बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बहुमत पाउन नसकेका दलका लागि चुनाव नयाँ अवसर हो: मुख्यमन्त्री गुरुङ

मङ्गलबार, २१ पुस २०७७, १५ : ३०
मङ्गलबार, २१ पुस २०७७

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रक्रिया अन्तर्गत प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । मंगलबार प्रदेशसभाको विशेष अधिवेशनमा बोल्दै उनले लोकतन्त्रमा संकट आयो भने जनतामा जाने पद्धति रहेको बताउँदै पार्टीभित्रै पदको सौदावाजी गर्न नहुने उल्लेख गरे । सांसद खरिद बिक्री गरेर फेरि अर्को सरकार बनाउने फोहोरी खेल खेल्नुभन्दा जनतामा जानु राम्रो रहेको उनको भनाई छ ।

प्रदेशसभामा बोल्ने प्रतिपक्षी सांसदहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको बताएपछि उनले विगतदेखि नै पार्टीभित्रका नेताहरुको तँ तँ र म म का कारण बहुमत पाएका प्रधानमन्त्रीहरुले काम गर्न नपाएको उल्लेख गरे  । २०४८ साल, २०५१ सालतिर सरकारमा घटेका घटनाजस्तै अहिले नेकपामा पनि घटना घटेको उनको भनाई थियो । 

उनले भने– ‘पहिले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला आफ्नै पार्टीभित्रकाले राष्ट्रिय जनजागरणको नाममा उनको पुत्ला जलाउने काम गरे । आफ्नै पार्टीबाट काम गर्न नदिएपछि फेरि त्यही संसदबाट प्रधानमन्त्री खोज्नतिर लाग्नुभएन म जनतामा जान्छु भनेर लाग्नुभयो । अहिले संसद विघटनबारे संविधानमा धारा धारा खोजिरहेको छ, त्यतिखेर पनि लेखेको थिएन । लोकतन्त्रमा सार्वभौम जनताबाट बहुमत पाएको ब्यक्तिलाई प्रधानमन्त्री बन्ने अधिकार हुन्छ । जनताले काम गर्न पठाएपछि पार्टीभित्रको झगडाले काम गर्न दिएन भने फेरी जनतामै जाने हो ।’

मुख्यमन्त्री गुरुङले प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गरेर निर्वाचन घोषणा गर्नु लोकतन्त्रको अभ्यास गरेको बताउँदै फेरि चुनावमा गएर आफूले गरेका कमजोरी स्वीकार्दै आफूले गरेका काम बताएर फेरि मत माग्नुपर्ने उल्लेख गरे । उनले भने– ‘प्रधानमन्त्रीले चुनावको ढोका आफ्नो लागि मात्र हैन सबैका लागि खोलेका हुन् । बहुमत प्राप्त गर्न नसक्ने दलका लागि बहुमत प्राप्त गर्ने अवसर प्राप्त भएको छ । एउटा पनि सिट नपाएका दलका लागि एउटा सिट प्राप्त गर्ने अवसर प्रास्त भएको छ ।’

पार्टीभित्र प्रधानमन्त्रीका लागि जहिले पनि सरकारलाई अप्ठेरो पार्नेहरुले ठीक गरे कि प्रधानमन्त्रीले ठीक गरे त्यसको फैसला जनतालाई गर्ने अवसर दिइएको उनले बताए । प्रतिपक्षी दल काँग्रेस र जनता समाजवादी पार्टीको मागका आधारमा मंगलबारदेखि गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको छ  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप