१२ फोटोमा हेर्नुहोस् हुम्लाको भारी हिमपात, जनजीवन कष्टकर (फोटोफिचर)

काठमाडौं । हुम्लामा भारी मात्रामा परेको हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । हिजो दिउँसो १ बजेपछि पर्न थालेको हिउँका कारण सडक यातायात तथा हवाई सेवा प्रभावित भएको छ । हिमपातका कारण जिल्ला सदरमुकाम सिमकोटसँग हुम्लाको ६ वटा स्थानीय स्थानीय तहको सम्पर्कबिच्छेद भएको र यतिबेला माइनस ७ डिग्री तापक्रम रहेको हुम्लाबाट पत्रकार रेशमराज रोकायाले रातोपाटीलाई जानकारी दिए ।
हिमपातका कारण जिल्लाको घोडेटो बाटो, ७ किलोमिटर सवारीसाधान गुड्ने बाटो बन्द भएको छ भने नेपालगञ्ज र सुर्खेतबाट उड्ने हवाई सेवा बन्द भएको छ । सदरमुकाम सिमकोटमा रहेको विमानस्थलबाट ५ किलोमिटर मात्र भिजिबिलिटी रहेकोले हवाई उडान अवरुद्ध भएको रोकायाले जानकारी दिए ।
जिल्लाका सरकारी कार्यालय, संस्थानहरुमा काम ठप्प भएको छ भने चिसोको कारण बालबालिका तथा बृद्धहरुलाई समस्या भएको छ । यस्तै पशुचरनका लागि पनि समस्या भएको छ । हिमपातका कारण गहुँ, उवा, जौ लगायतका खाद्यबालीका लागि सिंचाई भएकाले किसानहरु भने हर्षित भएका छन् ।
तस्विरहरुः रेशमराज रोकाया