएकी बागचौर नगरपालिका–८ कि कृषक पवित्रा योगीका अनुसार बगैँचामा सुन्तलाका बोटका हाँगा सुक्ने, फल नलाग्ने तथा लागेको फल पनि स्वस्थ्य नहुने समस्या देखिएको छ । “पोहोर साल रु १७ लाखभन्दा बढी मूल्यको सुन्तला बिक्री भएको हो तर यो वर्ष रु तीन लाख हुनु अवस्था छैन फलेको सुन्तला पनि अहिलेसम्म पाकेको छैन”, पवित्राले भनिन्

जिल्लाकै ठूला सुन्तला उत्पादन व्यवसाय गर्दै आएका भरतनाथ योगीका बगँैचामा समेत सुन्तलाका बोट सुक्न थालेका छन् । उत्पादन लिने समयमा बोट नै मर्न थालेपछि आफूहरु चिन्तित भएको कृषक भरतनाथ योगीले बताए । 
    
सिङ्गो गाउँमा नै व्यावसायिक सुन्तला खेती गर्दै आएका कृषक सुन्तलाका बोट नै सुक्न थालेपछि निराश हुन थालेको बागचौर नगरपालिका–८ का प्रकाश डाँगीले जानकारी दिए । 

सुन्तलाको क्यान्सरको रुपमा चिनिने यो रोग हावाका माध्यमबाट फैलिने भएकाले छिट्टै सुन्तलाका बोटमा समस्या देखिने कृषि विकास कार्र्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिए । 
    
यो रोगका कारण सुन्तलाका हाँगा सुक्ने, जरा कुहिने तथा फलसमेत राम्रो र उत्पादन दिन नसक्ने भएकाले उत्पादन घट्ने कार्यालयको भनाइ छ । सल्यानमा एक हजार ५०० बढी हेक्टरमा सुन्तला खेती गरिँदै आएको छ । गत आर्थिक वर्षमा मात्रै सल्यानबाट १० हजार ६९० मेट्रिक टन सुन्तला निर्यात भएको कार्यालयले जनाएको छ । गत वर्ष जिल्लाबाट पाँच करोड ४० लाख बढीको सुन्तला निर्यात भएकामा यो वर्ष भने उत्पादनमा कमी आउने देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप