कोरियामा नेपाली विद्यार्थीले पनि इ–९ भिसा पाउने
दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियन भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिने भिसा (प्रवेषाज्ञा) हो ।
यहाँ अध्ययनरत विज्ञान र इञ्जिनीयरिङ विषयमा स्नातक प्राप्त विदेशी विद्यार्थीलाई रोजगारी प्रदान गर्ने हेतुले सो भिसा प्रदान गर्न लागिएको यहाँको श्रम मन्त्रालयलाई उद्यृत गर्दै प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले बताए ।
यहाँको रोजगार तथा श्रम मन्त्रालयले तयार पारेको अवधारणाका विषयमा कानून मन्त्रालयसँगको समन्वयमा यो वर्षभित्र नयाँ कानून कार्यान्वयनमा ल्याउने गरी काम शुरु भएको छ । यस अवधारणालाई कार्यान्वयन गर्नुअघि कानून मन्त्रालयले सर्वेक्षण गर्नेछ र आवश्यक निर्णय लिनेछ ।
इपिएस प्रक्रियामार्फत रोजगारीका लागि कोरिया आउने प्रवासी श्रमिकले पहिलोपटक चार वर्ष १० महिनाको लागि भिसा प्राप्त गर्दछन् र सो अवधिको समाप्तिपछि श्रमिक अनिवार्य स्वदेश फर्किनुपर्ने प्रावधान छ । प्रवासी विद्यार्थीलाई प्रदान गर्ने भनिएको भिसामा भने विद्यार्थीका लागि पनि एउटै नियम हो या अन्य नियम हो भन्ने कुरा भने थाहा हुन सकेको छैन । यस विषयमा यहाँको कानून मन्त्रालय र रोजगार मन्त्रालयले संयुक्त रुपमा निर्णय गरी लागू गर्ने छन् ।
हाल इपिएसमार्फत इ–९ भिसामा आएका नेपाली औद्यौगिक र कृषि क्षेत्रमा श्रम गरिरहेका छन् । विद्यार्थीका लागि पनि दिने भनिएको भिसा सोही क्षेत्रमा हुनेछ । यदि यस अवधारणा कार्यान्वयन भएमा दक्षिण कोरियामा एक हजार ५०० को सङ्ख्यामा रहेका स्नातक प्राप्त नेपाली विद्यार्थीले इपिएस प्रक्रियामार्फत कोरियामा आएर श्रम गरिरहेका श्रमिकले झैँ रोजगारीको अवसर पाउने छन् ।
यहाँका केही विद्यार्थीले भने यो अवधारणा स्वागतयोग्य नभएको बताएका छन् । अध्ययन गरेर दक्ष भएका विद्यार्थीलाई उनीहरूको अध्ययनकै क्षेत्रमा अवसर दिनुपर्नेमा मजदूरको भिसा दिने अवधारणा उचित नभएको भनाइ उनीहरूको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल
-
पूर्व कर्मचारीहरुसँग देउवाले भने– कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस्
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !