शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आन्दोलन घोषणाको नालीबेली : देउवाको बाध्यता, पौडेलमा उत्साह

आइतबार, १९ पुस २०७७, २० : २६
आइतबार, १९ पुस २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप तीन चरणको आन्दोलनको निर्णय लिएको छ । आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस २५ मा ३३० प्रदेश निर्वाचन क्षेत्र, माघ ३ मा ७ सय ५३ नगर– गाउँपालिका र माघ ८ मा ६ हजार ७ सय ४३ वडास्तरमा विरोध प्रदर्शनको निर्णय लिएको हो ।

७ पुसबाट जारी काँग्रेस केन्द्रीय समिति बैठकले १० पुसमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र विशेष विरोधसभाको घोषणा गरेको थियो । सोही अनुसार १३ पुसमा काँग्रेसले १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटन विरुद्ध विरोधसभा गरेको थियो ।

विरोध प्रदर्शन र मेलमिला दिवसका लागि ८ दिनको स्थगितपछि आज बसेको बैठकले प्रदेश निर्वाचन क्षेत्र, पालिका र वडा तहमा विरोधसभा गर्ने नीति लिएको छ । जिल्लाले स्थानीय अवस्था र आवश्यकता हेरी विरोधका कार्यक्रमहरु आयोजना गर्न सक्नेछन् । यस्तै पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुले पार्टी केन्द्र र जिल्लासँग समन्वय गरी पार्टीले तोकेको कार्यक्रम बाहेक अन्य विरोधका कार्यक्रम गर्न बैठकले निर्देशन दिएको छ ।

यसकारण काँग्रेस आन्दोलनमा जान भयो तयार

काँग्रेसले आन्दोलनको घोषण गरेसँगै ५ पुसमा सरकारले लिएको प्रतिनिधिसभा विघटनको निर्णयप्रति आपत्ति जनाउने सबै राजनीतिक दलहरु अब दोस्रो आन्दोलनमा प्रवेश गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल (प्रचण्ड)–माधव नेपाल समूह, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरुले चरणबद्ध आन्दोलनको घोषणा गरिसकेको अवस्था छ ।

नेकपाकै प्रचण्ड–नेपाल समूह संघर्षबाटै प्रतिनिधिसभा पुनःस्थापना गर्ने एजेन्डा बोकेर सडकमा निस्केको छ । उसले पुस २० देखि माघ २३ गतेसम्म प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउने, गाउँ गाउँमा कालो झन्डा गाड्ने, सरोकारवाला पक्षसँग अन्तक्रिया, प्रदर्शन लगायतका कार्यक्रमको घोषणा गरेको छ । 

यस्तै जसपाले पुस २५ गतेदेखि माघ ७ सम्म दोस्रो चरणको कार्यक्रम घोषणा गरेको छ । जसपाको सडक संघर्ष प्रतिनिधिसभा पुनःस्थापनामै केन्द्रित छ । अदालतले प्रधानमन्त्री ओलीको कदमलाई सदर गरे निर्वाचनकै मैदानमा उत्रने तयारी जसपाको छ । यता प्रतिनिधिसभा विघटनविरुद्ध २३ दल तथा संगठनले पनि सडक संघर्षको मौदान समातेको देखिन्छ । नेकपा केपी ओली समूह बाहेकका दल संसद विघटनविरुद्ध मैदानमा उत्रिएपछि सडकको हकदार (प्रमुख प्रतिपक्षी) काँग्रेसमाथि सडक संघर्षका जानुपर्ने नैतिक र आन्तरिक दबाब थियो । संसद पुनस्र्थापना वा निर्वाचनमा जानु परेपनि प्रतिक्षीको मैदान (सडक) साथमै राखेर जानुपर्नेमा काँग्रेस नेताहरुले नेतृत्वलाई सुझावमुलक दबाब दिइरहेका थिए ।

यता सभापति शरेबहादुर देउवा भने १३ गतेको प्रदर्शनपछि थप आन्दोलनबारे सर्वोच्च अदालतको निर्णय कुर्नुपर्ने पक्षमा देखिन्थे । देउवा पक्षीय अधिकांश नेता पनि अदालतको फैसलापछि काँग्रेसले नीति निर्धारण गर्नुपर्ने पक्षमा उभिएका थिए । त्यसको विपरीत वरिष्ठ नेता रामचन्द्र पौडेलको थप आन्दोलनका लागि देउवालाई दबाब दिने रणनीति थियो । त्यसका लागि पौडेलले शनिबार अन्तर पार्टी समायोजन समितिमासँग आफ्नो निवास बोहोराटारमा छलफल गरेका थिए ।

उपसभापति विमलेन्द्र निधि, महेश आचार्य, दिपक गिरीलगयातसँग समायोजनसँग आन्दोलनका विषयमा पौडेल छलफल गरेका थिए । पौडेलको प्रस्तावमा निधिले पनि सहमति जनाएर बोहोराटारबाट फर्किएका थिए । यता कोरोना संक्रमणबाट मुक्त भएपछि शनिबार दिउँसो नेता कृष्णप्रसाद सिटौला देउवा निवास बुढानीलकण्ड हानिए ।

संसद विघटनपछि पार्टीका देखिएको भनिएको अलमलका विषयमा देउवा र सिटौलाबीच करिब एक घण्टा छलफल भएको थियो । भेटमा अदालतले संसद विघटनको निर्णय सदर गरिदिए पनि बैशाखमा निर्वाचन हुने दलिलसहित काँग्रेसले आन्दोलनको मैदान छोड्न नहुने कुरा सुझाएका थिए । 

‘चुनाव हुँदैन । संसद पुस्र्थापना पनि हुँदैन । त्यसमा तपाईँ (देउवा) नफस्नुहोस् । चुनाव भएन भने त्यसपछि तपाईंले आन्दोलन गरे पनि त्यो उठ्दैन । अहिलेदेखि नै आन्दोलनको वातावरण बनाउनु भयो भने चुनाव भएन भनेपनि आधिबेरी ल्याउन सक्नुहुन्छ,’ देउवासामू सिटौलाको भनाइ थियो । ओलीसँग साँठगाँठको रहेको सन्देश जानु राम्रो नहुने भन्दै नेता बन्ने अवसरको सदुपयोग गर्न देउवालाई सिटौलाको सुझाव थियो ।

सुरुमा अब आन्दोलनको औचित्यमाथि प्रश्न उठाएका देउवा त्यसपछि केही कन्भेन्स भएका थिए । र, पौडेलको जोडबल र सिटौलाको सुझावपछि आन्दोलन घोषणा देउवाका लागि बाध्यता बनेको थियो । सिटौलासँग देउवाले ‘मैले आन्दोलन गर्नु हुँदैन कहाँ भनेको छु । गरौँ न त गरौँ । भोलिको बैठकअघि बसेर सल्लाह गरौँ न त गरौँ’ भनेका थिए ।

पौडेल र सिटौलाले सहर केन्द्रित आमसभा गर्नुपर्नेमा जोड थियो । त्यसमा पनि पौडेलको जोड दिनै पिच्छे आन्दोलन जारी राख्नपर्ने थियो । तर देउवा पक्षीय नेताहरु उसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, रमेश लेखकलगायतले प्रदेश निर्वाच क्षेत्र, पालिका र वडास्तिरमा विरोधसभा लिएर जानुपर्ने विकल्प अगाडि सारेका थिए । भोलि निर्वाचनमै जानुपरे पनि आन्दोलनलाई निर्वाचनको अभियानसँग जोड्न यो मोडालिटीको उपयुक्त हुने उनीहरुको तर्क थियो ।

त्यही अनुसार बैठक दिउँसो एक बजेका लागि निर्धारित भए पनि आन्दोलनका मोडालिटी र मितिका विषयमा सहमति जुटाउन काँग्रेस शीर्ष तहका नेतालाई तीन घण्टा लाग्यो । सभापति देउवाका कार्यकक्षमा सहमति जुटाएर नेताहरु ३ : ३० मा आन्दोलनको खाकासहित बैठक हलमा छिरेका थिए । अनि बैठकमा महामन्त्री पूर्णबहादुर खड्काद्वारा आन्दोलनको प्रस्ताव प्रस्तुत भयो । त्यसपछि सभापति देउवा, वरिष्ठ नेता पौडेल, नेता सिटौला र केन्द्रीय सदस्य जीवन शाहीले आ आफ्नो धारण राखका थिए । 

पूर्वराजा ज्ञानेन्द्रले संसद विघटन गर्दा तत्कालीन सभापति  गिरीजाप्रसाद कोइरालाले एकसूत्रीय माग राखेर संसद पुनर्स्थापना गराउन बाध्य पारेको स्मरण गराएका थिए । तत्कालीन समयमा गिरीजाप्रसाद कोइरालाले देखाएको शाहस र पहलकदमी सभापति देउवाले देखाउनुपर्ने उनको भनाइ थियो ।

पौडेलले आन्दोलनको कार्यक्रम आउनु सकारात्मक भएको भन्दै थप कडा आन्दोलनमा जान पनि ढिलो गर्नु नहुनेमा जोड दिएका थिए । पौडेलले बैठकमा भने,‘आन्दोलन गर्नुपर्छ भन्ने मेरो सुरु देखिकै जोड हो । आन्दोलन आयो । अब यो भन्दा कडा आन्दोलन हुनपर्छ । राजधानी र सहर केन्द्रित आन्दोलन घोषणा गर्नुपर्छ । संसद पुनस्र्थापना नै हुनुपर्छ भनेर जानुपर्छ । मोही माग्ने ढुंग्रो लुकाउने ?’

एक्लै आन्दोलनमा जाने निर्णयमाथि विमित राख्दै काँग्रेसको नेतृत्वमा कोही जोडिन खोज्छ भने रोक्न नहुने पौडेलको भनाइ थियो । ‘हाम्रो नेतृत्वमा कोही पछाडि आउन तयार छ भने त्यसलाई नआइजा भन्ने ? त्यसलाई पनि लिएर जानुपर्छ । राष्ट्रपति र प्रधानमन्त्रीले म संविधानभन्दा माथि छु भनेर भन्ने घमण्ड गर्ने ? यो घमण्डको तेजबोध गर्नुपर्छ,’ उनले भने । 

पौडेलको जवाफमा देउवाले आफू पनि आन्दोलन कै पक्षमा रहेका बताएका थिए । बैठकमा देउवाले भने, ‘संसद विघटन गर्ने कुरालाई असंवैधानिक भनेकै छ । अलोकतान्त्रिक भने कै छ । आन्दोलन पनि गर्ने हो । अहिले पनि आन्दोलनको घोषणा भएको छ । पहिले पनि आन्दोलनको गरिसकिएको छ । अब व्यापक रुपमा आन्दोलन गर्ने भनेकै छु । म पनि आन्दोलनकै पक्षम छु । कसले भन्यो आन्दोलन गर्दैन भनेर ?,’ 

पौडेलबाट आफूलाई आन्दोलनको विपक्षीमा रहेको भनेर देखाउने काम भएको देउवाको गुनासो थियो । आन्दोलन तय भएसँग काँग्रेस बैठक फेरि २७ पुससम्मका लागि स्थगित भएको छ ।

आन्दोलन घोषणापछि पौडेलमा उत्साह, एनपी साउँदलाई जे पायो त्यही नबोल्न आग्रह

बैठक हलबाट बाहिरिएपछि पौडेल उत्साहित देखिन्थे । आफूले सुरु देखिनै उठाउँदै आएको मुद्दामा पार्टी उभिएपछि पौडेलको मुहारमा खुसी झल्किएको प्रस्ट देखिन्थ्यो । पार्टी कार्यालयबाट निस्किँदै गर्दा आन्दोलन घोषणाका सन्दर्भमा पौडेलले भने, ‘प्रदीप (केन्द्रीय सदस्य प्रदीप पौडेल) ठीक भएन त आज ।’ केही अगाडि बढ्दै फेरि थपे, ‘प्रधानन्याधीशमाथि महाअभियोग लगाउन हुने ? अदालतमा विचाराधीन मुद्दामा बोल्न नहुने ? बोल्न हुँदैन भन्ने ? नबोलेर हुन्छ ? ठीक भएन त आज ।’

काँग्रेस सम्मेलित प्रचण्ड नेतृत्वका सरकारका पालामा तत्कालीन प्रधानन्यायधीश सुशीला कार्कीमाथि प्रहरीको आइजीपी नियुक्तमा बाधा भएपछि सभापति देउवाको इसारामा संसदमा महाअभियोगको प्रस्ताव दर्ता गरिएको थियो । उनी यतिमै रोकिएनन् । देउवाका विश्वास पात्र तथा संसद पुनस्र्थापनाको विपक्षीमा उभिएका केन्द्रीय सदस्य एनपी साउँदलाई पौडलले भने,‘यसमा अब लटरपटर नबोल्नु । युवा नेताको इज्जत नै फाल्ने ? नयाँ पुस्ता भन्यो नयाँ पुस्ता जे पायो बोल्छ क्या ।’ 

साउदले पार्टी आन्दोलनमा नगइ चुनावको तयारीमा जुट्नुपर्नेमा जोड दिँदै आएका थिए । बहुमत केन्द्रीय सदस्य र आम कार्यकर्तापंक्ति नै चुनावमा जानुपर्ने पक्षमा उभिएका साउदको दाबी थियो । ‘मध्यावधि निर्वाचन घोषणा भइसकेपछि बैध र अबैधानिक बहस हुँदै गर्छ । अदालतले यसको निरुपण गर्ला । अदालतले जे गर्छ, त्यसलाई मान्नैपर्छ । सरकारले संसद्को निर्वाचनको घोषणा गरिसकेपछि प्रतिपक्षी पार्टीको हैसियतले काँग्रेस निर्वाचनबाट पछाडि भाग्नु हुँदैन,’ साउदले बैठकको पहिलो दिनमै भनेका थिए । त्यसैले पनि पौडेलले साउदतिर औला तेर्साँदै अब जे पायो त्यही नबोल्न भनेको देखिन्छ ।

काँग्रेस बैठकमा चिनियाँ टोलीको चर्चा

काँग्रेस बैठकमा केही दिनअघि आकस्मिक नेपाल भ्रमणका आएको चिनियाँ टोलीको समेत चर्चा भएको छ । यस्तै सिटौलाले नेपाल भ्रमणमा आएको चिनियाँ टोलीसँग संवादबारे बैठकमा जानकारी गराउन देउवालाई भनेका थिए । 

‘चिनियाँ टोलीसँग तपाईहरुको के कुराकानी भयो ? तपाई र बाबुरामजीलाई चिनियाँ टोलीले भेटेको छ । उनीहरुको सरोकार नेकपासँग भेटघाट मात्र हो । नेकपा विषयमा आएको होइन भनेर सन्देश दिन तपाईँ र बाबुरामजीलाई भेटेको हो । भेटमा के कुरा भयो । बैठकलाई जानकारी गराउनु पर्यो,’ सिटौलाले भनेका थिए ।

देउवाले सामान्य भेटघाट मात्र भएको र खासै केही कुरा भएको जवाफ दिएका थिए । यस्तै केन्द्रीय सदस्य शाहीले बैठकमा चीनले सीमा मिचेको विषयमा कुरा उठाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप