आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

गोही संरक्षणको १८ वर्षको अनुभव हस्तान्तरण

मङ्गलबार, २१ पुस २०७७, १२ : १९
मङ्गलबार, २१ पुस २०७७

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा १८ वर्ष गोही संरक्षणमा लाग्नुभएका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले आफूले प्राप्त गरेको अनुभव हस्तान्तरण गरेका छन् । सेवाबाट अवकास हुनैलाग्दा उनले प्राप्त गर्नुभएका अनुभव निकुञ्जका कर्मचारीलाई हस्तान्तरण गरेका हुन् ।
 
अठार वर्षसम्म रातदिन, झरीबादल केही नभनी संरक्षणमा जुट्नुभएका खड्काले घडियाल गोही संरक्षणको क्षेत्रमा उल्लेखनीय काम गरेका छन् । निकुञ्जको गोही प्रजनन केन्द्रमा मात्रै होइन, उनले नारायणी र राप्ती नदीमा रहेका गोहीको संरक्षणका लागि पनि त्यतिकै ठूलो परिश्रम गरेका छन् । त्यही अनुभवलाई तीनदिने तालिमको आयोजना गरेर उनले निकुञ्जका कर्मचारीलाई आफ्नो अनुभव प्रदान गरे । यससँगै आज उनी अनिवार्य अवकासबाट बिदा हुनेछन् ।
 
गोहीको पालनपोषण, नियन्त्रण, नदीमा छोड्ने विधिलगायतका विषयमा निकुञ्जका कर्मचारीलाई तालिम दिइएको हो । उनीहरुलाई खड्काले प्रशिक्षण दिएका छन् । खड्का निकुञ्जबाट बिदा भएसँगै त्यहाँका कर्मचारीलाई गोही संरक्षण गर्न सहज होस् भन्ने उद्देश्यले तालिम दिइएको हो । सो क्रममा घडीयाल गोहीलाई नदीमा छाड्नुअघि नियन्त्रणमा लिने तरिका, गोहीको नापजाँच, चिह्नसँगै छोड्ने विधि प्रत्यक्षरूपमा सिकाइएको थियो । खड्काका अनुसार तालिममा गोही प्रजनन केन्द्रका ११ गोही नियन्त्रणमा लिएर राप्ती नदीमा छाडिएको छ ।
 
सहभागीलाई गोही नियन्त्रणमा लिएर नदीमा छाड्नेसम्मका विधि सिकाइएको थियो । यसैगरी राप्ती नदीका दुई गोही नियन्त्रणमा लिएर छाडिएको थियो । यस क्रममा जालमा अड्किएका र उपचार गर्नुपर्ने गोहीलाई कसरी नियन्त्रणमा लिने भन्ने विधि सिकाइएको थियो । कसरामा रहेकोे गोही प्रजनन केन्द्रमा हुर्र्काएका गोहीलाई नदीमा छाडिँदै आएको छ । हालसम्म सो प्रजनन केन्द्रमा हुर्काइएका एक हजार ५८० गोही विभिन्न नदीमा छाडिसकिएको छ । तालिममा १७ जना गेमस्काउट सहभागी भएका थिए ।
 
प्रजनन केन्द्रमा गोहीले पारेका अण्डा र नदीमा सङ्कलन भएका अण्डालाई प्रजनन केन्द्रमा राखेर बच्चा कोरलेसँगै ती बच्चा  हुर्काएर नदीमा  छाडिँदै आएकोे छ । खड्काका अनुसार हाल प्रजनन केन्द्रमा ५८७ गोही छन् । यस वर्ष मात्र ६५ गोही नदीमा छाडिसकिएको छ । सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप