आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सुवास नेम्वाङको ‘निरीहता’प्रति गगन थापाद्वारा ‘दया’ प्रकट

बुधबार, २२ पुस २०७७, १० : ४६
बुधबार, २२ पुस २०७७

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा विघटित प्रतिनिधिसभाका सदस्य गगन थापाले संविधानसभाको अध्यक्षता गरेका सुवासचन्द्र नेम्वाङको मौनताप्रति आफूलाई दया लागेको जनाएका छन् ।

बुधबार ट्वीट गर्दै उनले प्रतिनिधिसभा विघटनका सम्बन्धमा नेम्वाङको मौनताप्रति आफूलाई दया लागेको जनाएका हुन् ।

‘प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस सुरु हुँदैछ । म यतिबेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु,’ थापाले लेखेका छन्, ‘जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससँग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ ।’

प्रतिनिधिसभा विघटन भएपछि नेम्वाङले संविधानको मर्मं र भावनाअनुसार बोल्ने अपेक्षा गरिएको पनि उनले उल्लेख गरेका छन् । ‘श्रीमान् ! प्रधानमन्त्रीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो । मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायिकी मनसाय यस्तो हुँदै होइन’ भनेर सन्दर्भसहित यो संकटमा नेम्वाङले अदालतमै उभिएर जमेर बहस गर्ने अपेक्षा यसअघि आफूले गरेको पनि उनले जनाएका छन् ।

‘अपसोच उहाँ त कसैले केही सोध्लान् कि भनेर लुकेर बस्नुभएको छ, प्रश्नबाट भाग्नुभएको छ । आफैले बनाएको संविधानमा कु हुँदैगर्दा त्यसविरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको निरीहता देख्दा दया लागेको छ,’ उनले लेखेका छन् ।
संविधान बनाएको संविधान सभाको नेताले नै संविधानको पक्षमा उभिने साहस गर्न नसकेको भन्दै उनले कटाक्ष गरेका हुन् । तर आफूलाई न्यायालयप्रति भने विश्वास रहेको उनले बताएका छन् । ‘मलाई विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सम्मानित सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्नेछ,’ उनले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप