शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियाका लागि खतराको घण्टी

सोमबार, २० पुस २०७७, १४ : ३२
सोमबार, २० पुस २०७७

सन् २०२० मा दक्षिण कोरियामा पहिलो पटक जन्मभन्दा बढी मृत्यु भएको छ । यसले यो देशको चिन्ता बढाइदिएको छ । दक्षिण कोरिया पहिलादेखि नै संसारको सबैभन्दा कम जन्मदर भएको देशमध्येको एक हो । 

सन् २०२० मा दक्षिण कोरियामा २ लाख ७५ हजार ८ सय बच्चा पैदा भए । यो सन् २०१९ को तुलनामा १० प्रतिशत कम हो । यस्तै, गत वर्ष दक्षिण कोरियामा करिब ३ लाख ७ हजार ७ सय ६४ को मृत्यु भएको छ । 

हालको आँकडाले एकपटक पुनः दक्षिण कोरियालाई आफ्नो नीतिमाथि सोच्न बाध्य बनाइदिएको छ । देशका गृहमन्त्रालयले आफ्नो नीतिमा यसलाई मद्देनजर गर्दै मूलभूत परिवर्तनको कुरा गरेका छन् । 

घट्दो जनसंख्याले देशमाथि अत्यधिक दबाब पारेको छ । 

एकातिर ज्येष्ठ नागरिकको संख्याका कारण स्वास्थ्य सेवा र पेन्सनका लागि अत्यधिक राजस्व खर्च गर्नुपर्ने दबाब बढिरहेको छ भने नौजवानको कमी हुँदै गएको जनसंख्याका कारण देशमा कामदारको कमी भइरहेको छ । 

यी दुबै कारणले देशको अर्थव्यवस्थामा प्रत्यक्ष असर पारिरहेको छ । 

गत महिना राष्ट्रपति मून जेईले कम जन्मदरको समस्या सुल्झाउनका लागि थुप्रै नीतिको सुरुवात गरेका छन् । यसमा परिवारलाई आर्थिक सहयोग गर्ने पहल पनि सुरु गरिएको छ । 

यो योजना अनुसार सन् २०२२ मा जन्म लिने हरेक बच्चाका लागि आमाबुवालाई २० लाख वन दिइनेछ । यसका साथै एक वर्ष नपुगुञ्जेल तीन लाख वन प्रति महिना दिइनेछ । सन् २०२५ मा यो रकम बढाएर पाँच लाख वन गरिनेछ । 

घट्दो जनसंख्याको कारण के हो ?

दक्षिण कोरियामा धेरैजसो महिला काम र जीवनका अन्य आवश्यकताबीच सन्तुलन बनाउन जुधिरहेका हुन्छन् । 

हून–उ–किम तिनै महिलामध्ये एक हुन् । चार भाइ बहिनीमध्ये उनी जेठी । उनले आफ्ना लागि एउटा ठूलो परिवारको सपना देखेकी थिइन् । तर उनले त्यस्तो स्थितीको सामना गर्नुपर्यो जुन दक्षिण कोरियामा परिवार बसाउनका लागि अनुकुल छैन । अब उनी बच्चा जन्माउने आफ्नो निर्णयमाथि पुनर्विचार गर्न बाध्य छिन् । 

उनले हालै एउटा नयाँ जागिर सुरु गरेकी छिन् । अब उनी मातृत्व अवकाश लिनका लागि चिन्तित छिन् । उनले बीबीसीसँगको कुराकानीमा भनिन्, ‘मानिसहरुले मलाई सुरुमा करियर बनाउने विषयमा ध्यान दिँदा सुरक्षित हुने सल्लाह दिने गर्छन् ।’

रियल स्टेटको बढ्दो मूल्य पनि एउटा महत्वपूर्ण मुद्दा हो । किमका अनुसार सम्पत्तिको बढ्दो मूल्यका कारण पनि नौजवान परिवार बसाउनका लागि हतोत्साहित हुन्छन् । 

उनी भन्छिन्, ‘बच्चाका लागि आफ्नै घर हुन आवश्यक छ तर दक्षिण कोरियामा यो असम्भव भएको छ ।’

उनी सरकारको तर्फबाट दिइएको रकमसँग पनि सहमत छैनन् । उनी भन्छिन्, ‘बालबालिकाको लालनपालन एक खर्चिलो काम हो । सरकारको तर्फबाट केही हजार वनको मद्दतले यो समस्या सुल्झिने छैन ।’ – बीबीसी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप