शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश सरकारमा प्रचण्ड–माधव पक्षकै पकड

बिहीबार, २३ पुस २०७७, १० : ०८
बिहीबार, २३ पुस २०७७

पंखबहादुर शाही

सुर्खेत । नेपाल कम्यृनिष्ट पार्टी (नेकपा) राजनीतिक रुपमा दुई ध्रुवमा विभाजित भएसँगै प्रदेश सरकारको स्थायित्वलाई लिएर विभिन्न अड्कलबाजी भइरहँदा कर्णाली प्रदेश सरकारमा नेकपाको प्रचण्ड–माधव पक्षले आफ्नो पकड बढाएको छ ।

कर्णाली प्रदेशसभाका कुल ४० सदस्यमध्ये नेकपाका ३३ जना सांसद छन् । केन्द्रमा आएको फुटसँगै कर्णाली प्रदेशसभामा रहेका नेकपाका ३३ सांसदमध्ये ‘प्रचण्ड—माधव’  पक्षमा १९ जना र ओली पक्षमा १४ जना थिए ।

ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल, उद्योग, पर्यटन तथा वातावरण  मन्त्री नन्दसिंह बुढा र सांसद पदमबहादुर रोकायाले खेमा परिवर्तन गरेपछि अब प्रचण्ड–माधव पक्षमा २२ जना सांसद पुगेका छन् । योसँगै मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको प्रदेश सरकारको स्थायित्वका लागि प्रदेशसभामा आवश्यक बहुमत पनि पुग्ने देखिएको छ ।

प्रतिनिधिसभामा हुम्लाबाट प्रतिनिधित्व गर्ने छक्कबहादुर लामाले केहीदिन अघि खेमा परिवर्तन गरेका थिए । ‘प्रचण्ड–माधव’ खेमाका उनले नेकपामा आएको तरङ्ग पश्चात ओली खेमातर्फ झुकाव राखेका थिए । तर केही दिनमै उनी पुनः प्रचण्ड–माधव खेमामै फर्किए ।

प्रदेशमा पनि पछिल्लो समय ओली पक्षका तीनजनाले खेमा परिवर्तन गरी प्रचण्ड–माधव पक्षलाई साथ दिएकोमा उनीहरु पनि कतै पुरानै खेमामा फर्कने त होइनन् भन्ने आशंका कायम छ । यद्यपि प्रदेश सरकारको सामाजिक विकास मन्त्री रावल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री बुढाले प्रदेश सरकारको स्थायित्वका लागि आफूहरु प्रतिवद्ध रहेको बताएका छन् ।

योसँगै तत्कालका लागि कर्णाली प्रदेश सरकारमा ओली समूहको प्रतिनिधित्व शून्य छ भने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा रहेको कर्णाली सरकार पूर्णरुपमा सुरक्षित भएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना कति ?

प्रदेशसभामा प्रचण्ड–माधव पक्षको नेकपाका प्रमुख सचेतक सीता नेपालीले तत्काल मन्त्रिपरिषद पुनर्गठनको सम्भावना नरहेको बताइन् । उनले प्रदेश सरकारसँग पूर्ण बहुमत रहेको दावीसमेत गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप