शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विकट कैलाशमा १० श्ययाको अस्पताल बन्दै

बुधबार, २२ पुस २०७७, १४ : २०
बुधबार, २२ पुस २०७७

मकवानपुर । स्वास्थ्योपचारलाई व्यवस्थित एवं प्रभावकारी तथा भौतिक पूर्वाधारले सम्पन्न बनाउने उद्देश्यले मकवापुरको उत्तरी विकट क्षेत्र कैलाश गाउँपालिकामा १० श्ययाको अस्पताल बन्ने भएको छ । अस्पतालका १४ भवनसहित आधुनिक पूर्वाधार निर्माण द्रुत गतिमा भइरहेको छ । 

सङ्घीय, प्रान्तीय, स्थानीय सरकार र गैरसरकारी संस्थाको आर्थिक लगानीमा उक्त  स्वास्थ्य भवन निर्माण भइरहेको कैलाश गाउँपालिकाले जनाएको छ । वर्तमान परिस्थितिमा आफ्नो भवन नहुँदा समस्या भौग्दै आएका  बिरामी तथा स्वास्थ्य संस्थालाई भवन निर्माणपश्चात् स्वास्थ्य उपचार सेवामा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष टङ्क मोक्तानले विश्वास व्यक्त गरे ।
 
विकट क्षेत्रका रुपमा रहेको सो गाउँपालिकाको सबै वडामा स्वास्थ्य संस्थाको भवन निर्माणले स्थानीयवासीमा उत्साह जागेको र अन्य क्षेत्रमा बिरामीलाई उपचारका लागि जानुपर्ने बाध्यता हटेको बताइएको छ । उक्त गाउँपालिका–२, ४, ६, ८, ९ तथा १० मा रु ४२ लाखका दरले सामुदायिक स्वास्थ्य इकाइ भवन निर्माण भइरहेका छन् ।

त्यसैगरी कैलाशमा नेपाल सैनिक श्रीमती सङ्घको रु ६८ लाखको  लगानीमा बर्थिङ सेन्टर निर्माण हुँदैछ । रु ६० लाख सङ्घले र रु आठ लाखको सामग्री गाउँपालिकाले बेहोर्ने गरी उक्त बर्थिङ सेन्टर निर्माण हुने बताइएको छ । कैलाशको कालीटारमा बहुवर्षीय योजनाअनुसार १० श्ययाको अस्पताल निर्माण भइरहेको उनले बताए । गाउँपालिकाको गोगने स्वास्थ्य चौकी र डाँडाखर्क स्वास्थ्य चौकीको भवन पनि निर्माण हुँदैछ । साथै कैलाशको छ वटा वडामा सामुदायिक स्वास्थ्य इकाइका लागि बेग्लाबेग्लै स्थानमा छवटा भवन निर्माण भइरहेको मोक्तानको भनाइ छ । 

साङ्ग्रिला डेभलपमेन्ट संस्थाले रु ३५ लाखको लगानीमा आधुनिक बर्थिङ सेन्टर निर्माण गर्ने भएको छ । कैलाश–२ र ८ मा गाउँघर क्लिनिकका दुईवटा भवन निर्माण शुरु गरिएको छ । स्थानीयवासी शृङ्खला खतिवडाले निर्माण गरेको निको स्वास्थ्य चौकी भवन निर्माण भई सञ्चालनमा आएको बताइएको छ । त्यहाँ कर्मचारीलाई आवाससहितको भवन निर्माण भएको हो ।

हाल गाउँपालिकामा अस्थायी परिवार नियोजनको शिविरसमेत सञ्चालन गरी महिलामा चेतना जागृत गराउनाका साथै स्वास्थ्य सेवासमेत दिइएको थियो । कैलाश गाउँपालिकाका स्थानीय भोला श्रेष्ठले वर्तमान अध्यक्ष जनताको सेवासुविधा दिनेतर्फ गम्भीर रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप