बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको सुदूरपश्चिम भ्रमणबारे मुख्यमन्त्री नै ‘बेखबर’ !

शुक्रबार, २४ पुस २०७७, १३ : ३१
शुक्रबार, २४ पुस २०७७

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी पुगेका छन् । नेकपामा देखिएको राजनीतिक विभाजनसँगै आफू पक्षका कार्यकर्तालाई सम्बोधन गर्न उनी पहिलो पटक काठमाडौँ बाहिरको कार्यक्रममा सहभागी हुँदैछन् ।

प्रधानमन्त्री ओलीले धनगढीमा शुक्रबार आफ्नो पक्षका कार्यकर्ताको भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । केहीबेर अघि धनगढी आइपुगेका उनलाई आफ्नै पक्षका नेता तथा कार्यकर्ताले विमानस्थलमा स्वागत गरे पनि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, प्रदेशका मन्त्रीहरु भने स्वागतमा सहभागी भएनन् ।

प्रधानमन्त्रीको भ्रमणबारे मुख्यमन्त्री बेखबर

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीका अनुसार प्रधानमन्त्री ओलीको भ्रमणबारे मुख्यमन्त्रीलाई कुनै जानकारी दिइएको छैन ।

‘भ्रमणबारे प्रदेश सरकारलाई जानकारी नै गराइएको छैन, खासगरी मुख्यमन्त्रीलाई भ्रमणबारे जानकारी दिनुपर्नेमा त्यस्तो जानकारी नै दिइएको छैन,’ उनले भने, ‘प्रधानमन्त्रीको भ्रमणबारे मुख्यमन्त्री बेखबर हुनुहुन्छ, मिडियाबाट हामीले प्रधानमन्त्री आएको जानकारी पाएका छौँ ।’

‘प्रधानमन्त्रीसँग भेटघाटको कार्यक्रम छैन’

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव ओलीका अनुसार प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले भेट गर्ने कार्यक्रमसमेत छैन । ‘औपचारिक जानकारी नै नगराइएपछि प्रधानमन्त्रीलाई त्यसै भेट गर्न जाने कुरा भएन,’ उनले भने, ‘त्यसमा पनि उहाँ प्रदेश सरकारको निमन्त्रणामा आउनुभएको होइन, पार्टीको एउटा गुटको भेलामा आउनुभएका कारण भेटवार्ताको कार्यक्रम छैन ।’

प्रधानमन्त्री ओलीले धनगढीको खुलामञ्चमा आयोजना हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । नेकपा राजनीतिक रुपमा विभाजन भएसँगै आफ्नो सबैभन्दा कमजोर पकड रहेको सुदूरपश्चिम प्रदेशमा प्रधानमन्त्री ओलीले जनसभालाई सम्बोधन गर्ने कार्यक्रम राखेका हुन् ।

टायर बालेर विरोध प्रदर्शन

प्रधानमन्त्री ओली धनगढी आउँदा सडकमा टायर बालेर विरोध प्रदर्शन गरिएको छ । नेकपाकै प्रचण्ड–माधव पक्षका कार्यकर्ताले सडकमा टायर बालेर प्रधानमन्त्री ओलीको भ्रमणप्रति विरोध जनाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप