शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ हजार नाघ्यो

आइतबार, १९ पुस २०७७, २१ : ५७
आइतबार, १९ पुस २०७७

लन्डन । आइतबार दिउँसोसम्म बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७५ हजार नाघेको सरकारी तथ्यांकमा उल्लेख छ । डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयरले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा थप ४५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । एकसाताभित्र मात्रै चार हजार दुई सय भन्दा बढीको कोरोना संक्रमितको मृत्यु भएको छ । 

यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७५ हजार २४ जना पुगेको हो । आइतबार सार्वजनिक हुने मृतक संख्या गतवर्ष अप्रिल पछिकै सबैभन्दा बढी भएको बताइएको छ । सामान्यतया वीकेन्डमा सार्जवनिक गरिने तथ्यांक अन्य दिनहरुको तुलनामा केहि कम हुने गर्दछ ।

यसैगरी कोरोना संक्रमितको संख्या पनि तीव्र रुपमा बढिरहेको छ । पछिल्ला ६ दिनमा संक्रमितको संख्या ५० हजार भन्दा बढी रहँदै आएको छ । गएको २४ घन्टामा थप ५४ हजार ९९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिला दिनका संक्रमित संख्या बेलायतमा महामारी शुरु भएयताकै सबैभन्दा बढी हो । बेलायतमा कोरना संक्रमितको संख्या २६ लाख ५४ हजार ७७९ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा दुई हजार  चार सय भन्दा बढी संक्रमित अस्पताल भर्ना भएका छन् । अहिले बेलायतका अस्पतालमा झन्डै २४ हजारको उपचार भैरहेको छ भने एक हजार आठ सयको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।

बेलायतमा कोरोना संक्रमणको डर तीव्र रुमा बढेसंगै कोरोना विरुद्धको भ्याक्सिनलाई पनि प्रथामिकताकासाथ अघि बढाइएको छ । हालसम्म झन्डै दश लाख मानिसले फाइजर-बायोएनटेकको  खोप लगाइसकेका छन् । जनवरी ४ तारिखबाट बेलायतकै अक्सफोर्ड विश्वविद्यालयले एष्ट्राजेनेका कम्पनीसँग मिलेर बनाएको कोरोनाविरुद्धको खोप वितरण कार्यको तयारी हुदैछ । गत बुधबार ‘मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी’ (एमएचआरए) ले यो खोपलाई अनुमति प्रदान गरेपछि सोमबारबाट प्राथमिकताका आधारमा करिब  पाँच लाख तीस हजार पहिलो डोज खोप वितरण गरिने भएको छ  ।

बेलायतले ५० मिलियन मानिसका लागि सय मिलियन (१० करोड) डोज अक्सफोर्ड खोप सुरक्षित गरिसकेको छ । अक्सफोर्ड-एस्ट्राजेनेकाद्वारा विकसित खोप फाइजर बायोएनटेकद्वारा विकसित खोपको तुलनामा व्यवस्थापन गर्न सहज हुनुका साथै सामान्य फ्रिजको तापक्रममा पनि भण्डारण गर्न सकिनेछ । अर्को खोपको तुलनामा यो करिब ५ गुणा कम खर्चिलो पनि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप