बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

बैंकलाई ब्रोकर लाइसेन्स दिन अर्थमन्त्रीसामु परिसङ्घको माग

सोमबार, २० पुस २०७७, २१ : ४०
सोमबार, २० पुस २०७७

बैंक तथा वित्तीय संस्था परिसङ्घले बैंकलाई तत्काल ब्रोकर लाइसेन्स दिन माग गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आज ज्ञापनपत्र बुझाउँदै परिसङ्घले देशैभरि छरिएर रहेको आर्थिक स्रोत परिचालन गर्ने ध्येयका साथ शेयर बजारमार्फत बैंकहरुलाई ब्रोकर लाइसेन्स सहजरुपमा दिने व्यवस्था गर्न माग गरेको हो । 

यस्तै संस्थापक शेयर पब्लिक शेयरमा रुपान्तरण गर्न पाउनुपर्ने, वित्तीय क्षेत्रलाई अरू व्यवसाय सरह नै करको दर लागू गरिनुपर्ने माग परिसङ्घले गरेको छ । परिसङ्घका अध्यक्ष एवम् एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले वित्तीय साक्षरता, साना तथा मझौला उद्योगहरुको विकास विस्तारका लागि सहज वित्तीय पहुँच पु¥याउनका लागि आफूहरु तत्पर रहेको अर्थमन्त्रीलाई जानकारी गराएको थियो । 

यस्तै युवा तथा महिला उद्यमशीलताको विकास एवं विस्तार जस्ता विषयमा व्यावसायिक तालीम तथा प्रशिक्षण कार्यक्रम गर्नुपर्नेमा जोड दिइएको थियो । प्रतिनिधिमण्डलले व्यक्त गरेका सुझावलाई आफूले सकारात्मकरुपमा लिएको र त्यसलाई व्यावहारिक रुपमा कार्यान्वयन गरिने अर्थमन्त्री पौडेलले प्रतिबद्धता व्यक्त गर्नुभएको परिसङ्घले जनाएको छ । 

सरकार सदैव बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपालसँग सहकार्य गर्दै अगाडि बढ्ने भन्दै उनले राष्ट्रको सर्वाङ्गीण विकासका लागि सम्पूर्ण क्षेत्रबाट योगदानको अपेक्षा गरे । सो अवसरमा परिसङ्घका उपाध्यक्ष भोजबहादुर शाह, महासचिव केशवबहादुर रायमाझी, सदस्य एवम् हिमालय बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम, नेपाल बैंक लिमिटेडका अध्यक्ष वासुदेव अधिकारीलगायतको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप