'द एग,' दुर्घटनामा मर्ने व्यक्तिको ईश्वरसँग संवाद
घर फर्किँदै गर्दा दुर्घटनामा परी तपाईंको मृत्यु भयो ।
यो एउटा कार र ट्रक आपसमा ठोक्किएको घटना थियो । यस घटनामा विशेष उल्लेख गर्ने लायक केही कुरा थिएन, घटना नै जम्मा यत्ति थियो तपाईंको कार र सामुबाट आई रहेको ट्रक जुधे । यसमा परी तपाईंको मृत्यु भयो । यस मृत्युलाई दुर्भाग्यशाली भन्न मिल्दैन । घटनास्थलमा डाक्टरको टीम पुगेको थियो । उनीहरुले तपाईंलाई बचाउने भरसक प्रयत्न गरे तर कुनै लाभ हुन सकेन र परिणाम त्यही भयो जे हुन सक्थ्यो अथवा हुनु थियो । तपाईंको मृत्यु भयो । दुइवटा सन्तान र एउटी श्रीमतीलाई छाड़ी तपाईंले नयाँ यात्राका लागि प्रस्थान गर्नु भयो । र, यस नयाँ यात्राको क्रममा तपाईंको मसँग भेट भयो ।
मलाई हेर्नसाथ तपाईंले सोध्नु भयो - 'के भएको हो, म कहाँ छु ?'
'तपाईंको मृत्यु भइसक्यो,' मैले सामान्य स्वरमा जवाफ फर्काए । मेरा लागि यो सामान्य कुरा थियो, तसर्थ लम्बेतान जवाफ दिनुको कुनै औचित्य थिएन ।
'मैले अन्तिममा एउटा ट्रक देखेको सम्झना छ, त्यो अनियन्त्रित भई मेरो कारमा ठोकिएको थियो ।'
'हो,' मैले संक्षिप्त नै जवाफ दिए ।
'त के म मरिसकें !?’
'हो, तर यसमा दुखी हुने कुनै कारण छैन । सबैले एक न एक दिन मर्नै पर्छ । तिम्रा लागि त्यो दिन आज नै रहेछ ।'
मेरो जवाफ सुने पछि तपाईंले चारैतिर हेर्नु भयो । तर त्यहाँ केही पनि थिएन । तपाईं र म बाहेक त्यहाँ पूर्ण निर्वात थियो । अनि तपाईंले पुनः मसँग सोध्नु भयो -'यो कुन ठाउँ हो, , के म मृत्यु पश्चात स्थितिमा हो ?’
'तपाईंले ठीक बुझ्नु भयो ।'
'के हजुर ईश्वर हो'?
'हो, अहं ब्रह्मास्मि ।'
'मेरो बच्चा, मेरो पत्नी उनीहरु कुन हालतमा होलान् ? हे भगवान् ! उनीहरुको भविष्य के हुन्छ होला ?’
'मेरो विचारमा सबै ठीकै हुन्छ । तपाईं भर्खरै मृत्युलाई उपलब्ध हुनुभएको छ । तपाईंले परिवारको चिन्ता गर्नुलाई म स्वाभविक नै ठान्छु ।'
मेरो वाक्य सुनेर तपाईंले मलाई अचम्मले हेर्नु भयो । म तपाईंले सुनेको ईश्वर जस्तो थिइनँ । तपाईंका लागि म अर्को कुनै व्यक्ति जस्तै थिए । अर्को कुनै पुरुष अथवा स्त्री जस्तै । तपाईंले मलाई ईश्वरको सट्टा कुनै अनुशासित शिक्षक झै ठान्नु भयो ।
'मेरो बच्चा र श्रीमतीको भविष्य के हुन्छ ? तपाईं ईश्वर भए मलाई भन्नुस् ।’
तपाईंले तिनको चिन्ता लिनु आवश्यक छैन । उनीहरु आफ्नो जीवन बाच्छन । तपाईंका बच्चाले तपाईंलाई आदर्श पिताका रूपमा सम्झिराख्छन् । साना नै भएकोले उनीहरुले तपाईंसँग रिसाउने अथवा चिढिने मौका नै पाएनन । र, रह्यो तपाईंको श्रीमतीको कुरा ... तपाईंको मृत्युले लोकलाजका कारण उनी बाहिर बाहिर दुखी देखिए पनि मन मनै प्रसन्न छन् । तपाईंलाई विदित नै छ तपाईंको वैवाहिक जीवन सुन्दर र लोभ लाग्दो त थिएन । यसो भएको भए उनी मनको स्तरबाट नै दुखी हुने थिइन् ।
'ओह,' लामो लेग्रो तान्दै ओह भने पछि तपाईंले सोध्नु भयो - अब मलाई स्वर्ग अथवा नर्क कुन ठाँउमा पठाइन्छ ?
'दुबै मध्ये कुनै पनि होइन । तपाईंले पुनर्जन्म लिनु हुन्छ ।'
'हो र ! पुनर्जन्म हुन्छ र !! त्यसो भए हिन्दूहरुको भनाइ ठीक हो, पुनर्जन्म हुन्छ ।'
'आफ्नो आफ्नो ठाँउमा सबै धर्मले ठीक नै भन्छन्,' जवाफ दिई मैले तपाईंलाई आफूसँग हिँड्न भनें ।
शून्यमा / निर्वातमा मसँग हिड्दै तपाईंले सोध्नु भयो - 'हामी कहाँ गइरहेका छौं ?'
'काही पनि होइन, घुम्दै गफ गर्नु उभिई रहनु भन्दा राम्रो हो ।'
'जन्म - मृत्यु - पुनर्जन्म यो सबको के प्रयोजन हो ? अब मेरो पुनर्जन्म हुँदा म फेरि कोरो कागजझैँ हुन पुग्छु । यस जन्मका कुनै अनुभूति रहँदैन । मैले एकएक गरी सबै कुरा सिक्नु पर्ने हुन्छ । यस जीवनका सबै अनुभव र उपलब्धि खरानी हुन्छन् । यो व्यर्थको चक्कर किन ?'
'यस्तो होइन, तपाईंले सोचे जस्तो होइन । तपाईंभित्र आफ्ना सबै पुर्वजन्मका ज्ञान अनुभव संग्रहित हुन्छन् । यति मात्र हो तपाईंलाई तिनको स्मरण हुँदैन ।'
'के तपाईं साँचो भन्दै हुनुहुन्छ,' तपाईंले विस्मित स्वरले सोध्नु भयो ?
मैले तपाईंको काँधमा हात राख्दै भनें- तपाईंको आत्मा तपाईंको कल्पनाभन्दा धेरै धेरै नै भव्य, सुन्दर र विशाल छ । एउटा मानवीय मस्तिष्कमा उसको सानो आकार मात्रै रहेको हुन्छ । यसलाई यसरी बुझ्नुस कुनै भाँडोमा राखेको पानी तातो छ कि चिसो छ बुझ्नका लागि तपाईं औलाको टुप्पो भाँडोमा हाल्नु हुन्छ यतिबाटै तपाईंले भाँडो भित्रको समस्त वस्तुस्थिति थाहा पाउनु हुन्छ ।
तपाईं भर्खरैको शरीरमा ४८ वर्ष रहनुभयो । मृत्यु हुँदा शरीरबाट बाहिर आएकोले तपाईंलाई आफ्नो विशाल चेतनाका सबै अनुभव-स्मृति याद छैनन् तर तपाईं अहिले भएको ठाँउमा अलिक बेर रहनु भयो भने यस जन्मका मात्रै होइन सबै पुर्वजन्मका स्मृति पाउनु हुन्छ । तर कुरा के हो भने दुइ जन्मको बीचको अवधिमा आएको स्मृतिको कुनै लाभ हुन्न ।
'मैले अहिलेसम्म कति पटक जन्म लिइ सकें,' तपाईंले बाल सुलभ जिज्ञासा झै सोध्नु भयो ।
'यसको गणना गरी साध्य छैन । तपाईंले अनन्त पटक फरक फरक रूपमा जन्म लिइसक्नु भएको छ । यस पटक भने तपाईं सन ५४० मा एउटा चिनिया युवतीका रूपमा जन्म लिदै हुनुहुन्छ ।'
'के के हजुरले के भन्नुभयो ? म समयमा पछाडि गएर जन्म लिन गइरहेको छु ?'
प्राविधिक रूपमा तपाईं यस्तो भन्न सक्नु हुन्छ । तपाईं समयलाई जुन रूपमा बुझ्नु हुन्छ त्यो तपाईंले जन्म लिने संसारमा हुन्छ । मेरो सम्बन्ध जहाँबाट छ, त्यहाँ सबै कुरा बेग्लै छन् ।
'हजुरको सम्बन्ध पनि कुनै स्थानसँग छ ? ईश्वरको पनि कुनै स्थान विशेष हुन्छ '? तपाईंले आश्चर्य मान्दै सोध्नु भयो ।
'हो निश्चय पनि' मैले तपाईंलाई बुझाउने क्रममा भने - कुनै न कुनै स्थानसँग मेरो पनि सम्बन्ध छ । त्यो बेग्लै स्थान हो । त्यहाँ म जस्तै अरु पनि हुन्छन् । मलाई थाहा छ तपाईंभित्र त्यस स्थानबारे जान्ने चाहना भयो तर के गर्ने सत्य त यो हो मैले यसबारे जे भने पनि तपाईं बुझ्न सक्नु हुन्न । त्यस सम्बन्धी कुनै शब्दावली नै तपाईंसँग छैनन् ।
तपाईंको मुखबाट निराशाजनक ओह निस्कियो । तर फेरि लगत्तै तपाईंले सोध्नु भयो, 'म तपाईंले भने जस्तै फरक फरक स्थान र फरक फरक समयमा जन्मिएको छु भने कुनै बेला यस्तो पनि त भयो होला - मेरो मसँगै भेट भयो होला ।’
'निसंदेह, यस्तो त भइरहन्छ ।' तर दुबै जन्ममध्ये स्मृति मात्र वर्तमानको जीवनको रहन्छ । यसैले केही अनौठो अनुभूति हुन्न ।’
'आखिर हजुरले यो सब गर्नुको प्रयोजन चाहिँ के हो ?'
'साच्चै, तपाईं यसबारे जान्न चाहनु हुन्छ । के तपाईं साँच्चै नै मसँग जीवन रहस्य बारे जानन चाहनु हुन्छ ? तपाईंलाई लाग्दैन तपाईंले धेरै पटक मसँग यो प्रश्न सोधिसक्नु भएको छ ! यो धेरै पुरानो प्रश्न जस्तो लाग्दैन तपाईंलाई ?'
'जे भए पनि म यसलाई जान्न चाहन्छु,' तपाईंले ढीपि नै गर्नु भयो ।
त्यसो भए एक पटक फेरी सुन्नुस् - 'यस जीवनको अर्थ, यस समस्त ब्रह्माण्डको निर्माणको उद्देश्य फगत तपाईंलाई परिपक्व गर्नु हो ।'
'तपाईंको आशय मानवता हो ? के सबै मानवलाई परिपक्व गर्नु नै उद्देश्य हो ?'
'होइन, म मात्र तपाईंको कुरा गरिरहेको छु । यो समस्त ब्रह्माण्ड मैले तपाईं का लागि बनाएको हुँ । प्रत्येक जन्ममा तपाईं अलि अलि परिपक्व बन्नु हुन्छ भनौ एउटा खुड्किलो उकलिनु हुन्छ ।'
'म मात्रै किन ? संसारका अरु सबैको के हुन्छ ?'
'अरु कोही छदै छैन । यस संसारमा तपाईं र म बाहेक कोही छैन । हामी दुइजना मात्रै छौ यस संसारमा ।'
'त्यसो भए संसारमा देखिएका यति विघ्न मानिस को हुन् ? संसारमा अरबौं मानिस छन् ।'
'ती सबै मानिस तपाईं नै हो । ती सबै तपाईं कै विभिन्न रूप-जन्म हुन, तत्वमसि .. ।'
'पर्खिनुस् पर्खिनुस्, संसारका सबै मानिस मेरै रूप हुन ?'
'तपाईंले ठीक बुझ्नु भयो' मैले धाप मार्दै भने ।
'जुनसुकै कालमा जन्मिएको जुनसुकै व्यक्ति म नै थिए, म नै हुँ !’
'यति मात्र होइन भविष्यमा जन्मिने सबै पनि तपाईं नै हो ।'
तपाईंले भन्नुभयो - 'म नै अब्राहम लिंकन थिए ।'
'मैले थपे, जॉन विल्क्स बूथ पनि तपाईं नै हुनु हुन्थ्यो ।'
'हिटलर पनि म नै थिएँ ?’ अचम्म मान्दै तपाईंले सोध्नु भयो ।
मैले थपें- 'हिटलरबाट हत्या गरिएका करोडौं मानिस पनि तपाईं नै हुनु हुन्थ्यो ।'
'जीसस क्राइस्ट पनि म नै ।'
'उनका अनुयायी पनि तपाईं नै ।'
तपाईं शान्त भएर विचार मग्न हुनुभयो भनौं अर्को प्रश्नको चिन्तनमा लाग्नु भयो । तपाईंलाई शान्त पाएर मैले भनें- प्रत्येक पटक जब तपाईं कसैलाई दुःख दिनु हुन्छ, शोषण गर्नु हुन्छ । बुझ्नुस् आफैँलाई दुःख दिनु हुन्छ, आफ्नै शोषण गर्नु हुन्छ । जब कसैप्रति दया देखाउनु हुन्छ त्यों दया भाव तपाईंले आफूप्रति नै देखाएको हुन्छ । संसारमा कुनै पनि मनुष्यले गरेका सुख -दुःख, आशा- निराशा, हिंसा- दया आदि सबै अनुभव तपाईंका आफ्नै अनुभव हुन् ।
आफ्नो दीर्घ मौनतालाई भंग गर्दै तपाईंले सोध्नु भयो - 'आखिर किन ? यो सब गर्नु को उद्देश्य के हो ?'
कुनै दिन तपाईं पनि म जस्तै बन्न सक्नु होस् । किनकि तपाईंको वास्तविक स्वरुप यही नै हो । तपाईं म जस्तै हो, म नै हो । आत्मा परमात्मा एक नै हो । तपाईंलाई यही अनुभव नभएसम्म यो प्रक्रिया चलिरहन्छ ।
'हे भगवान् ! तपाईंले अविश्वास गर्दै भन्नु भयो - हजुरको आशय म ईश्वर हुँ, अहम् ब्रह्मास्मि !!'
'हो पनि, होइन पनि, मैले तपाईंलाई बुझाउने हेतुले भने । तपाईं अहिले आफुलाई भ्रूण मात्र भन्न/बुझ्न सक्नु हुन्छ । जीवनका अनेको चक्र पार गर्दै एक दिन तपाईं यति परिपक्व बन्नु हुन्छ र तपाईंले स्वयं उद्घोष गर्नु हुन्छ त्वं तदसि ।
अर्थात यो समस्त ब्रह्माण्ड...
तपाईंको वाक्य मैले पूरा गर्दै भने हिरण्यगर्भ हो, अण्डा हो । यस पछि मैले तपाईंलाई समय समाप्त भएको जानकारी दिदै अर्को जीवन यात्रामा पठाई दिए ।
अमेरिकी लेखक एन्डी वियरको कथा ‘द एग’को ज्ञानमित्रद्वारा गरिएको नेपाली रुपान्तरण
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
पूर्वी युगान्डामा भूस्खलन, १३ जनाको मृत्यु, ४० घर पुरियो
-
पशुपतिमा बत्ती बाल्न र सद्बिज छर्न कुनै शुल्क नलाग्ने