ad
केन्द्रीय संस्करण

ओली अकुपाईको अर्थ

person explore access_timeपुस २०, २०७७ chat_bubble_outline0

  ‘सङ्गीत नसुन्नेहरूले नाचिरहेको व्यक्तिलाई पागलजस्तो उफ्रिरहेको मात्र देख्छन् ।’ नित्सेको यो भनाइ नेपाली राजनीतिमा ओली अकुपाईको वर्तमान अवस्थासँग हेर्दा यसप्रकारका विशेषता देखिन जान्छन् । यसलाई दुई भागमा वर्गीकरण गरेर संश्लेषण गरिहेरौँ ।

समाजको विशेषता र ओलीको कदमः
अधिकांश जनता राजनीतिलाई घृणाका दृष्टिले हेर्छन् । समाजको उपरिसंरचनामा राजनीति छ । यसले हामीमाथि शासन गर्छ भन्ने हेक्का राख्दैनन् । फलस्वरूपः समृद्धि, विकास र आमूल परिवर्तनको चाहना राख्दाराख्दै अनेकानेक विचारलाई मत दिन पुग्छन् । पहिचान, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक, लोकतान्त्रिक गणतन्त्र आधुनिक नेपालको सामन्ती प्रतिरोधात्मक जग हो भन्ने बिर्सन्छन् । अहिले जेजस्तो उपलब्धि छ यसले समाज विकासको गति पैदा गर्छ ।

समाजवादतिर लैजान्छ, भन्ने बुझ्न बुझाउन कठिन छ ।  विकासका बाधक हिजो सामन्तवाद नै थियो भन्ने अधिकांशले बुझिसकेका छैनन् र अझै राजा आऊ देश बचाउको नारा लगाउँछन् । सार्वभौम जनतामा निहित शक्ति नबुझेर मौलिक हकका गोपनीयता भङ्ग गर्छन् । अधिकांशले अमूल्य मतको अवमूल्यन गरेको समेत पत्तो पाउँदैनन् । जसलाई सत्तो सराप्यो उसैलाई मतदान ग¥यो । अनि अर्को चुनावसम्म चर्काे गाली गर्दै बस्यो । अर्काे चुनाव आउँछ फेरि त्यसैलाई मतदान ग¥यो । समाजको विशेषता प्रष्ट बुझेका प्रम ओलीले जनताको मतको अवमूल्यन गरे । संसद् विघटन गरे । लोकतन्त्रको उपहास गरे । यस्तो हर्कतलाई लोकतन्त्रमा सामान्य रूपमा हेरिँदैन । ओलीले किन यसो गरे ? थप अर्थपूर्ण छ ।

पार्टी प्रवृत्ति र ओलीका अन्तर्निहित वास्तविकताः
नेपालका राजनीतिक दलहरुको नाम फरक फरक भए पनि समग्र प्रवृत्ति एउटै छ । सबैको एउटै देखिन्छ । नयाँदेखि पुरानासम्मका प्रवृत्तिमा आंशिकबाहेक दुरुस्त मिल्न जान्छ । आंशिक फरक भनेको विचार, वाद, एजेन्डा र झण्डाहरु हुन् । दलहरुको मिल्ने प्रवृत्ति के हो ? जनतालाई झुटा आश्वसन, पावर, पैसा र पदप्रति तीव्र आकर्षण, हरेक क्षेत्रमा चरम भ्रष्टाचार, कालो धन्दाको सेटिङ लगायत अरू सबै प्रकारका प्रवृत्तिमा सबैजना प्रष्ट छौँ । सूचना, प्रविधि र सञ्चार क्रान्तिले यस्ता कुरा जनतालाई थाहा हुन सम्भव भएको हो । प्रवृत्ति मिलेकै कारण कुनै पनि दललाई अर्को दलसँग सत्ता समीकरण गर्नमा बाधा, अप्ठ्यारो छैन । यसर्थ प्रम ओलीले एक्लै हिँड्ने आँट गरे । तर थप ओलीका अन्तर्निहित अन्य वास्तविकताले पनि यसो हुन पुगेको हो । त्यो जान्नका लागि सत्ताइस वर्ष पहलेको दासढुङ्गा घटनासम्म पुगेर वास्तविकताको संश्लेषित सुरुआत गर्नु पर्छ ।

 जब २०५० साल जेठ ३ गते तत्कालीन एमाले अध्यक्ष जीवराज आश्रित र महासचिव मदन भण्डारीको जिप दुर्घटनामा परेर दासढुङ्गामा निधन भयो भनियो । त्यस दिनदेखि मदन भण्डारीद्वारा प्रतिपादित जबज ओझेल पर्न थाल्यो । तत्कालीन अवस्थामा एमालेभित्र दुईवाद नौलो जनवाद र जनताको बहुदलीय जनवादको तीव्र सङ्घर्ष हुँदैथियो । नौलो जनवादतिर माधव नेपाल, झलनाथ खनाल, घनश्याम भुसालहरु र जबजतिर मदन भण्डारी, खड्गप्रसाद शर्मा ओलीहरु लागेका थिए । मदन भण्डारीको निधनलगत्तै एमालेभित्र नौलो जनवाद हावी हुन गयो । त्यसैले तत्काल महासचिवमा माधव नेपाल नियुक्त भए । यसो हुनु नौलो कुरा थिएन ।

२०५२ साल फागुन १ गते अघिल्लो महिना माघ २६ गते बाबुराम भट्टराईलगायतले संयुक्त जनमोर्चाको तर्फबाट बुझाएको ४० सूत्रीय माग तत्कालीन सरकारका प्रम शेरबहादुर देउवाले डस्टबिनमा फालेपछि ‘जनविद्रोह जनताको अधिकार हो’ नाराको पर्चासहित संयुक्त जनमोर्चा फुटेर प्रचण्डको नेतृत्वमा माओवादी सशस्त्र युद्ध सुरु भयो । विचार र बन्दुक सँगसँगै उठाएको दाबी गरेको माओवादीले मालेमावादको जगमा एक्काइसौँ शताब्दीको नयाँ जनवादलाई आफ्नो विचार बनाएको थियो । राजाको शासनकालको त्यो समय माओवादीको तीन मुख्य माग अन्तरिम सरकारको गठन, गोलमेच सम्मेलन र संविधान सभाको चुनाव थियो ।

 एमालेभित्र लामो समयसम्म नौलो जनवादको वर्चस्व कायम रहँदै गयो । प्रचण्ड माओवादीको नयाँ जनवाद र माधव एमालेको नौलो जनवाद रूप र सार दुवैमा एउटै थियो । त्यसैले अहिले धेरै गोलाई र घुम्तीपछि भेट भएका छन । एक भएका छन् । ०५२ सालमा तत्कालीन संयुक्त जनमोर्चाबाट प्रचण्डसँग छुटेका नारायणकाजी श्रेष्ठ कायर थिए । युद्धदेखि डराउँथे । माओवादी शान्ति प्रक्रियामा आएपछि २०६५ सालमा आफ्नो पार्टी जनमोर्चा माओवादीमा मिसाए । एकीकृत माओवादी भयो ।

एमालेमा ओली कमजोर थिए । आफ्नो श्रीमानको जबजवादलाई ओलीले अडिग लिएर सङ्घर्षको मैदानमा उत्रेको देखेपछि विद्या भण्डारीले जिरो स्पेस राखेर जबजको पक्षमा ओलीलाई साथ दिएर अघि बढिन् । त्यसैले यो पङ्क्तिकारले धेरैलाई भन्ने गरेको छ, कमसेकम कसैको श्रीमती होस् त विद्या भण्डारीजस्तो ! जसले आफ्नो श्रीमानको शिर ठाडो राख्न सदैव लागिरहोस् । फेरि केही स्वर्थ लिन यस्तो आग्रह पूर्वाग्रहको कुरा गरेको आरोप लाग्ला ! अधिकांश नेपाली आदत आवेगमा छिटो पूरा कुरा नसुनी, नबुझी प्रतिक्रिया दिइन्छ । त्यस्तो कुरामा कुनै सत्यता हुनेछैन । सबै आरोप मिथ्य हुनेछन् । म उहाँहरुको वर्तमान असंवैधानिक कदमप्रति घोर भत्र्सना गर्दछु । विपक्षमा छु । एमालेभित्र जबजले जगजगी शक्ति आर्जन गर्दै गयो । ओली शक्तिशाली हुँदै गए ।

 विचार, वाद भनेको राजनीतिमा कति बलियो हुँदो रहेछ भन्ने प्रमाण के हो भने अहिले मदन भण्डारी यस लोकमा छैनन् । तर उनीद्वारा प्रतिपादित विचार, वादको शक्तिका कारण केपी ओली प्रधानमन्त्री छन् । विद्या भण्डारी राष्ट्रपति छन् । अरू अघिपछि लाग्नेलाई एकएकलाई केही न केही लाभ मिलिरहेको छ । जबजको आवरणमा ओलीतन्त्रको अत्याचार जनताले बुझ्न ढिलाइ गरिनु हुन्न । सत्ताको टुप्पोमा चढेर जनताको टाउकामा बसेर ओलीले जनतालाई अनेक नाटक देखाइरहेका छन् । भाग्य र भविष्यमाथि खेलबाड गरिरहेका छन् । के जबजको मर्म र लक्ष्य यति नै थियो त ? विचारको टकराव हो भने पार्टीभित्र बहस, छलफल र अन्तरसङ्घर्ष गर्ने हो । 

जनतालाई सुसूचित गर्ने हो । जनताको अधिकार खोस्ने होइन । प्रम ओलीले संविधानमै उल्लेख नभएको अधिकार प्रयोग गरेर जनताको रगत, पसिना र दुःखले ल्याएको लोकतन्त्रको चीरहरण गरेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.