आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको व्यङ्ग्य : सुगामैनाको कथादेखि जिउँदा सहकर्मीलाई श्रद्धाञ्जली दिने रहरसम्म

आइतबार, १९ पुस २०७७, १९ : ३६
आइतबार, १९ पुस २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार काठमाडौंको भएको पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा विगतमा झै हास्य–ब्यङ्ग्यसहितको मन्तब्य राखेका छन् । कार्यक्रम थियो आफू निकटको विद्यार्थी संगठन अनेरास्ववियूको कार्यकर्ता प्रशिक्षण । १२ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भनेर राखिएको कार्यक्रममा ४ बजेमात्र उनी पुगेका थिए । झन्डै एक घण्टा भाषण गरेका उनले अधिकांश समय आफ्नै पूर्वसहकर्मीहरु प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ सहितका नेताहरुको उछित्तो काट्नमै खर्च गरे । 

प्रधानमन्त्री ओलीले आफ्ना पूर्व सहकर्मीलाई यतिसम्म भने कि यदि तपाईहरु शहिद भएको भए श्रद्धाञ्जली दिनुहुन्थ्यो । उछित्तो काटिसकेपछि तपाईहरुलाई सम्झन पनि मन छैन् भने ।  प्रधानमन्त्री ओलीले आइतबार गरेको भाषणका यस्ता छन् हाँस्यब्यङ्ग्य टुक्रा:

१) अहिलेसम्म सर्वोच्च अदातलमा धेरैवटा मुद्धाको फिरादपत्र बुझाएर आएको छु । जवाफ त दिनै पर्यो । चुनाव रोकिपाउँ, मरेको संसद जगाईपाउँ । पर्शुरामका बाबु जमजग्नीको पालामा जस्तो मरेकी आमा बौराइपाउँ भन्दा हुन्थ्यो रे । संविधानले कानूनले मिल्दैन । त्यसकारण विघटित संसद बौरिँदैन । संसद विघटन भयो भयो, नयाँ चुनाव हुन्छ हुन्छ । 

२) पार्टी त छ कि छैन जस्तो भो । पार्टीका नेताहरु सरकारले गरेको राम्रा काम छोपछाप गर्नमै व्यस्थ रहे । पार्टीले गर्दै नगरेका भूल त्रुटीहरु भनेर भोपुँ बजाउनमै उनीहरुको समय खर्च भयो । उनीहरुले सरकारको आलोचना कसरी  गर्ने, निन्दा कसरी गर्ने त्यही खोइरो खन्ने भन्ने बिगुल बजाउनमै केन्द्रीत भयो । पार्टी नेतृत्वलाई कसरी खुइल्याउने, कसरी कमजोर पार्ने ? त्यसै कुरामा उनीहरुको समय बर्वाद भयो । 

३) आज बिहान मात्रै मैले रेकर्ड पल्टाएर हेरेँ । गएको बैशाख १३ गतेदेखि पुस ४ गतेसम्म खुमलटारमा मात्रै पार्टी फुटाउने बैठक २ सय ८० पटक बसेका रैछन् । ३५ वटा बैठक खुमलटारभन्दा बाहिर बसेका रैछन् । कहिले कोटेश्वर, कहिले प्रेसिडेन्सियल कलेज, कहिले अगेनाको डिल, कहिले अर्याल होटेल, कहिले कसको घर त कहिले कसको घर । यस्तो भेला भेट्टाए भने उहाँहरुले पहिला सहि गराइहाल्ने पछि केपी ओलीलाई हटायौं भनेर बेहोरा थपिहाल्ने  गर्नुहुन्छ । ३ सय १५ बैठकमध्ये २८० बैठक खुमलटारमा । 

४) केही नेताको खुबै मिलेका साथी जस्तो । यता गएपनि सँगै, कोटेश्वर गएपनि सँगै, खुमलटार आएपनि सँगसँगै, अगेनाको डिलमा आगो ताप्दा सँगसँगै, कुनै कलेजमा पढ्न जाँदा सँगसँगै क्या मिलेका जोडी के का लागि ? 

५) एउटा नेताले चर्को भाषण गरेछ । केपी ओलीले महिलाको किड्नी लाएर दिमागै बिग्रियो भनेछ । महिलाको किड्नी लगाएर दिमाग बिग्रियो भने महिलाको कोखबाट जन्मिएको त्यो मान्छे पहिलै नै झन् के होला ? म त्यतापट्टि जान चाहन्न । महिलामाथिको कत्रो अपमान हो, महिलाको त किड्नी लगाएमात्रै पनि मान्छे पागल हुन्छ रे । त्यो दिन बेलुका तिनलाई श्रीमतीले कसरी खाना दिइन् होला अचम्म लाग्छ । वरिपरि झ्याल खोलेर हेर्ने महिला दिदीबहिनीलाई अनुहार कसरी देखाएहोला अचम्म लाग्छ मलाई । 

६) त्यो त्यही जमात हो, जसले इज्जतको कुरा जान्दैन । नेताहरुले उचालेर एकजना महिला राष्ट्रपति देशले पहिलोपटक पाएको छ, अत्यन्तै गरिमामय ढंगले व्यवहार गर्ने, अत्यन्तै जिम्मेवार ढंगले ब्यवहार गर्ने, अत्यन्तै शालीन र भद्र महिला जसमा असाधारण देशभक्तिको भावना छ, लोकतन्त्रको लडाइबाट खारिएर आउनुभएको छ, त्यस्तो राष्ट्रपति पाएको छ, उहाँको इज्जतमाथि हमला गर्न, मान प्रतिष्ठामा धारा बोल्न सडकमा नारा लगाउँदै नेताहरु मुस्कुराउँदै हिँडेको हामीले देखेका छौँ । शरम हुनुपर्ने हो । कसमेकम सामाजिक मर्याता त राखिदिनुपर्छ नेताहरुले । आफ्नो जुलुसमा कस्तो नारा लागेको छ त्यसमा त ध्यान दिनुपर्छ । त्यो उनीहरुको संस्कार हो, म त्यतातिर जान चाहन्न । 

७) निर्वाचन आयोगमा पुगेछन् केही मान्छेहरु । असली पार्टी हामी हौं भनेछन् । असली पार्टी उनीहरु हो रे । केही मानिसहरु केन्द्रीय कमिटीको बैठकमा आएनन् अनुपस्थित भए । किन अनुपस्थित भए, त्यो थाहा छैन । पार्टी केन्द्रीय कमिटीका सम्पूर्ण सदस्यहरुमध्ये दश बाह्र पन्ध्र प्रतिशत हुन आउँछ  । हामीले केही कारणले साथीहरु अनुपस्थित भए होला भन्ने ठान्यौँ । उनीहरु त निर्वाचन आयोग गएछन् र भनेछन् हामी त बहुमतमा छौँ । कहाँ गने यिनीहरुले मान्छे ? कहाँ गने थाहा छैन् । 

८) झुट बोल्नेलाई केही लाग्दैन । पुस ५ गते साढे ३ बजे अविश्वासको प्रस्ताव दर्ता गर्न गएको रे । संसद विघटन भइसकेपछि अविश्वासको प्रस्ताव दर्ता गर्न साढे ३ बजे पुगेको रे । संसद सचिवालयले भनेछ, संसद विघटन भइसक्यो के को अविश्वासको प्रस्ताव । तैपनि मानेनन् । संसद सचिवालयले भन्यो–‘ढिलो भयो । पहिले नै गरेको भए हुन्थ्यो ।’ सभामुखले लेखे बिहान १०ः ४० बजे मकाँहा आएको थियो । कानूनले सभामुखकोमा जाने नै हैन । सभामुख जस्तो मान्छे साढे ३ बजे लगेको निवेदन साढे १० बजे नै ल्याएको भनेर किर्ते साक्षी बस्छ । सभामुखजस्तो मान्छे किर्ते साक्षी बस्नु कहाँसम्मको लज्जाजनक कुरा हो ? कहाँसम्म संसदीय मर्यादाको तामासा हो । कहाँसम्म देशको हुर्मत लिने काम हो । 

९) सूर्य चिन्ह नपाउने हो कि भन्ने हाम्रा कतिपय साथीमा चिन्ता छ । हाम्रो सूर्य चिन्ह हामीले नपाए अरु कसले पाउने हो त ? पार्टीको मिटिङ छोडेर कोही यही पार्टी प्यालेसमा आएर हामी बहुमतमा छौँ भने । म भन्छु फेरि आउनुस पार्टीको मिटिङमा । 

१०) तपाईहरुले गरेका अपराधहरु क्षमा गरिदिउला, कार्यकारी मैले दिएको थिएँ । कार्यकारी दिँदा अत्यन्तै उपद्रो मच्चाउनुभयो । त्यही भएर कार्यकारी हटाइदिएको छु, अध्यक्षको पद अहिले पनि कायमै राखिएको छ । आउनुहोस् वरिष्ठ नेताहरुको पद कायमै राखिएको छ । प्रवक्ता भनेर तोक्दिएको थियो प्रवक्ताले साह्रै बढी क्याचक्याच गर्ने ठ्याँस ठ्यास गर्ने दुगन्ध फैलाउने काम गरिराख्नुभयो । त्यसकारण प्रवक्ताबाट हटाइएको छ । 

११) म पहिलोपटक प्रधानमन्त्री भएको बेला मलाई हटाउन अविश्वासको प्रस्ताव सुनाएपछि मैले अंग्रेजीमा भनेको थिए, दिस इज नट द इन्ड अफ टाइम । दिस इस कन्टिनियस प्रोसेस एड वी आर हियर डोन्ट फर्गेट  । समय अन्त्य भएको छैन चालू छ, हामी यहीँ छौँ भन्ने कुरा नबिर्स मैले त्यो भन्या थिएँ । त्यसको नक्कल गरेर अस्ति त्यसको पीडा पोखेर हामी यहाँ छौँ भनेर लेखेछन् । मैले त्यही बस्दै गर्नुस् भन्याथेँ फेरि हिँड्नुभएछ । मलाई पनि केन्द्रीय समितिका साथीहरु कहाँ जानुभएछ भन्ने परेको थियो, हामी यहाँ छौँ भनेर बस्नुभएछ । ढुक्क भयो ए त्यहाँ मण्डलामा रहेछन् है साथीहरु । हराएछन् कि साथीहरु भन्ने पीर थियो त्यहाँ रहेछन् है साथीहरु । बस्दै गर्नुस् । 

१२) एकजनाले सुगा पालेछ । अनि सुगालाई रमाउ रमाउ खुसी होउ भन्न सिकाएछ । ‘कति गोपीकृष्ण कहो’ भनेर त्यही सिकाएछ । एकजना मर्यो, सुगालाई के मतलब उसले रमाउ रमाउ खुसी होउ भन्यो । कुन प्रसंगमा मैले हामी यहाँ छौँ भनेको थिएँ, त्यसको नक्कल माइतीघर मण्डलामा गरे । दुनियाँलाई थाहा भो आजकल उहाँहरु मण्डलामा हुनुहुन्छ । मरेकालाई उपियाँले छोडेजस्तो तपाईहरुलाई कार्यकर्ताले छोड्नेछन् । हामी यहाँ छौँ हैन  म यहाँ छु भनेर तपाईहरुले लेख्नुपर्ने थियो । किन त्यहाँ बस्नुहुन्छ पार्टीमा आउनुस, फेरि हामी यहीँ आइपुग्यौं भनेर लेख्नुहोस् । 

१३) जीवन शर्माले एउटा यस्तो गीत गाउनुभएको छ, पिलो निचोरिँदैमा ओजन घटेको हुन्न् । दुई चार वटा पिलो खिल निचोरियो भने पनि त्यसले शरीरको तौल घटेको हुन्न् । अझ पीडारहित मजबुद भएर आन्दोलन अघि बढ्छ । 

१४) म भन्न चाहन्छु, तपाईहरु नहुँदा तपाईहरु शहिद भएको भए, शहिद भएर गएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो । तपाईहरु शहिद त हैन् । अब तपाईहरुलाई कार्यक्रममा स्मरण गरिरहन आवश्यकता पनि छैन् । खाली तपाईहरुले धुलो उढाएको ठाउँमा हामीले पानी छर्कनुपर्छ । तपाईहरुले दुर्गन्ध फैलाउनुहुन्छ अलिकति हामीले त्यहाँ अत्तर छर्किनुपर्छ ।

यो महान उद्धेश्यको लडाई हो, यसलाई अनेक जालझेल तिकडमले ओझेल पार्न सक्दैन । तपाईहरु हरियो घाँसभित्र छुपेर बसेको हरियोँ साँपजस्तै कम्युनिष्ट पार्टीको दुई तिहाई कामै लागेन भन्ने । हामीसँग दुई तिहाई अलिकति थिएन तर उहाँहरुले दुई तिहाइको सरकार कामै लागेन भनेर कराएको कराई गर्नुभयो । अब तिकडम गर्ने जालझेल गर्नेहरुको हैन जनताको सेवा गर्ने संसद बन्नेछ । 

१५) हाइवेमा बस गुड्दा कतैबाट आएको सुकेको पात बस सँगसँगै कुद्छ । तर एकछिन्पछि त्यो त्यही छोड्न्छि बसमात्रै अगाडि जान्छ । तपाईहरुले बुझ्नुभए हुन्छ, सुकेका पात एकछिन हल्लिने हुन्, त्यसपछि तिनीहरु थान्को लाग्छन् बस अगाडि बढ्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप