शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पानी नपर्दासम्म वायु प्रदूषण कायमै रहने, सचेत रहन विज्ञको सुझाव

बुधबार, २२ पुस २०७७, ११ : ३५
बुधबार, २२ पुस २०७७

मङ्गलबार काठमाडौँ उपत्यका विश्वकै सबैभन्दा प्रदूषित शहरको रुपमा कायम भयो । लामो समयसम्म हावा नचल्दा र पानी नपर्दा धुलो र धुँवाको तह वायुमण्डलमा जमेका कारण यो अवस्था आएको वातावरणविद् तथा मौसमविद्हरुले बताएका छन् ।

काठमाडौँ मात्र हैन नेपालका अन्य ठूला शहरहरुमा पनि वायु प्रदूषणको अवस्था खतराजनक अवस्थामा पुगेको छ । वातावरणविद्हरु राजधानीमात्र नभएर उपत्यका बाहिरका शहरहरुको अवस्थापनि बिग्रदै गइरहेको खतराको अवस्था नजिक पुगेको बताउँछन् ।

मंगलबार काठमाडौँको वायु प्रदूषणको मापान इकाई एक्यूआई ४३७ पुगेर  खतरनाक तह पार गरेको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार एक्यूआई २५ हुनुपर्ने र ५० सम्मलाई राम्रो मान्ने गरेको छ । हिजोजस्तै आजपनि काठमाडौँ विश्वको प्रदूषित शहर मध्येमा रहेको छ । आइक्यूएयरको आँकडा अनुसार हावाको गुणस्तर एक्यूआई २६४ पुगेको छ ।

काठमाडौँ विश्वको सबैभन्दा प्रदूषित शहर र घातक अवस्थामा पुगेपछि सरकारले घरबाहिर हिँड्न सचेत समेत गराएको छ ।

तर यो अवस्था केही समय रहन सक्ने भएपनि अब बिस्तारै सुधार हुँदै जाने संकेत देखिएको मौषमविद्ले बताएका छन् । वरिष्ठ मौषमविद् वरुण पौडेलले आजदेखि घाम लाग्ने भएकोले जमेर बाक्लो भएको वायुमण्डलमा हावा फाटेर प्रदूषणको तह केही कम हुन सक्ने बताए ।

जनस्वास्थ्य वातावरण प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक एवं वातावरणविद् रामचरित साह काठमाडौँको वायु प्रदूषणको अवस्था अहिले मात्र नभइ पहिलेदेखि नै रहेको बताउँछन् । पहिले सातौँ–आठौँमा पर्ने गरेपनि अहिले बढेर पहिलो स्थानमा आइपुगेको उनको भनाइ छ ।

कचौराजस्तो भूबनावट, मानवीय क्रियाकलाप प्रदूषणको कारक

काठमाडौँ उपत्यकामा यसरी अत्यधिक मात्रामा वायु प्रदूषण हुनुको कारण काठमाडौँको भौगोलिक अवस्थाका साथै सवारी साधन, औधोगिक कलकारखानाबाट निस्किएको धुँवा कारक रहेको वातावरणविद् साह बताउँछन् ।         

उनले भने–‘काठमाडौँको  भू बनावट कचौराजस्तो आकारमा रहेको छ । बाहिरबाट हावा आएर धुलोको कण लैजान नसक्ने र जमिनको सतहमा माथि बाक्लो तह बनेर बस्ने गरेको छ । अर्को जाडो याममा मान्छेले आगो बढि बाल्ने, फोहोर जलाउने काम, बढ्दो सवारी साधनको संख्या, इँटा भट्टा लगायतका विभिन्न प्रदूषणका स्रोतका कारणले प्रदूषण बढेको हो ।’

शहरी क्षेत्रमा पहिलेदेखि नै वायु प्रदूषण बढ्दै गएको र जाडो मौसममा काठमाडौँमा वायु प्रदूषण बढ्ने गरेको उनको भनाइ छ ।

यस्तो बेला वातावरण विभागले वायु प्रदूषणको बारेमा सर्वसाधारणलाई बेला बेलामा जानकारी गराइरहनुपर्ने उनले बताए ।

यस्तो बेला कसरी बच्ने

-हावाको गुणस्तर कस्तो अवस्थामा जानकारी राख्ने

-घरबाहिर ननिस्कने, सकेसम्म घरबाटै काम गर्ने

-घरमा बस्दा पनि झ्यालको पर्दा राम्रोसँग लगाउने

-बाहिर जानुपर्ने अत्यावश्यक अवस्थामा मास्क लगाएर जाने

मौसमविद् भन्छन् : तत्काल पानी पर्ने सम्भावना छैन, प्रदूषण कायमै रहन्छ

मौसम अघिल्लोदिन जस्तो धुम्म नहुने र दिनभरी घाम लाग्ने मौषम विभागले जनाएको छ । तराईको केही भागमा हुस्सु लागेपनि घाम लागेछि हटेर जाने वरिष्ठ मौसमविद् बरुण पौडेलले रातोपाटीलाई जानकारी दिए ।

आज सुदूरपश्चिममा मात्रै बादल लाग्ने र बाँकी भागमा मौसम सफा रहने  भएकोले अघिल्लो दिनको भन्दा सफा हुने उनले बताए । घाम लागेका कारण हावा केही तात्ने भएका कारण वायुमण्डलमा जमेको धुलोको तह फाटेर जाने उनले बताए ।

उनले भने–‘काठमाडौँ उपत्यका लगायतका क्षेत्रमा पानी नपरेको ३ महिना भइसक्यो, घाम लाग्दा अलि अलि भएपनि हावा चलायमान हुन्थ्यो, हावा चल्दा प्रदूषणलाई केही मात्रामा भएपनि चलायमान पाथ्र्यो । अहिले तुवालोजस्तो भएर बसेको छ । घाम लागिरहँदा हिजोको तुलनामा केही मात्रामा प्रदूषणको तह घट्न सक्छ ।’

पानी नपरेको र हावा चलेका कारण घाम लागेपनि पूर्ण रुपमा प्रर्दूषण नहट्ने मौसमविद् पौडलले जानकारी दिए । अझै केही  दिन पानी पार्ने प्रणालीको विकास नभएका कारण प्रदूषणको मात्रा कायम रहने उनले बताए ।

उनले भने–‘पानी पार्ने सिस्टम गइसक्यो, सुदूरपश्चिममा केही बाँकी छ, हिमाली एक–दुई स्थानमा हिमपात हुनसक्छ । भोलिबाट यो सिस्टम गइहाल्छ । तत्काल एक हप्ता दश दिन पानी पार्ने प्रणाली केही छैन । अलिअलि बादल लागेपनि पानी पार्ने प्रणाली देखिँदैन । यो वर्ष सुख्खा चिसो पार्ने हावा मात्र आयो । अघिल्लो वर्ष जाडोयाममा यतिबेलासम्म पानी परिसकेको थियो । पानी नपरेका कारणपनि यो वर्ष प्रदूषण बढेको हो कि भन्ने हाम्रो ठम्याइ छ ।’

सरकारले उपत्यकाको वायु प्रदूषण नियन्त्रण गर्ने कार्ययोजना बनाइएपनि कार्यान्वयन नहुँदा अहिलेको अवस्था आएको विज्ञहरु बताउँछन् । औधोगिक प्रतिष्ठान कलकारखाना अस्पताल सञ्चालन गर्दा वातावरणमैत्री प्रविधि अपनाउने नीति लिइएपनि त्यसको कार्यान्वयन हुन सकिरहेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप