बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा एकैदिनमा ६० हजार बढी संक्रमित,८३० जनाको मृत्यु

मङ्गलबार, २१ पुस २०७७, २३ : ३६
मङ्गलबार, २१ पुस २०७७

लन्डन । इङ्ग्ल्याण्डमा देशव्यापी लकडाउनको घोषणा गरेकै दिन आज मंगलबार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन् । कोरोना संक्रमणको दर तीव्र रुपमा बढ्न थालेपछि इङ्ग्ल्याण्डमा आजैबाट देशव्यापी लकडाउन लागू गरिएको छ ।  

लगातार सातौँ दिनसम्म ५० हजारभन्दा माथि रहेको बेलायतको संक्रमितको संख्या आज मंगलबार भने ६० हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घन्टामा मात्र ६० हजार ९१६ नयाँ संक्रमित थपिएका छन् । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या २७ लाख ७४ हजार ४७९ पुगेको छ । यस्तै बेलायतमा कोरोनाका मृतकको संख्या पनि ७६ हजार नाघेको छ ।  पछिल्लो २४ घन्टामा थप ८३० जना कोरोना संक्रमितको मृत्यु भएसँगै  बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७६ हजार ३०५ पुगेको छ । 

संक्रमण बढेसँगै दैनिक अस्पताल भर्ना अहुने कोरोना संक्रमितको संख्या पनि अत्यधिक रुपमा वृद्धि भएको छ । मंगलाबारमात्र २४ घन्टामा तीन हजार भन्दा बढी संक्रमित अस्पताल भर्ना भएका छन् । हाल २३ हजार भन्दा बढी  कोरोनका  बिरामी अस्पतालमा उपचार गराइरहेका छन् । जसमध्ये एक हजार ८ सयभन्दा बढीको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ । गतवर्ष महामारी शुरु भएयताकै सबै भन्दा बढी मानिसहरु अस्पताल भर्ना भएका छन् । नयाँ कोरोना भाइरस भेरियन्ट ५० देखि ७० प्रतिशतसम्म संक्रामक रहेपछि दैनिक संक्रमित संख्या ५० हजारभन्दा माथि पुगेको छ ।

बेलायतका प्रमुख चिकित्सा सल्लाहकार र एनएचएस इङ्ग्ल्याण्ड मेडिकल डिरेक्टरले देशमा महामारी शुरु भएयताकै पहिलोपटक भाइरस सबैभन्दा उच्च ‘५ अलर्ट’ मा प्रवेश गरेको बताएका छन् । बेलायतको लिभरपुल शहरमा कन्सल्टेन्ट एनेस्थेटिष्टका रुपमा कार्यरत डा.शम्भु आचार्यले कोरोना भाइरसको नयां स्वरुप (भेरियन्ट) पहिलेको भाइरसभन्दा ५० देखि ७० प्रतिशत बढी संक्रमण क्षमता भएको पाइएको जनाउँदै गत अप्रिल २०२० मा महामारीको पिकमा करिब १९ हजार बिरामीहरु अस्पतालमा रहेकामा अहिले त्यो संख्या बढेर २७ हजार पुगेको जनाए ।

बेलायतमा सोमबारबाट अक्सफोर्ड विश्वविद्यालय र एक्सट्राजेनेका कम्पनीद्धारा संयुक्त रुपमा निर्मित कोभिड खोपको आम वितरण शुरु गरिएको छ । बेलायतले यस अघि नै अक्सफोर्ड(एक्सट्राजेनेकाद्वारा विकसित करिब दश लाख डोज भ्याक्सिन वितरण गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप