शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धनुषामा नेकपाका दुवै पक्ष शक्ति प्रदर्शनको तयारीमा, ओली समूहको जिल्ला भेला भोलि

सोमबार, २० पुस २०७७, १८ : १५
सोमबार, २० पुस २०७७

जनकपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै पक्ष धनुषामा शक्ति प्रदर्शनको तयारीमा जुटेका छन् । मंगलबार जनकपुरमा ओली पक्षले जिल्लास्तरीय कार्यकर्ता भेला आयोजना गर्दैछ । ओली पक्षले पार्टी कार्यालयमै भेला आयोजना गर्ने भएको छ भने प्रचण्ड–माधव पक्षले पार्टी कार्यालयमा कुनै पनि हालतमा भेला आयोजना हुन नदिने तयारी थालेको छ । सत्ताको आडमा कार्यालय कब्जा गर्न ओली पक्ष उद्यत भएको भन्दै प्रचण्ड–नेपाल पक्षले पनि मंगलबार जनकपुरमा व्यापक कार्यकर्ता उतार्ने तयारी गरेको छ ।

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा प्रचण्ड–माधव पक्षले प्रादेशिक भेलादेखि जिल्लास्तरीय भेला सम्पन्न गरिसकेको छ । सो पक्ष हाल गाउँ गाउँमा आन्दोलनको रुपरेखा कोर्न व्यस्त छ । 
ओली समूहले पनि चुनावी अभियान अन्तर्गत कार्यकर्ता भेटघाटदेखि भेलालाई तीव्र पारेको छ । सो समूहले वीरगंजमा प्रदेशस्तरीय भेला आयोजना गरेको थियो भने सोमबार सिरहामा जिल्ला भेला आयोजना गरेको छ । मंगलबार धनुषामा जिल्लास्तरीय कार्यकर्ता भेला आयोजना हुँदैछ ।

जनकपुरधामस्थित नेकपा प्रदेश कार्यालयमा मंगलबार ओली समूहले जिल्ला भेला आयोजना गर्ने तयारी गरिरहेकै समयमा प्रचण्ड–माधव पक्षले भने पालिकास्तरीय भेला आयोजना गर्दैछ ।
धनुषाको १८ वटा स्थानीय तहमा एकै पटक पालिकास्तरीय भेला गर्ने सो पक्षका नेता एवं सचिव दिपक यादवले जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तवरले संसद विघटन गरी देशलाई अनिर्णयको बन्दी बनाएपछिको अवस्थामा आन्दोलनमा जुट्नका लागि प्रत्येक पालिकास्तरीय कार्यकर्ता भेला गरिरहेका छौँ ।’

ओली समूहमा रहेका जिल्ला अध्यक्ष राजकिशोर यादव भने वैशाखमा हुने चुनावका लागि र पार्टी संगठन निर्माणका लागिसमेत जिल्ला भेला आयोजना गर्न थालिएको बताउँछन् ।
मंगलबार ओली पक्षले पार्टी कार्यालयमा भेला आयोजना गर्न लागेको भन्दै प्रचण्ड–माधव पक्ष कार्यकर्ताहरु पार्टी कार्यालयमा भेला आयोजना हुन नदिन आवश्यक तयारीमा जुटेको बताइन्छ । 
ओली पक्षका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल स्वयं जनकपुरमा हुने उक्त भेलामा सहभागी हुँदैछन् । प्रचण्ड–माधव पक्षका नेता तथा कार्यकर्ताहरु सत्ताको आडमा ओली पक्षले पार्टी कार्यालय कब्जा गर्न सक्ने आशंका गर्दैछन् ।

अध्यक्ष राजकिशोर यादव भने कुनै पनि हालतमा आफूहरुले पार्टी कार्यालयमै भेला आयोजना गर्ने बताए । कसैले अवरोध सिर्जना गर्न खोजे आफुहरु चुप लागेर नबस्ने उनको चेतावनी छ ।
ओली समूहको जिल्ला भेलालाई मध्यनजर गर्दै जनकपुरधाममा सुरक्षाको प्रवन्ध कडा तुल्याइएको स्थानीय प्रशासनले जनाएको छ । स्रोतका अनुसार भोलि हुन लागेको कार्यक्रमलाई मध्यनजर गर्र्दै ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप