बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकारलाई लाख, प्राविधिकलाई हजार; त्यो पनि उधारो !

सोमबार, २० पुस २०७७, १५ : ५८
सोमबार, २० पुस २०७७

काठमाडौं । पछिल्लो समय म्यूजिक भिडियोप्रतिको आकर्षण बढ्दो छ । त्यसैले पनि होला, हिट होस् वा फ्लप, नयाँ होस् वा पुराना, सबै फिल्मी कलाकारलाई अचेल म्यूजिक भिडियोमा देख्न सकिन्छ । अधिकांश फिल्मी कलाकार म्यूजिक भिडियोमा देखिनुलाई कतिपयले ‘कोरोना महामारीले निम्त्याएको परिस्थिति’ भन्ने गरेका छन् ।

कोरोना कहरका कारण फिल्म निर्माण रोकिँदा सबैजसो कलाकार फुर्सदिला भए । फिल्म निर्माणका लागि कलाकार, प्राविधिकसहित ठुलो संख्यामा जमघट हुनुपर्ने भएकाले कोरोना प्रोटोकलअनुसार ठुलो संख्यामा भेला हुन रोक लाग्यो । लकडाउन खुले पनि लामो समयसम्म त्यस्तो प्रतिबन्ध फुकुवा भएन । तर लकडाउन खुलेसँगै थोरै संख्यामा कलाकार तथा प्राविधिक जम्मा भएर म्यूजिक भिडियोको छायांकन हुन थाल्यो । यसले गर्दा फिल्मी कलाकारले म्यूजिक भिडियोलाई नै गर्जो टार्ने अवसरका रुपमा लिन थाले भन्नेहरुको पनि कमी छैन ।

तर अधिकांश कलाकार म्यूजिक भिडियोमा देखिनुको भित्री कथा भने अर्कै छ । त्यो हो– आकर्षक पारिश्रमिक । 

म्यूजिक भिडियोमा फिल्मको तुलनामा थोरै समय र मेहनत अनि धेरै पारिश्रमिक आउने भएकोले पनि कलाकारहरुको आकर्षण म्यूजिक भिडियोतर्फ बढेको हो । फिल्म अभिनयमा केही वर्ष गुजारिसकेका र हालै म्यूजिक भिडियोतर्फ अभिनयमा व्यस्त देखिएका केही कलाकारको फेरिएको जीवनशैलीले पनि सो कुराको पुष्टि गर्दछ ।

सुब्रत आचार्य

फिल्मतिर अभिनय गर्दा सामान्य जीवनशैलीमा देखिएका कतिपय कलाकार म्यूजिक भिडियोमा खेल्न थालेपछि घर, गाडीलगायत भौतिक सुविधाका दृष्टिले सम्पन्न हुँदै गएका देखिएका छन् ।
अचेल म्यूजिक भिडियोप्रति कलाकारहरुको मोह बढ्नुमा मुख्य कारण पारिश्रमिक नै भएको फिल्म तथा म्यूजिक भिडियो निर्देशक सुब्रत आचार्य बताउँछन् ।

‘फिल्ममा सुटिङका लागि घटीमा ३५ दिन, त्यसपछि डबिङ र प्रचारप्रसार गर्दा मोटामोटी ५० दिन समय दिनुपर्छ । पारिश्रमिक त्यही ८ देखि १५ लाखमात्र हो,’ आचार्यले भने, ‘म्यूजिक भिडियोमा एक दिनमा लाखदेखि दुई लाखसम्म हुने गर्दछ ।’

फिल्मको तुलनामा म्यूजिक भिडियोमा दुःख कम र पारिश्रमिक पनि धेरै हुने भएकाले कलाकारको आकर्षण बढेको आचार्यको भनाइ छ ।

कलाकारलाई किन धेरै पैसा ?
म्यूजिक भिडियोमात्रै खेल्ने एक खालका कलाकार पनि छन् कला क्षेत्रमा । त्यसमाथि फिल्मका कलाकार म्यूजिक भिडियोमा थुप्रिनुले भिड र प्रतिस्पर्धा बढाएको छ । भिडभाड र प्रतिस्पर्धाले कलाकारको परिश्रमिक तल झर्नुपर्ने र निर्मातालाई सजिलो हुनुपर्ने हो । तर त्यसको उल्टो भएको छ ।

फिल्मी कलाकार म्यूजिक भिडियोमा आएपछि झन् धेरै पारिश्रमिक तिर्नुपर्ने बाध्यता भएको छ निर्माताहरुलाई । किन र केका लागि धेरै पारिश्रमिक भन्ने प्रश्नको जवाफ कोहीसँग छैन । म्यूजिक भिडियो निर्माताहरु तथा गायक–गायिकाहरु कलाकारका लागि धेरै पारिश्रमिक तिर्नुपरेको गुनासोमात्र गर्दछन् ।

अहिले एक म्यूजिक भिडियोका लागि कलाकारले एकदेखि तीन लाख रुपैयाँसम्म लिने गर्दछन् । उनीहरुको मेहनतको तुलनामा सो पारिश्रमिक बढी भएको गायक–गायिका तथा भिडियो निर्माता बताउँछन् ।
कलाकारलाई एउटा म्यूजिक भिडियोमा अभिनय गरेबापत लाख÷दुई लाख रुपैयाँ पारिश्रमिक दिनु अति नै भएको निर्देशकद्वय देवेन्द्र पाण्डे र निकेश खड्का बताउँछन् ।

देवेन्द्र पाण्डे

‘कलाकारलाई उनीहरुको कला, फ्यान र फलोइङलाई हेरेर लाखौँ रकम तिर्ने हो,’ निर्देशक पाण्डेले भने, ‘अहिले त्यो केही नहेरी जसलाई पनि त्यति तिर्ने गरिएको छ ।’ भिडियोमा एक से एक कलाकार ‘शो’ गर्ने प्रवृत्ति बढेकोले पनि यस्तो भएको पाण्डेको बुझाइ छ ।

‘म उनीहरुका लागि लाखौं तिर्ने पक्षमा छैन । तर, कहिलेकाहीँ तिनुपर्ने बाध्यता पर्दाेरहेछ,’ पाण्डेले थपे, ‘मेरो बिचारमा पारिश्रमिक ४० देखि ५० हजारसम्म ठिक हो ।’
केही भिडियो निर्देशकले आफुलाई स्ट्याण्डर देखाउन, आफुलाई महँगो र राम्रो मेकरको रुपमा स्थापित गर्नका निम्ति पनि कलाकारले मागेजति पारिश्रमिक दिँदा अहिले कलाकार लागि धेरै तिर्नुपर्ने बाध्यता नै बन्न थालेको गायक ध्रुव बिस्को बताउँछन् । 

कलाकारलाई कामको भन्दा धेरै पैसा दिनुमा आफुजस्तै निर्देशकको कमजोरी रहेको अर्का निर्देशक सोनम पाख्रिन बताउँछन् ।
‘गायक, गायिका जसले गीत–संगीतमा लगानी गर्छ, उनीहरुले त्यही कलाकार चाहिन्छ भन्छन्,’ पाख्रिनले भने, ‘त्यही चाहिन्छ भनेपछि जति भन्यो त्यति तिर्नुप¥यो ।’

कतिपय गायक गायिकालाई पैसाको तुलनामा कलाकारको महत्व बढी हुने गरेको उनले सुनाए । ‘उहाँहरु कलाकारले जति भन्यो त्यति तिर्न तयार हुनुहुन्छ,’ पाख्रिनले थपे, ‘त्यसरी नै तिर्दै जाँदा पारिश्रमिक बढ्दै गयो ।’
भिडियोका लागि यति धेरै पारिश्रमिक दिन नहुने पाख्रिन पनि बताउँछन् । ‘म्यूजिक भिडियोका लागि कलाकारको पारिश्रमिक तोकिनु प¥यो भनेर मैले पटकपटक भनेको छु,’ पाख्रिनले अगाडि भने, ‘हामी निर्देशक एकजुट हुन नसक्दा कलाकारले जथाभावी पारिश्रमिक लिन थाले ।’

कामको हिसावले भन्ने हो भने एउटा कलाकारलाई म्यूजिक भिडियोबापत लाख÷दुई लाख पारिश्रमिक धेरै हुने पाख्रिनको भनाइ छ । ‘हामी उहाँहरुलाई काम दिन्छौं तर हाम्रोभन्दा उहाँहरुको पारिश्रमिक धेरै हुन्छ,’ उनले सुनाए ।
अर्का निर्देशक निकेश खड्का कलाकारलाई धेरै रकम नदिने पक्षमामा आफु रहेको बताउँछन् । जसको जति काम हुन्छ, उसलाई त्यही अनुहार पारिश्रमिक दिनुपर्ने उनको तर्क छ ।

निकेश खड्का

म्यूजिक भिडियोमा कलाकार केही समय चल्ने र आफू चलेको समय जथाभावी पारिश्रमिक माग्ने प्रवृत्तिका कारण पनि पारिश्रमिक धेरै हुन पुगेको अर्काे निर्देशक सुब्रत आचार्यको भनाइ छ । उनी थप्छन्, ‘यसमा लिनेले भन्दा पनि दिनेले विचार गर्नुपर्छ ।’

कलाकारले गीत चल्दैन 
हुन त कतिपय गायक–गायिका तथा निर्मातामा म्यूजिक भिडियोमा कलाकार, त्यो पनि चलेको राख्न सक्यो भने गीत हिट हुने, त्यसले धेरै भ्युज पाउँछ भन्ने मान्यता छ । कतिपय गायक–गायिका आफ्नो सिर्जनाको बलमा भन्दा पनि भिडियोका कलाकारको बलमा गीत चलाउन खोज्छन् । त्यसले गर्दा पनि उनीहरु कलाकारलाई मोटो रकम तिर्ने गर्दछन् ।

कलाकारलाई मोटो रकम तिरेर भिडियो बनाउँदैमा गीत–संगीत चल्ने, त्यसैले भ्युज पाउने भन्ने हुँदैन । गीत–संगीत चल्न र भ्युज पाउन सिर्जना नै राम्रो हुनुपर्ने भिडियो निर्देशक निकेश खड्काको भनाइ छ ।
‘भिडियोमा चलेका र महँगो कलाकार राख्दैमा गीत चल्ने र भ्युज धेरै हुने होइन,’ खड्काले भने, ‘त्यसका लागि सिर्जनामा दम हुनुपर्छ । सिर्जना राम्रो भयो भने भिडियोले केही भरथेग गर्दछ ।’

नयाँ कलाकार लिएर भिडियो बनाएका कतिपय गीत–संगीतले राम्रो भ्युज पाएको उदाहरण पनि प्रशस्त रहेको उनले बताए । तर कतिपय गायक–गायिकामा राम्रा कलाकार राख्दैमा भ्युज धेरै हुन्छ भन्ने भ्रम रहेको आफुले बुझेको उनले सुनाए ।

खड्काकै भनाइसँग निर्देशक सुब्रत आचार्य पनि सहमत छन् । ‘जुन गायक–गायिका आफ्नो गीत चल्छ भन्नेमा विश्वस्त छैनन्, तिनले भिडियोमा चलेका अनुहार बढी खोज्छन्,’ उनले भने, ‘फिल्ममा चलेका, टिकटकमा चलेका कलाकार राख्यो भने गीत चल्छ भन्ने उनीहरुमा भ्रम छ ।’

ध्रुव बिस्को

कलाकारका कारणले गीतको भ्युज धेरै भएको र गीत चलेको कमै उदाहरण भएको उल्लेख गर्दै आचार्य थन्छन्, ‘गीत राम्रो भए नयाँ कलाकार लिएर भिडियो बनाए पनि भ्युज हुन्छ ।’ त्यसको उदाहरण आफुसँग धेरै रहेको उनले सुनाए ।

निर्देशकलाई कति ?
एक म्यूजिक भिडियोका लागि कलाकारले एक÷दुई लाख रुपैयाँ पारिश्रमिक लिँदै गर्दा कामको हिसावअनुसार भिडियो निर्देशकले त्यसको डबल पारिश्रमिक लिनुपर्ने हो । किनभने निर्देशकले गीत सुनेर कन्सेप्ट बनाउनेदेखि रिलिज हुने बेलासम्म भिडियो निर्माणका लागि अनेक जिम्मेवारी बहन गर्नुपर्छ ।

तर, निर्देशकको पारिश्रमिक भने कलाकारको तुलनामा एकचौथाई पनि छैन । उनीहरुको पारिश्रमिक १० हजारदेखि बढीमा ५० हजार रुपैयाँसम्म पुग्ने गरेको छ । कतिपय अवस्थामा निःशुल्क काम गर्नुपर्ने बाध्यता पनि रहने केही निर्देशक बताउँछन् ।

निर्देशक देवेन्द्र पाण्डे प्रोजेक्ट हेरेर आफूले पारिश्रमिक लिने गरेको बताउँछन् । ‘कलाकारलाई राम्रो तिरेको प्रोजेक्टमा मलाई पनि पारिश्रमिक राम्रो दिनुपर्छ भन्ने मेरो मान्यता हो,’ पाण्डेले भने, ‘कामको हिसावले हेर्ने हो भने कलाकारको तुलनामा हामीले डबलभन्दा पनि बढी लिनुपर्ने हो । तर हाम्रो देशमा यो सम्भव छैन ।’

आफुले घटीमा पनि एक प्रोजेक्टको ३५ हजार रुपैयाँभन्दा माथि पारिश्रमिक लिने गरेको पाण्डेले सुनाए । उनले भने, ‘यो पारिश्रमिक पनि कामको हिसावले थोरै हो ।’
काम धेरै भए पनि निर्देशकहरुको पारिश्रमिक कलाकारको भन्दा थोरै रहने गरेको निर्देशक सोनम पाख्रिन बताउँछन् । कलाकारलाई काम दिने र काम लगाउने निर्देशक भएकोले उनीहरुको भन्दा निर्देशकको पारिश्रमिक डबल हुनुपर्ने उनको तर्क छ ।

सोनम पाख्रिन

‘एक दिन अभिनय गर्ने कलाकारलाई यहाँ एक÷दुई लाख दिन तयार छन् निर्माता,’ पाख्रिनले भने, ‘पूरै गीतको भिडियो बनाउने निर्देशकका लागि ५० हजार दिँदा उनीहरुमा पसिना छुट्छ ।’ कसको काम कति महत्वपूर्ण हो भनेर गायक–गायिका तथा निर्माताले बुझ्न नसक्दा यस्तो अवस्था आएको आएको पाख्रिनको बुझाइ छ ।

प्राविधिकहरु झन् पीडित
फिल्म होस् वा म्यूजिक भिडियो, कलाकार र निर्देशकभन्दा धेरै मेहनत प्राविधिकको हुन्छ । कलाकारलाई राम्रो देखाउनेदेखि भिडियोमा उतार्नेसम्मका काम प्राविधिकको हुने गर्दछ । महत्वपूर्ण भुमिका हुँदा हँुदै पनि प्राविधिकको पारिश्रमिक भने निकै कम छ ।

एकै भिडियोबाट कलाकारले एक÷दुई लाख बुझ्दा प्राविधिकले भने एकदेखि दुई हजार रुपैयाँ सम्ममा चित्त बुझाउनु पर्ने अवस्था छ । कतिपय अवस्थामा त्यो पनि उधारोमा चित्त बुझाउनु परेको उनीहरुको गुनासो छ ।
फिल्म तथा म्यूजिक भिडियोमा लाईट म्यानको जिम्मेवारी निर्वाह गर्दै आएका गोकुल हुमागाईले एक दिनको कामका लागि आफुले दुई हजार लिने गरेको बताए । 

‘हामीलाई एक दिनको जम्मा दुई हजार रुपैयाँ दिइन्छ । त्यो एकदम थोरै हो,’ हुमागाईले भने, ‘कतिले त त्यो पनि एक÷डेढ महिनामा दिन्छन् । कतिले दिँदैन् पनि ।’

कतिसँग त कामको पैसा उठाउन महिनौं धाउनुपर्ने बाध्यता रहेको हुमागाईले सुनाए । नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुरस्कार लामा पनि उनको कुरामा सहमत छन् । उनी पनि प्राविधिकलाई दिइने पारिश्रमिक थोरै भएको बताउँछन् । 

‘लाइट म्यानले जस्तो पसिना युनिटमा सायदै अरुले बगाउँछ,’ लामाले भने, ‘पारिश्रमिक उसकै सबैभन्दा थोरै, त्यो पनि उधारो ।’ कलाकारलाई धेरै पारिश्रमिक दिन सक्ने निर्माताहरु थोरै पारिश्रमिकमा दैनिक काम गरेर खाने प्राविधिकको पारिश्रमिक महिनौंसम्म दिन नसक्नुमा नियत नै खराब देखिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप