प्रतिनिधिसभा सूचारु हुनेमा ढुक्क छौंः नारायणकाजी श्रेष्ठ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधानअनुसार प्रतिनिधिसभा सूचारु हुनेमा ढुक्क रहेको बताएका छन् । मंगलबार बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले संविधानअनुसार प्रतिनिधिसभा सूचारु हुनेमा आफुहरु ढुक्क रहेको बताएका हुन् ।
संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको विशेषाधिकार हुँदा प्रधानमन्त्रीले आफ्नो स्वार्थमा संसद विघटन गर्दा राजनीतिक अस्थिरता हुने भएकाले नयाँ संविधान निर्माण गर्दा प्रधानमन्त्रीको संसद विघटनको विशेषाधिकारलाई हटाउन राष्ट्रिय राजनीतिक सहमति बनाइएको र संविधानमा उक्त कुरा नलेखिएको प्रवक्ता श्रेष्ठको भनाई छ ।
सरकार बनाउन नसक्ने अवस्थामा संसद आफैँ विघटन हुने तर बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको कुनै अधिकार नभएको उनले बताए । संविधानको धारा ७६ को कुनै पनि उपधारामा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको उनको भनाई छ ।
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालत तथा निर्वाचन आयोगमा समेत सेटिङ मिलाएर प्रतिनिधिसभा विघटन गरेको भन्ने आम रुपमा आशंका उब्जिएको भन्दै प्रवक्ता श्रेष्ठले प्रचार गरिएकै भरमा न्यायालय र संवैधानिक आयोगले प्रभावित भएर निर्णय नगर्ने विश्वास समेत व्यक्त गरे । त्यसरी गरिने प्रचार संवैधानिक आयोगमाथि गरेको अपमान तथा अवमूल्यन भएको उनको भनाई छ ।
सरकारले दबाब र प्रभावमा पारी आफु अनुकूल निर्णय गर्न बाध्य पारे निष्पक्ष निर्णय गर्न जनताले वातावरण बनाइदिने उनले बताए । आफुहरुको आन्दोलन संवैधानिक अंगप्रति नभई असंवैधानिक कदम चाल्ने सरकारविरुद्ध केन्द्रीत रहेको पनि प्रवक्ता श्रेष्ठले स्पष्ट पारे ।
पार्टीको आधिकारिकता र चुनाव चिन्ह सूर्य आफुहरुसँग रहनेमा कुनै दुविधा नरहेको प्रवक्ता श्रेष्ठको भनाई थियो । उनले नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल लगायतका राजनीतिक दलसँग संयुक्त संघर्ष गर्ने पहल जारी राखेको जानकारी समेत दिए । प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम पूर्ण रुपमा परास्त नगरुञ्जेल सङ्घर्ष जारी राख्ने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले हेटौंडा कमिटीको अध्यक्षमा कार्की निर्वाचित
-
एकीकृत समाजवादीको कार्ययोजना पारित
-
रविलाई थप ४ दिन म्याद माग्दै प्रहरी
-
अल्छे सांसदले बैठक ‘बङ्क’ गर्दा ‘पङ्गु’ बन्दैछन् संसदीय समितिहरू
-
भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका ‘लुटेरा’ सिराहाबाट पक्राउ
-
केपी ओली भारतलाई देखाइदिने मनसायले हारगुहार गरेर चीन जानुभएको हो : पुन