बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेललाई ‘कर्मयोगी बद्री पहाडी पुरस्कार’

बुधबार, २२ पुस २०७७, १६ : ४२
बुधबार, २२ पुस २०७७

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ पूर्व प्रमुख निर्वाचन आयुक्त एवं ख्यातिप्राप्त पूर्व प्रशासक भोजराज पोखरेललाई प्रदान गरिएको छ ।
बुधबार शान्ति समाजद्वारा काठमाडौंमा आयोजित पुरस्कार अर्पण कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले पोखरेललाई १ लाख १० हजार पुरस्कार राशीसहित सम्मानपत्र प्रदान गरेका हुन् ।
यसैगरी ८ वटा सामाजिक संस्थाले पनि सोही कार्यक्रममा पोखरेललाई सम्मान गरेका थिए ।

पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा निर्वाह गरेको उल्लेखनीय भूमिका र विशिष्ट योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले पोखरेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।  
२०१० साल जेठ २ गते खोटाङ जिल्लाको ऐसेलुखर्कमा जन्मिएका पोखरेलले २०६४ चैत महिनामा जटिल परिस्थितिमा पहिलो संविधानसभा निर्वाचन सम्पन्न गर्न प्रमुख निर्वाचन आयुक्तको रुपमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । यसैगरी तीन दशकभन्दा लामो सरकारी सेवाका दौरान उनले विभिन्न मन्त्रालयको सचिवको दायित्व पनि वहन गरेका थिए ।

पुरस्कार÷सम्मान ग्रहण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले सार्वजनिक सेवामा रहदाँ होस् वा निजी जीवन निर्वाहको क्रममा, बद्री पहाडीको सक्रियता सदैव समाजलाई सकारात्मक बाटोमा हिँडाउने भूमिकामा केन्द्रित रहेको बताए । उनले त्यतिबेला आफूजस्ता कयौ युवाको उत्प्रेरकको रुपमा बद्री पहाडी रहेको चर्चा गरे ।

नेपालको वर्तमान सन्दर्भको चर्चा गर्दै पोखरेलले हरेक क्षेत्रको अति राजनीतिकरण, प्रजातन्त्रको खम्बाका रुपमा रहेका संस्थाहरुको अति क्षयीकरण तथा तेजोबध हुनु मुलुकको अवनतिको कारण रहेको बताए । अहिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको साख गिरेको पनि उनले बताए ।  

शान्ति समाजका सभापति उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, कोषाध्यक्ष रामकृष्ण बराल, लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णु गौतम, शान्ति समाजका सदस्य लक्ष्मी रानाले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा पुरस्कृत व्यक्तित्व पोखरेलबारे वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।
सोही कार्यक्रममा भोजराज पोखरेलले कल्याणकारी कार्यमा समर्पित सेवामुखी संस्था लक्ष्मी प्रतिष्ठानलाई आफ्ना तर्फबाट २ लाख २० हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेका थिए ।

मानव अधिकार तथा शान्ति समाजद्वारा समाजसेवा÷सार्वजनिक प्रशासनको क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई प्रत्येक वर्ष १ लाख १० हजार नगद र सम्मानपत्रसहित पुरस्कृत÷सम्मानित गर्ने उद्देश्यले २०७६ सालमा ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ स्थापना गरिएको थियो । यसका लागि पहाडी परिवारबाट १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप