छाडा चौपाया व्यवस्थापन गर्न परमादेश
उच्च अदालत सुर्खेतले प्रदेश राजधानी वीरेन्द्रनगरका सडक तथा बजार क्षेत्रमा रहेका छाडा पशु चौपायाको उचित व्यवस्थापन गर्न सरोकारवालाका नाउँमा परमादेश जारी गरेको छ । अधिवक्ता शेरबहादुर खत्रीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिकालगायत नाउँमा परमादेश जारी गरेको हो ।
उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र सुवेदी र राजेन्द्र खरेलको संयुक्त इजलासले छाडा पशुचौपाया व्यवस्थापन गर्न विपक्षीका नाउँमा परमादेश जारी गरेको अदालतका नायब सुब्बा धर्मराज न्यौपानेले जानकारी दिए । सुर्खेतका अधिवक्ता खत्रीले गत मङ्सिरमा सार्वजनिक सडक तथा बाटोमा छाडिएका छाडा गाई तथा पशुचौपायाको उचित व्यवस्थापनको माग गर्दै रिट निवेदन दायर गरेका थिए ।
रिट निवेदनमा कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वीरेन्द्रनगर नगरपालिका कार्यालय, प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतलाई विपक्षी बनाइएको थियो ।
अधिवक्ता खत्रीले छाडा गाई तथा पशुचौपाया व्यवस्थापनमा प्रदेश सरकार र स्थानीय सरकार निरीह देखिएको भन्दै अदालतमा निवेदन दर्ता गर्नुपरेको बताए ।
अदालतले विपक्षीका नाउँमा परमादेश जारी गरेपछि प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकालाई छाडा पशु व्यवस्थापनमा दबाब बढेको छ । पछिल्लो समय गाईले दूध दिँदासम्म पाल्ने र दूध दिन छाडेपछि सडकमा छाड्ने प्रवृत्ति बढ्दै गएको छ । हाल वीरेन्द्रनगर र आसपासका क्षेत्रमा झण्डै २०० छाडा पशुचौपाया रहेको तथ्याङ्क छ ।
छाडा अवस्थामै छाडिएका पशुचौपायाका कारण सडक दुर्घटनाको जोखिम बढेको छ । कानूनमा छाडा पशु चौपाया व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिइएको तर छाडा पशु चौपाया व्यवस्थित गर्ने ठाउँ र पालन गर्ने क्षमता नपाउँदा नगरपालिकाले व्यवस्थापन गर्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय