शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संसद विघटनको बहस सर्वोच्चमा : प्रभाव काँग्रेस महाधिवेशनमा

शुक्रबार, २४ पुस २०७७, २२ : १९
शुक्रबार, २४ पुस २०७७

काठमाडौं । नेपाली काँग्रेस १४ औं महाधिवेशनको नयाँ मितिको खोजीमा छ । पछिल्लो सयम शीर्ष नेताबीच महाधिवेशनको नयाँ मिति सन्दर्भमा छलफल जारी छ । छलफलको कसीमा देश उत्पन्न संवैधानिक संकट र पार्टीले भोग्ने वैधानिक संकटलाई राखिएको छ । संसद विघटनबारे सर्वोच्च अदालतको फैसालापछिको नीति र ०७८ भदौभित्र महाधिवेशन कसरी गर्ने सकिने काँग्रेसमा बहसको विषय छ ।  पुस ८ बाट प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयमाथि चुनौती दिई परेका १३ वटा रिट निवेदनहरुमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा नियमित सुनुवाइ जारी छ ।

काँग्रेसमा देखिएको आन्तरिक अविश्वास र कोभिड–१९ संक्रमणका कारण पूर्व निर्धारित फागुन ७–१० को मितिमा महाधिवेशन लागि आधारभूत काम हुन सकेन । त्यसैमा ५ पुसमा सरकारले प्रतिनिधिसभा विघटन गरेपछि राजनीति संकट थपिएको छ । संसद विघटनमाथि सर्वोच्चमा जारी बहसलाई मध्यनजर गर्दै काँग्रेस महाधिवेशनको नयाँ तिथि मिति खोजीमा जुटेको छ । 

फागुन ७ को प्रजातन्त्र दिवसको विकल्पमा १५ जेष्ठको गणतन्त्र दिवस र साउन ६ को बिपी स्मृति दिवसमाथि छलफल भएको बुझिएको छ । यता क्रियाशील सदस्यताको नवीकरण र वितरणका लागि १९ पुसको केन्द्रीय कार्यसमिति बैठकले थप दुई महिनाको समय स्थानीय तहलाई दिएको छ । बैठकले माघ मसान्तसम्म क्रियाशील सदस्यताको सूची पठाउन जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको छ ।

भदौ मसान्तसम्म क्रियाशील सदस्यता वितरणले गति नलिएपछि मंसिर मसान्तसम्मको अवधि छुट्याइएको थियो । उक्त समयसीमा अर्घाखाँची जिल्लाले मात्रै क्रियाशील सदस्यताको वितरणरनवीकरण सकेको थियो ।
क्रियाशील सदस्यता अध्यावधिक गर्ने अवधि थप गर्ने निर्णय गरे पनि काँग्रेसले महाधिवेशनका लागि बुथ, वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय गरी आठ चरणका महाधिवेशनका विषयमा कुनै निर्णय गरेको छैन ।

वर्तमान कार्यकालिका अनुसार तल्लो तहको अधिवेशन पुस ६ बाट सुरु भई माघ ६ गतेसम्म सक्ने भनिएको छ । यता आगामी १९ फागुनमा सभापति देउवा नेतृत्वको कार्यसमितिको म्याद विधानतः थप गरिएको एक वर्ष पूरा हुँदैछ ।

नियमित तालिकामा महाधिवेशन गर्न नसक्दा विधानतः एक वर्ष म्याद थपिएकोमा उक्त अवधिमा पनि महाधिवेशन गर्न नसके संविधानतः अर्को ६ महिनाभित्र महाधिवेशन गराउनुपर्ने सुविधा बाँकी रहन्छ । देउवा नेतृत्वको कार्यसमितिले सोही सुविधा उपभोग गरे काँग्रेस महाधिवेशन भदौतिर पुग्ने छ ।

संसद विघटनको प्रभाव 

तर महाधिवेशनको नयाँ कार्यतालिकामाथिको छलफलमा सहभागी नेताहरु भदौमा नपुग्ने दाबी गर्छन् । तर काँग्रेस उपसभापति विमलेन्द्र निधिले आन्तरिक छलफल भइरहेको बताए । ‘राष्ट्रिय राजनीति के हुन्छ ? त्यसलाई पनि पर्खिएकै हो । महाधिवेशन हामीले गर्नु नै छ । माघ मसान्तमा क्रियाशील सदस्यताको टुंगो लगाउने निर्णय भएको छ । त्यही अनुसार आगामी केन्द्रीय कार्यसमितिमा नयाँ कार्यतालिका आउन सक्छ । यस  विषयमा आन्तरिक रुपमा रामचन्द्रजी, सिटौलाजीसँग छलफल भइरहेको छ । सबैका बीच सहमति भयो भने नयाँ कार्यतालिका आउछ,’ उनले भने ।

सर्वोच्च अदालतबाट संसद विघटनबारे जे फैसला आएपनि जेष्ठमा महाधिवेशन गर्ने सकिने निधिको बुझाइ छ ।  उनले भने, ‘फागुन सातमा नहुने निश्चित भएकाले अब जेष्ठ १५ मा गरौँ भन्ने मेरो अहिले पनि भनाइ हो । संसद पुनस्र्थापना भइहाले राम्रै भैहाल्यो । निर्वाचन नै भए पनि जेष्ठमा गर्न सकिन्छ कि भन्ने विषयमा छलफल गरिरहेका छौँ ।’

यस्तै केन्द्रीय सदस्य रमेश लेखकले जेष्ठमा महाधिवेशनमा लागि कोशिस भइरहेको बताए । ‘फागनुमा नहुने निश्चित नै भइहाल्यो । अहिले समयमा गर्नुपर्ने काम भएन भने जेष्ठमा गर्ने कुरा नि गाह्रो हुन्छ । तर हामीले जेष्ठमा गर्ने कोशिस गर्ने हो,’ सभापति देउवाका विश्वास पात्रसमेत रहेका लेखकले भने, ‘हाम्रो एजेण्डा महाधिवेशन हो । तर देश निर्वाचन तर्फ जाने वा फेरि संसदमा फर्किने सबैको ध्यान अदालततिर छ । देश निर्वाचनमै गए पनि जेष्ठको अन्तसम्म महाधिवेशन गर्न कोशिस रहन्छ ।’

चुनावी र महाधिवेशन राजनीतिक अभियान भएकाले दुबै अभियानलाई सँगै लिएर जान सकिने उनको बुझाइ छ । ‘चुनाव र महाधिवेशनलाई सँगै लग्छौँ । दुबै राजनीतिक अभियान हो । दुबैलाई सँगसँगै लिएर जान सकिन्छ । बैशाखमा चुनाव भए पनि जेष्ठमा महाधिवेशन गर्न सकिन्छ । जेष्ठको अन्तिमसम्म भए पनि महाधिवेशन गर्नुपर्छ,’ लेखकले भने ।

तर सस्थापन इतर केन्द्रीय सदस्य मिनेन्द्र रिजालले भने अब साउन ६ गते बिपी स्मृति दिवसका दिन महाधिवेशन गर्ने गरी निर्णय गर्दा राम्रो हुने बताए । ‘मलाई लाग्छ साउनमा महाधिवेशन गर्न सकिन्छ । साउन ६ गते बिपी स्मृति दिवसका दिन महाधिवेशन गर्ने गरी निर्णय गर्दा राम्रो हुन्छ जस्तो लाग्छ । फागुनमा गर्न सक्ने अवस्था छैन । भदौमा पुर्याउन हुँदैन । आगमी २७ गते बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तय गर्ला ।’

तरल राजनीतिक अवस्थामा देशको राजनीतिक कसरी जान्छ भन्ने कुराले जेष्ठमा महाधिवेशन गर्ने कुराले प्रभावित हुने उनको भनाइ छ ।
‘जेष्ठमा गर्न सकिए एकदमै राम्रो । तर देशको राजनीति तरल अवस्थामा छ । तरल राजनीतिक अवस्थामा देशको राजनीतिक कसरी जान्छ ? त्यसले महाधिवेशलाई प्रभावित गर्छ,’ रिजालले भने,‘अदालतको निर्णय चाँडै आयो, संसद पुनस्र्थापना भएर व्यवस्थित रुपमा काम थाल्यो भने हामीलाई महाधिवेशनको मात्र चटारो हुन्छ । जेष्ठमै महाधिवेशन गर्न सकिने सम्भावना हुन्छ । देशको राजनीति अन्य बाटोमा धकेलियो भने साउन भन्दा अगाडि कसरी हुन्छ ?’

रिजालकै जस्तो मत केन्द्रीय सदस्य गगन थापाको पनि छ । ‘अब हाम्रो महाधिवेशन गर्ने सकिने भनेको साउन–भदौमा हो ।’ तर त्यो सबै कुरा माघ मसान्तसम्म क्रियाशील सदस्यताको काम सम्पन्न हुन्छ हुँदैन भन्नेमा भर पर्ने थापाले बताए ।

‘महाधिवेशनको तिथि मितिका पछाडि नलागेर समस्या नभएको जिल्लाहरुबाट क्रियाशिल सदस्यता टुंग्याउन हामी सबैले मिहेनत गर्रौँ भने महाधिवेशन मजाले हुन्छ । केही समस्या ग्रहस्त भएको जिल्ला बाहेक अरु जिल्लोको क्रियाशिल माघमा आउछ । केही नआएको जिल्लाका जिल्लालाई थप दबाब हुन्छ । १५/२० दिनमा उनीहरु पनि पठाउन बाध्य हुन्छन्,’ थापाले भने ।

उनका अनुसार चुनाव वा संघर्षले अलमल्याए पनि त्योबीचमा क्रियाशील छानबिनको काम हुन्छ । ‘क्रियाशील टुंगिएपछि हाम्रो भोटर लिस्ट टुंगियो । त्यसपछि एकै पटक ६ हजार बढी वडामा चुनाव हुन्छ । पालिका, क्षेत्र, जिल्लामा पनि एकै दिन हुन्छ । अनि काठमाडौंमा महाधिवेशन गर्ने हो । त्यसैले काँग्रेस महाधिवेशन हुने नहुने कुरा माघमा तोकेको समयभित्र जिल्लाले क्रियाशील बुझाइदियो । केही महिना ढिलो भए पनि अधिवेशन हुन्छ,’ इतर पक्षसँग निकट थापाले भने ।

यद्यपि माघमा क्रियाशील सदस्यता टुंग्याउँदा संसदको पुनस्र्थापना भएको खण्डमा जेठमा पनि अधिवेशन गर्न सकिने उनको बुझाइ छ । थापाले भने, ‘अदालतको निर्णयले काँग्रेस महाधिवेशन जेष्ठ कि भदौ भन्ने कुरालाई असर गर्छ । तर काँग्रेसको महाधिवेशन हुने कि हुने कुरा क्रियाशिल सदस्याताको कार्यतालिका अनुसार काम गर्न सक्छ कि सक्दैन मुल कुरा हो ।’

क्रियाशील सदस्यता अब टुंगिएला ?

महाधिवेशनबारे खडा भएको अनिश्चयको दोष केन्द्रको सभापतिलाई मात्र लगाएर नहुने उनको भनाइ छ । ‘अधिवेशनबारे पार्टीको केन्द्रीय सभापतिलाई प्रश्न गर्ने ? तर जिल्लाले क्रियाशिल नबुझाउने ? जिल्लाले क्रियाशिल बझाएन भने अदालतले जे सुकै निर्णय गरेपनि हाम्रो अधिवेशन अनिश्चय हुँदै जान्छ । कार्यतालिलाई अनुसाशित ढंगले मानिराखेको अवस्था छैन,’ थापाले भने ।

यता लेखकले भने अब क्रियाशिल टुंगिन्छ भन्नेमा आशावादी भएको बताए । ‘हिजो कोभिडका कारण समस्या थियो । अहिले राजनीतिको तपक्रमले कोभिडको डर कम गराइदिएको छ । अब भनेको मितिमा केही क्रियाशिलको काम सकिन्छ होला । क्रियाशिल टुंगिन्छ भन्नेमा म आशावादी छु,’ उनले भने । यस्तै पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले क्रियाशील सदस्यताको वितरण र नवीकरणको कामले तीव्रता पाएको बताए ।
पार्टीको वेबसाइटमा जिल्लाहरुबाट पार्टीका क्रियाशील सदस्यताको नामको सूची राख्ने काम धमाधम भइरहेको उनले बताए । 

उनका अनुसार केन्द्रमा सूची मात्रै पठाउँदा १० लाख सदस्यताको नाम टाइप गर्न नै चार महिना लाग्ने अवस्था थियो । नयाँ प्रविधि अनुसार जिल्लाबाट सिधै टाइप गरेर वेबसाइटमा सदस्यताको सूची राख्न सकिने भएकाले महाधिवेशनको प्रक्रिया छिटो अघि बढ्ने र केन्द्रलाई पनि बोझ घट्ने पौडेलले सुनाए । विवाद नभएका जिल्लाहरुमा क्रियाशील सदस्यताको काम धेरै अघि बढिसकेको उनको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप