मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा एकताका लागि जुलुस प्रदर्शन गर्न वामदेवको आह्वान

‘प्रतिनिधिसभालाई दुरुपयोग गर्नेसम्मका घटना घट्नु राष्ट्रकै निम्ति अत्यन्तै पीडादायी’
शनिबार, २५ पुस २०७७, १० : १५
शनिबार, २५ पुस २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताका लागि अपिल गरेका छन् । उनले आज एक अपिल जारी गर्दै पार्टीमा उत्पन्न अन्तरविरोधहरुको समाधान गर्न नसक्नाका कारण विभाजन उन्मुख हुनु पार्टीका शीर्षस्थ नेताहरुको अयोग्यता रहेको टिप्पणी गरेका छन् ।

पार्टीभित्र उत्पन्न हुने समस्या पार्टीभित्रै समाधान गर्न नसकेर सिंगो राष्ट्रलाई प्रभावित गर्ने संस्था प्रतिनिधिसभालाई दुरुपयोग गर्नेसम्मका घटना घट्नु राष्ट्रकै निम्ति अत्यन्तै पीडादायी अवस्था भएको उनले अपिलमा भनेका छन्  । प्रधानमन्त्रीविरुद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता गराउनु र त्यसको सामना गर्ने वा नसक्ने भए राजीनामा दिनुको बदला प्रतिनिधिसभा भंग गर्नेसम्मका दुर्घटना अहिले पार्टीले बेर्होन परेको उनले बताएका छन् ।

उनले कोरानाका कारण नाक र मुख ढाक्ने मास्क लगाएर नेकपा एकताको आह्वानमा जुलुस सञ्चालन गर्न पनि आग्रह गरेका छन् । ‘आज नेपालको कम्युनिष्ट आन्दोलन गम्भीर संकटको मोडमा पुगेको छ, यो संकटले जुर्मुराउँदै उठेको नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजनतर्फ धकेली रहेको छ,’ उनले भनेका छन्, ‘सरकार संचालनको एउटा कार्यकाल पुरा नहुँदै र पार्टी एकीकरणको तीन वर्ष पनि व्यतित नहुँदै नेकपा विभाजनबाट क्षेतविक्षत हुने दिशातर्फ अग्रसर हुनु अत्यन्त दु:खद र पिडादायी भएको छ ।’

रााष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण हैसियत राख्ने दुई कम्युनिष्ट पार्टीको एकीकरण भएपनि दुवैमा रहेको फरक-फरक विचार, भावना र कार्यशैलीका कारण नेता र कार्यकर्ताहरुको बीचमा अन्तरघुलन हुन केही समस्या देखिएको उल्लेख गर्दै उनले तात्कालिक नीतिगत क्षेत्रमा संविधानको सर्वोच्चता, कानुनी राज्य, आवधिक निर्वाचन र बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीलाई दुबैले सहर्ष स्वीकार गरी सके पछि मतभिन्नता त्यति जटिल हुने नदेखिएको बताएका छन् ।

'सिद्धान्त र कार्यक्रमका सन्दर्भमा केही असमझदारी रहेका थिए, तिनलाई महाधिवेशनबाट टुंगो लगाउने भनि सहमति भएकै थियो, तबसम्म सबै कामहरु अपेक्षाकृत सहमतिका आधारमा सम्पन्न गर्ने सहमति पनि भएकै थियो,' अपिलमा उनले उल्लेख गरेका छन् ।

पार्टी एकीकरणका निम्ति गरिएको पछिल्लो सहमतिअनुसार पार्टी र सरकारको नेतृत्व आलोपालो गर्ने भनिएको र अरु कुनै विकल्पमा जानसक्ने अवस्था नहुँदा दुई अध्यक्ष प्रणालीमा स्वेच्छाले सहमति भएकै बताउँदै उनले यस्तो हुँदाहुँदै पनि एकीकरणमा सामेल भएका दुई पार्टीका मुख्य नेताहरुमा रहेको व्यवस्थापकीय पक्षको कमजोरीले गर्दा प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव लैजाने र प्रतिनिधिसभा भंग गर्ने तथा भर्खर एकीकरण भएको पार्टी विभाजन गर्नेसम्मका दुर्घटना राष्ट्रले वेहोर्न पर्ने अवस्था सृजना भएको बताएका छन् ।

यतिवेला कार्यकर्ताहरुलाई तानातान गर्दै प्रतिनिधिसभा विघटनका विरुद्ध प्रचण्ड समूहका कतिपय व्यक्ति पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । साथै नीजि क्षेत्रका दर्जनभन्दा बढि कानूनविदहरु पनि विघटनका विरुद्ध रिट निवेदनसहित सर्वोच्च अदालत प्रवेश गरेका छन् । नेकपाको प्रचण्ड समूह भने सडक आन्दोलनमा गएको छ । दुबै समूह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आफ्नो हक दावी गर्दै निर्वाचन चिन्हमा समेत आफ्नो दावी गरिरहेका छन् । यी अवस्थालाई सुक्ष्मतम विश्लेषण गर्दै पार्टीको एकता जोगाउन वा पुनःएकीकरण गर्ने उद्देश्य लिएर आफूले दुबै समूहलाई समर्थन नगरी नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गरेको बताएका छन् ।

यो पार्टी विभाजनमा सामेल हुने र विभाजनलाई नेतृत्व गर्ने कुनै पनि नेतालाई यदि पुनःएकीकरणको अवस्थामा सामेल भएनन्  भने लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समृद्ध समाजवाद निर्माणलाई समर्थन गर्ने नेपाली जनताले कहिल्यै माफी नदिने पनि उनले उल्लेख गरेका छन् । एक अर्कालाई दोष दिँदै, सामान्य मान मर्यादा उल्लघंन गर्दै आफ्ना ऐतिहासिक योगदानहरुलाई च्याँखे थापेर देश र विदेशका कम्युनिष्ट विरोधीहरुलाई हसाउँदै शुरु गरेको लडाइँ बन्द गर्न पनि उनले आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप