आन्दोलनकै क्रममा हृदयाघातका कारण मृत्यु भएका उखु किसानका परिवारलाई राहत, सहकारीबाट ऋणको ब्याज मिनाहा
सर्लाही । उखुको भुक्तानी माग गर्दै राजधानीमा भएको आन्दोलनमा सहभागी भएकै अवस्थामा हृदयाघातका कारण मृत्यु भएका नारायण राय यादवको परिवारलाई सहकारीले राहतस्वरुप ऋणको ब्याज मिनाहा गरिदिएको छ ।
सर्लाहीकै मलंगवामा मुख्य कार्यालय रहेको ‘द सहारा लोन सेभिङ्स को–अपरेटिभ सोसाइटी लिमिटेड’ले मृतक नारायणको नाममा रहेको करिब ७ लाख रुपैयाँ ऋणको सम्पूर्ण ब्याज मिनाहा गरिदिएको हो ।
उक्त सहकारीका कार्यकारी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य नागेन्द्रकुमार राय, महाप्रवन्धक नागेन्द्र चौधरीसहितको टोली मंगलबार मृतकको घर धनकौल गाउँपालिकास्थित छोटौलमै पुगेर ब्याज मिनाहाको घोषणा गरेको हो ।
काँग्रेसका जिल्ला सभापतिसमेत रहेका कार्यकारी अध्यक्ष नागेन्द्रकुमार रायले पीडित परिवारलाई यसबाट थोरै भए पनि राहत पुग्ने अपेक्षा गरे । ‘हामीले मानवताका नाताले यस्तो निर्णय गरेका हौं,’ उनले भने, ‘पीडित परिवारलाई भेटेरै हामीले ब्याज मिनाहासम्बन्धी निर्णय जानकारी गराएका छौं, पीडित परिवारप्रति हाम्रो गहिरो सहानुभूति छ ।’
उनले आफ्नो सहकारीको लक्ष्यअनुसार नै उक्त निर्णय गरिएको पनि रातोपाटीलाई बताए । ‘गरीवी समस्या होइन, अवस्था हो । सहकारीको भावना र मर्मलाइ आत्मसात् गर्दै पूँजी निर्माण र त्यसको परिचालन एवं रोजगारीमा निम्न आय स्तर भएकाहरुको पहुंच पु¥याउने र गरिबीको यो विकराल अवस्थालाई न्युनिकरण गर्दै निवारण गर्नमा व्यवस्थीत रुपमा सहयोग पु¥याउनु यो संस्थाको प्रमुख लक्ष्य रहेको छ,’ उनले भने ।
मृतक नारायण राय यादवका जेठा छोरा सियारामले पनि उक्त सहकारीका अध्यक्ष, महाप्रवन्धकसहितको टोली घरमै आएर सहानुभूति प्रकट गरेको र बुवाले लिएको ऋणको सम्पूर्ण ब्याज मिनाहा गरिएको जानकारी दिएको बताए ।
‘आर्थिक अवस्था जर्जर भएकै कारण बुवाले उखु किसान र सरकारबीच भएको चार बुँदे सहमतिबाट आफूहरु ठगिएको महसुस गर्नुभएको थियो,’ उनले भने, ‘त्यही पीडाका कारण उहाँ हृदयाघातको सिकार हुनुभयो, बुवाको मृत्युपछि ऋण तिर्ने दायित्व स्वाभाविक रुपमा हाम्रो काँधमा आएको छ, सहकारीले ब्याज मिनाहा गरिएर हामीमाथि पीडिाको यो घडीमा ठुलो गुन लगाएको छ ।’
अन्नपूर्ण सुगर मिलबाट चार वर्षअघिको उखुको करिब २४ लाख रुपैयाँ भुक्तानी पाउनुपर्ने सो परिवार हाल २५ लाखभन्दा बढी ऋणमा डुबेको छ । सियारामका अनुसार करिब ७ लाख रुपैयाँको ब्याज मिनाहा हुँदा पनि परिवारले धेरै ठुलो राहत महसुस गरेको छ । बाँकी ऋण अन्य वित्तीय संस्थामा रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार